हङकङका प्रदर्शनकारीमाथि फेरि भयाे आक्रमण
सिसिटिभी फुटेजबाट लिइएको आक्रमणको दृश्य

हङकङ– हङकङमा आठ सातादेखि प्रदर्शनमा रहेका पूर्ण–प्रजातन्त्रवादी अभियन्ताहरुमाथि ‘फायरवर्क्स’ आक्रमण भएको छ । एउटा पुलिस स्टेसनमा हिरासतमा राखिएका प्रदर्शनकारीको रिहाइको पहल गर्न सो स्टेसनअगाडि भेला भएका अभियन्ताहरुमाथि एक अज्ञात समूहले गुडिरहेको कारबाट प्रज्ज्वलित तरलको फोहरा (फायरवर्क्स) हानेको थियो । 

आक्रमणका थुप्रै भिडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

आक्रमणमा १० भन्दा बढी अभियन्ता घाइते भएका बिबिसीले जनाएको छ । 

४० भन्दा बढी अभियन्तालाई हुलदंगा र सार्वजनिक सम्पत्तिको नोक्सानीको अभियोगमा अदालत पुर्याइएको केही घन्टामै यो आक्रमण भएको हो । आइतबारको प्रदर्शन प्रहरीसँगको हिंसात्मक झडपमा पुगेर टुंगिएपछि उनीहरुमाथि यस्तो अभियोग लगाइएको थियो । आरोप प्रमाणित भए उनीहरुलाई १० वर्षको जेल सजाय हुन सक्छ । 

गत साता प्रदर्शनकारीमाथि हतियाधारी समूहले आक्रमण गरेको थियो । त्यसैको विरोधमा हङकङमा प्रदर्शन चुलिएका वेला भएको अर्को आक्रमणले प्रदर्शनकारीलाई थप आक्रोशमा ल्याउने अनुमान गरिएको छ । 



प्रहरीले लगाएको प्रतिबन्धका बाबजुद शनिबारदेखि दिनहुँ दशौँ हजार हङकङवासीले प्रदर्शन गरिरहेका छन् । आठ साताअघि सरकारले ल्याएको एक विधेयकको विरोधमा सुरु भएको प्रदर्शन विभिन्न मुद्दामा आजसम्म चल्दै छ । पछिल्लो समय भने प्रदर्शनकारी प्रहरीविरुद्ध खनिन थालेका छन् ।

हङकङवासीलाई निःशस्त्र प्रदर्शनको अधिकार छ । तर, शनिबारदेखि भने प्रशासनले प्रदर्शनको अनुमति दिइरहेको छैन । गत साता प्रदर्शनकारीमाथि भएको आक्रमणपछि सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै प्रशासनले सडक प्रदर्शनमा रोक लगाएको छ । प्रहरीले प्रदर्शनकारीलाई एउटा गार्डेनभित्र मात्रै प्रदर्शन गर्न भनेको छ । 



तर, प्रतिबन्धका बाबजुद प्रदर्शन भने झन् उग्र बन्दै छ । गत साताको आक्रमणमा संलग्नलाई प्रहरीले नै संरक्षण गरेको भित्र–भित्रै प्रहरीको उनीहरुसँग मिलेमतो रहेको आरोप लगाउँदै प्रदर्शनकारीहरु प्रहरीविरुद्ध उत्रिएका छन् । हङकङमा भ्रष्टाचार मौलाएको, न्याय र कानुनी शासन धरापमा परेको भन्दै प्रदर्शनमा नाराबाजी हुने गरेको छ । 

  • प्रकाशित मिति : साउन १५, २०७६ बुधबार १८:४१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया