काठमाडौं– नेपालमा अझै महिला रक्तदाताको संख्या न्यून रहेको छ। ‘रक्तदान गर्दा कमजोर भइन्छ’ भन्ने मानसिकताले पुरुषको तुलनामा महिला रक्तदाताको संख्यामा सुधार हुन नसकेको हो ।
रक्तसञ्चार सेवा केन्द्रले आव २०७५–७६ मा ५५ हजार ९ सय ५३ युनिट रगत संकलन गरेकोमा ४६ हजार ४ सय ५ युनिट पुरुषको र नौ हजार ५ सय ४८ युनिट महिलाको थियो । संकलित कुल रगतमध्ये महिलाको रगत १७ दशमलव ०७ प्रतिशत हो।
केन्द्रका प्रमुख डा. मनिता राजकर्णिकार रक्तदानबारे महिलाको बुझाइमा सुधार हुँदै गएको बताउँछिन् । ‘सचेतनाका कार्यक्रम थप विस्तार गर्नुपर्छ,’ उनको सुझाब छ । देशभर संकलन गरेको रगत र रक्ततत्वमध्ये महिला रक्तदाताको संख्या १६ प्रतिशत पुगेको छ। नेपालभर दुई लाख ७१ हजार ९ सय २२ युनिट रगत संकलन गरी तीन लाख ४५ हजार १ सय ५१ रक्ततत्व वितरण भएको थियो ।
नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्र हाल ७३ जिल्लाका १ सय ८ स्थानमा छन् । संकलित रगतमा एचआइभी, हेपाटाइटिस बी, सी र सिफलिस जीवाणु भेटिने क्रम घट्दो रहेको केन्द्रले जनाएको छ ।
गत वर्ष संकलित रगतमध्ये १ सय १३मा एचआइभी, ७ सयमा हेपाटाइटिस बी, ४ सय २४मा सी र १ हजार २ सय २०मा सिफलिसका जीवाणु भेटिएको थियो । ‘रक्तसञ्चार सेवा केन्द्रबाट संकलन गरिएका सबै रगतमा ती जीवाणु भेटिने क्रम कम हुँदै गएको छ,’ प्रमुख डा. राजकर्णिकारले बताइन् ।
विसं २०२३ साउन १२ गतेदेखि केन्द्र सञ्चालनमा आएको हो । पहिलो वर्ष १ सय ५७ युनिट रगत संकलन भएको थियो । सुरुमा पेसेवर व्यक्तिबाट रगत संकलन गरी वितरण हुने गरेको थियो । विसं २०३९ देखि रगत किनबेच अन्त्य गरी स्वयंसेवी रक्तदाताबाट रगत संकलन कार्य हुँदै आएको छ ।
गोर्खा भूकम्पले प्रदर्शनीमार्गस्थित केन्द्रको भवन पूर्ण क्षति भएपछि सोही स्थानमा अत्याधुनिक भवन निर्माण कार्य जारी छ । हाल बालकुमारीस्थित आकस्मिक रक्तसञ्चार भवन र नेपाल रेडक्रसको केन्द्रीय कार्यालय ताहाचलबाट सेवा प्रदान भइराखेको छ ।
रगतको बढ्दो मागलाई ध्यानमा दिई ठूला अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै रक्तसञ्चार सेवा सञ्चालनमा ल्याएका छन् । क्यान्सर, आकस्मिक दुर्घटना, प्रसूति तथा हेमोफिलियाका रोगीका लागि बढी रगत र रगतको तत्व आवश्यक पर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।