काठमाडौं– यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ४ सय ३९ चालकको अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ । उक्त कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा पाँच पटकभन्दा बढी मापसे कारबाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन गरेको हो ।
वि.सं ०६८ मंसिर १७ देखि मापसे जाँचलाई कडाइ गर्दै आएको महाशाखाले हालसम्म उपत्यकामा मापसे सेवन गरेर सवारी साधान चलाउने एक लाख ९० हजार ६ सय ९० चालकलाई कारबाही गरेको छ । महाशाखाले ०६८ सालदेखि मापसे जाँच गरे पनि लाइसेन्समा प्वाल पार्ने काम भने ०६९ मंसिरदेखि गर्दै आएको हो ।
पहिलोपटक मापसे सेवन गर्ने एक लाख ४९ हजार २ सय १६, दोस्रोपटक २७ हजार ४ सय ७७, तेस्रोपटक नौ हजार ९९, चौथोपटक तीन हजार २ सय ८४ र पाँचौँपटक एक हजार १ सय ७५ चालकलाई कारबाही गरिएको थियो । महाशाखाले मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्दै आएको छ ।
महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले पछिल्लो समय उपत्यकामा मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको संख्यामा कमी आएको बताए । ‘पछिल्ला वर्षमा मापसे कारबाहीमा पर्नेको संख्यामा कमी आएको छ,’ उनले भने । महाशाखाका अनुसार आव ०७४/०७५ मा २२ हजार २ सय २६ चालक मापसेमा कारबाही परेकामा आव २०७५/०७६ मा २१ हजार ९ सय ७३ चालक कारबाहीमा परेका थिए ।
महाशाखाले मापसे कारबाहीमा परेका चालकसँग एक हजार जरिबाना लिनुका साथै उनीहरूका लागि कक्षा सञ्चालन गर्दै आएको छ । उपत्यकामा मापसे सेवन गरी सवारीसाधन चलाएपछि दुर्घटना हुने र धेरै मानिसको मृत्यु हुने गरेपछि ट्राफिक महाशाखाले ०६९ देखि मापसे जाँच तथा कारवाही गर्दै आएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।