सर्ट–टर्म लोन, जसले अर्बपति उद्यमीलाई आत्महत्या गर्ने बनायाे

काठमाडाै‌ं– चर्चित भारतीय उद्यमी भिजी सिद्धार्थ हेग्डेले आत्महत्या गरेका छन् । सोमबारदेखि हराइरहेका सिद्धार्थको शव बुधबार कर्नाटकको नेत्रावती नदीमा भेटियो । 

भारतभर चर्चित चेन क्याफे ‘क्याफे कफी डे’का संस्थापक सिद्धार्थ ‘द इकोनोमिक टाइम्स’को सन् २००२–०३ को ‘आन्ट्रप्रेनर अफ द इयर’ तथा फोर्ब्स इन्डियाको सन् २०११ को ‘नेक्टजेन आन्ट्रप्रेनर’ अवार्ड विजेता हुन् । क्याफे कफी डे (सिसिडी) का अतिरिक्त उनी आधा दर्जन अरु कम्पनीको निर्देशक समितिमा थिए । विश्वचर्चित बहुराष्ट्रिय कम्पनी कोकाकोलामा पनि उनको हिस्सेदारी थियो । 

सिद्धार्थले आत्महत्या गरेको खबरसँगै उनको यो कृत्यको कारणबारे चर्चा हुन थालेको छ । लाखौँ युवाका प्रेरणा–स्रोत बनेका, अर्बौंमा खेल्ने उद्यमी यस्तो दुर्भाग्यपूर्ण फैसलामा आखिर किन पुगे होला त ? 

खासमा, पछिल्लो समय सिद्धार्थ ऋणमा चुर्लुम्म डुबेका थिए । आफ्नो व्यवसाय सञ्चालन गर्न पछिल्लो वर्ष उनले ठूलो परिणाममा छोटो अवधिको कर्जा लिनुपरेको थियो । त्यसमाथि, फाइनान्स कम्पनी ‘आइएल एन्ड एफएस’ डुबेसँगै उनलाई नगदको संकट थपिएको थियो । 

लगातार कर्जाको दुश्चक्रमा फसेका सिद्धार्थले यसबाट उम्कन हरसम्भव प्रयास नगरेका पनि होइनन् । आफ्नो जग्गाजमिनदेखि बेच्नेदेखि सिसिडीमा कोकाकोलालाई पार्टनर्सिप दिनेसम्मको प्रक्रियामा थिए उनी । 

सिद्धार्थलाई नजिकबाट चिन्नेहरुको भनाइ उद्धृत गर्दै भारतीय मिडियाले जनाएअनुसार आर्थिक संकटबाट उम्कन उनी आफ्नो ‘रियलस्टेट प्रोपर्टी’ बेच्ने कोसिस गरिरहेका थिए, तर यसमा सफलता मिलिरहेको थिएन । यदि यसमा सफल हुन्थे त उनीसँग केही नगद हुन्थ्यो, ऋणको बोझ त निकै कम हुन्थ्यो । 



विकल्पमा उनी लामो समयको कर्जाका लागि पनि पहल गरिरहेका थिए । सोमबार हराउनुअघिसम्म उनी देशको एक प्रतिष्ठित संस्थासँग १६ अर्ब भारतीय रुपैयाँ ऋण लिन पहल गरिरहेका थिए । यसमा सफल भएको भए पनि उनलाई ठूलै राहत मिल्थ्यो । 

संकट समाधानकै लागि सिद्धार्थले आइटी कम्पनी ‘माइन्डट्री’मा रहेको आफ्नो सेयर बेचेका थिए । माइन्डट्रीको २० प्रतिशत सेयर बेच्दा ३२ अर्ब हात परेको थियो । यसबाट उनले केही खर्च सुल्झाएका थिए । त्यसमाथि, कर भुक्तान गर्दा उनीसँग २१ अर्ब बचेको थियो । माइन्डट्रपछि उनी १२० एकड (करिब ९५५ रोपनी) जमिनमा बनेको ‘ग्लोबल टेक भिलेज’ बेच्ने कोसिसमा थिए, जसबाट उनको हात २८ अर्बजति पर्थ्यो । बेंगलुरुमा रहेको यो प्रोपर्टी किन्न प्राइभेट इक्विटी कम्पनी ‘ब्याकस्टोन’ एक स्थानीय डेभलपरका साथ लाइनमा थियो । 



सिद्धार्थसामु कर्जाले निम्त्याएको संकट यति गहिरिएको थियो कि उनी आफ्नो ‘फ्ल्यागसिप ब्रान्ड’ सिसिडीको एउटा ठूलो हिस्सा नै बेच्ने निर्णयमा पुगेका थिए । यसका लागि उनले कोकाकोलासँग कुरा चलाएका थिए । सिद्धार्थका नजिकका एक लगानीकर्ताले भनेका छन्, ‘यी दुवै ‘डिल्स’का लागि एकै समय काम गर्नु उनका लागि निकै तनावपूर्ण थियो । यदि बिजनेस पार्क बेच्ने उनको डिल सफल हुन्थ्यो त उनीमाथि आर्थिक दबाब निकै कम हुने थियो ।’

नियमित कर्जालाई सल्टाउन सिसिडीले छोटो अवधिको कर्जा लिन थालेको थियो । पछिल्लो वर्ष कम्पनीको यस्तो कर्जा ५ गुणा बढेर ३८ अर्ब ९० करोड भारु पुगेको थियो, जुन १२ महिनाभित्र चुक्ता गर्नुपर्ने थियो । यही कर्जाको भार उतार्न र केही लिक्विडिटी (खर्चयोग्य नगद) कायम गर्न उनी आफ्ना थुप्रै अचल सम्पत्ति बेच्ने कोसिसमा थिए । 

यही तनावका बीच, सायद यिनै कारणले नै, ५९ वर्षे उद्यमी सिद्धार्थले देहत्याग गरेका छन् । उनको यो निर्णयले भर्खर–भर्खर उद्यमशीलताले जरा गाड्न थालेको दक्षिण एसियाली युवापंक्तिमाझ एकखाले निराशा छरिदिएको छ । (एजेन्सीको सहयोगमा)

  • प्रकाशित मिति : साउन १५, २०७६ बुधबार २०:५२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया