भक्तपुरमा दुर्घटनामा परी दुईजनाको मृत्यु

भक्तपुर– भक्तपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । चाँगुनारायण नगरपालिका–८ चरेलीमा गएराति कमलविनायकबाट नगरकोटतर्फ जाँदै गरेको बा१०च ४०२६ नंको बोलेरो गाडी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

गाडी सडकबाट करीब पाँच मिटर तल खस्दा गाडीमा सवार चाँगुनाराण–८ कलमसी बस्ने ३२ वर्षीय कान्छा राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । घाइते गाडी चालक दोलखा मेलुङ गाउँपालिका–१ घर भई हाल जिल्ला चाँगुनारायण–७ बागेश्वरी बस्ने २० वर्षीय प्रदीप राउतको भने भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

त्यसैगरी, गएराति मध्यपुरथिमि–३ गठ्ठाघरमा भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना६त ८६८ नंको ट्र्याक्टरमा  सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३–०२–००३ प ५५२९ नंको माटरसाइकल पछाडिबाट ठक्कर खाँदा एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
 
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार रामेछाप सुनापाती गापा–३ घर भएका २९ वर्षीय रोमन तामाङको ट्रमा सेन्टर काठमाडौं उपचारका क्रममा मृत्यु भएको प्रनाउ पोखरेलले जानकारी दिए । दुर्घटनामा घाइते हुने मोटरसाइकल चालक रामेछाप सुनापाती गापा–३ बस्ने २८ वर्षीय धनबहादुर थिङको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।

घटनामा उदयपुर कटारी घर भई हाल जडीबुटी बस्ने ३१ वर्षीय रबिन खत्रीलाई महानगरीय प्रहरी वृत्त थिमिले नियन्त्रणमा लिएको छ भने फरार ट्र्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 





  • प्रकाशित मिति : साउन १६, २०७६ बिहीबार १५:१६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया