हङकङमा जारी प्रदर्शनको चीनले गर्यो निन्दा, चिनियाँ प्रतिक्रियाले आठ सातादेखिको प्रदर्शनमा कस्तो असर पार्ला ?

हङकङ– हङकङमा आठ सातादेखि चलिरहेको प्रदर्शनको चीनले निन्दा गरेको छ । यो प्रदर्शनलाई उसले ‘कानुनी शासनमाथिको गम्भीर विनाश’ भनेको छ । 
‘हामी आशा गर्छौं, जनता कानुनी शासनको प्रतिरक्षामा दरिलोसँग उभिनेछन्,’ हङकङ र मकाउ हेर्ने चिनियाँ कार्यालयका प्रवक्ताको भनाइ उद्धृत गर्दैै बिबिसीले लेखेको छ । 

हङकङ चीनको अधिनमा रहेको स्वशासित क्षेत्र हो । १५५ वर्ष बेलायती उपनिवेशमा रहेको यो क्षेत्र सन् १९९७ मा बेलायतले चीनलाई सुम्पिएको थियो । ११०४ वर्गकिलोमिटर क्षेत्रफलको यो सानो, सुन्दर सहरमा ७४ लाख जनता बस्छन् । हङकङ विश्वकै धैरे जनघनत्व हुने सहरमध्येमा पर्छ । 

हङकङमा प्रजातान्त्रिक प्रशासन छ । यहाँका जनताले मूलभूमि चीनका जनताले भन्दा निकै बढी स्वतन्त्रताको अभ्यास गर्छन् । तर, उनीहरुले चाहेजस्तो पूर्ण स्वतन्त्रताको अनुभूति भने गर्न पाएका छैनन् । यहाँका जनता बेलाबखत भइरहने चिनियाँ हस्तक्षेपबाट मुक्त हुन चाहन्छन् । 

आठ साताअघि यहाँको प्रशासनले हङकङमा पक्राउ परेका अभियुक्तलाई अनुसन्धानका लागि चीन पठाउन सकिने व्यवस्थासहितको सुपुर्दगी विधेयक ल्याएपछि हङकङवासी नराम्ररी झस्किए । चीनले आफूविरुद्ध आवाज उठाउनेलाई तह लगाउन यो विधेयकको उनुचित प्रयोग गर्न सक्ने भन्दै उनीहरु आन्दोलनमा उत्रिए । हप्तौँ चलेको अनियन्त्रित प्रदर्शनपछि हङकङ प्रशासनले सुपुर्दगी विधेयक निलम्बन गर्यो । तर, विधेयक पूर्ण रुपमा खारेज गर्नुपर्ने भन्दै हङकङवासीले अझै केही दिन प्रदर्शन चर्काए । 

बीचमा केही समय प्रदर्शन मत्थर भयो । तर, बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको वर्षगाँठका अवसरमा कार्यक्रम गर्न उत्रिएका प्रदर्शनकारीले हङकङको संसद् भवनभित्र पसेर तोडफोड गरेपछि स्थिति फेरि तनावपूर्ण बन्यो । उनीहरु समारोहका लागि भेला भएका भए पनि भिडबाट विवादित सुपुर्दगी विधेयकको विरोध सुरु भएपछि प्रदर्शन नियन्त्रणबाहिर गएको थियो । 

त्यसयता, हङकङमा विभिन्न मुद्दामा प्रदर्शन चलिरहेकै छ । गत साता प्रदर्शनकारीमाथि एक हतियारधारी समूहले आक्रमण गर्यो । त्यही आक्रमणको विरोधमा शनिबारदेखि दशौँ हजारले प्रदर्शन गरिरहेका छन् । पछिल्लो प्रदर्शन प्रहरीले लगाएको प्रतिबन्धका बीच चलिरहेको छ । यसअघि, हङकङ प्रशासनले निःशस्त्र प्रदर्शनको अनुमति दिने गर्थ्यो । गत साताको आक्रमणपछि सुरक्षासम्बन्धी कारण देखाउँदै प्रशासनले सडक प्रदर्शनमा प्रतिबन्ध लगाएको छ ।



हङकङमा प्रदर्शनमा रोक लगाइएको यो दुर्लभ घटना हो । यद्यपि, आइतबार एउटा गार्डेनभित्र भेला भएर प्रदर्शन गर्न भने अनुमति दिइएको छ । तर, प्रदर्शनकारी गार्डेनबाहिर निस्केर मुख्य सडक तथा व्यापारिक केन्द्र बन्द गर्दै हङकङस्थित चिनियाँ कार्यालयतर्फ बढेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको थियो ।  

२२ वर्षअघि बेलायतले चीनलाई सुम्पिएयता हङकङ सबैभन्दा ठूलो राजनीतिक संकटको स्थितिबाट गुज्रिरहेको छ । विधेयकको विरोधबाट सुरु भएको प्रदर्शन पछिल्लो समय प्रहरी प्रशासनको विरुद्धमा केन्द्रित छ । प्रतिबन्ध तोड्दै भएको प्रदर्शन दबाउन प्रहरी लागिपरेको छ भने प्रहरीसँग रुष्ट प्रदर्शनकारी भिडन्तमा उत्रिन थालेका छन् । 



गत साता भएको आक्रमणमा स‌ंलग्न हतियारधारीसँग प्रहरीको भित्र–भित्रै मिलेमतो रहेको प्रदर्शनकारीको आरोप छ । प्रहरी र प्रशासनमा भ्रष्टाचार मौलाएको र हङकङमा न्याय मरेको भन्दै उनीहरु नाराबाजी गरिरहेका छन् । प्रहरीले भने आरोप अस्वीकार गर्दै आएको छ ।

यस्तोमा चीनको पछिल्लो प्रतिक्रियाले प्रदर्शनकारीलाई थप आक्रोशमा ल्याउन सक्छ । यसै पनि यहाँका प्रदर्शनकारी हङकङमा चिनियाँ हस्तक्षेप चाहँदैनन् । चीनको प्रतिक्रियापछि प्रशासनलाई प्रदर्शन दबाउन थप दबाब पर्नेछ, जसका कारण प्रदर्शनमा थप झडप र हिंसाको स्थिति आउन सक्छ । 


  • प्रकाशित मिति : साउन १३, २०७६ साेमबार १७:५२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया