नारायणगढ–मुग्लिन सडक खण्ड विस्तारपछि हवाई यात्रुको संख्या घट्याे

चितवन– नारायणगढ–मुग्लिन सडक खण्ड विस्तारको कार्य सकिएकाले हवाई मार्ग प्रयोग गर्ने यात्रुको संख्यामा कमी आएको छ । भरतपुर नागरिक उड्डयन कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा हवाई मार्ग प्रयोग गर्ने यात्रुहरुको संख्यामा कमी आएको हो । 

आव २०७४/७५ मा भरतपुर विमानस्थलबाट दुई लाख ७० हजार ६ सय २६ जनाले यात्रा गरेकामा गत आवमा सो संख्या घटेर एक लाख ८७ हजार ८ सय ३८ जनाले मात्र हवाई यात्रा गरेका थिए । अघिल्लो आवको तुलनामा गत आवमा ८२ हजार ७ सय ८८ यात्रु घटेका हुन् । 

कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार यात्रुको संख्यामा कमी आए पनि विदेशी पर्यटकको संख्या भने बढेको छ । अघिल्लो आवमा १० हजार ३ सय ८५ विदेशी पर्यटकले हवाई मार्ग प्रयोग गरेकामा गत आवमा २१ हजार ३ सय २० विदेशीले हवाई मार्ग प्रयोग गरेका थिए । यात्रु घटेसँगै राजश्वमा पनि गिरावट आएको छ ।

अघिल्लो आवमा  तीन करोड ६ लाख ५४ हजार राजश्व संकलन गरेको विमानस्थलले गत आवमा  भने दुई करोड २७ लाख ६९ हजार मात्रै राजश्व संकलन गरेको थियो ।  सेवा शुल्क भने गत आवमा एक करोड ६९ लाख ५४ हजार मात्र संकलन भएकामा अघिल्लो आवमा सोही शीर्षकमा दुई करोड ४५ लाख ४० हजार १६ लाख ६२ हजार संकलन भएको थियो । 

सडक राम्रो भएसँगै हवाई मार्गको प्रयोग गर्ने यात्रु सडकमार्फत यात्रा गर्न थालेकाले विमानस्थलमा यात्रुको चाप घटेको हो । कार्यालयका प्रमुख गौतमका अनुसार आव २०७४/७५ मा दैनिक २४ वटा सम्म जहाज उडान र अवतरण भएकामा गत वर्ष भने दैनिक सातदेखि आठवटामा झरेको थियो । बुद्ध एयर र यती एयरलाइन्सले भरतपुर–काठमाडौं उडान गर्दै आएका छन् । बुद्ध एयरले भरतपुर–पोखरा पनि उडान भर्दै आएको छ ।





  • प्रकाशित मिति : साउन १४, २०७६ मंगलबार १६:१२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया