चुनावको मुखमा केजरीवालले ल्याए लोभलाग्दा योजना– दिल्लीवासीलाई २०० युनिटसम्म बिजुली सित्तैमा, ४०० युनिटसम्म आधा छुट

नयाँ दिल्ली– विधानसभा निर्वाचन नजिकिँदै गर्दा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीवासीका लागि लोभलाग्दा योजनाहरु सार्वजनिक गरेका छन् ।

बिहीबार मुख्यमन्त्री केजरीवालले दिल्लीमा २०० युनिटसम्म बिजुलीको बिल माफ गर्ने घोषणा गरे । २०१ देखि ४०० युनिटसम्मको बिलमा पनि ५० प्रतिशत अनुदान दिने उनले घोषणा गरे । अबदेखि दिल्लीमा अन्य राज्यको तुलनामा सबैभन्दा सस्तो बिजुली उपलब्ध हुने मुख्यमन्त्री केजरीवालले बताए ।

दिल्लीमा ६ महिनाभित्र विधानसभा निर्वाचन हुँदै छ । 

यसअघि, केजरीवालले दिल्लीमा महिलाहरुका लागि मेट्रो रेल, डिटिसी र क्लस्टर बसमा निःशुल्क यात्राको घोषणा गरेका थिए । यसका लागि दिल्लीमा १२ महिनाभित्र ३ हजार सिसी क्यामरा सहितका बस भित्र्याउने र यसमा खर्च हुने ७ देखि ८ अर्ब भारतीय रुपैयाँ दिल्ली सरकारले नै व्यहोर्ने उनले बताएका थिए ।

चार सालअघिको विधानसभा निर्वाचनमा केजरीवालको आम आदमी पार्टीले ७० मध्ये ६७ सिट जितेको थियो । ३ सिट भाजपाको पक्षमा गएको थियो । सत्ता सम्हालेयता भने उनको जनमत खस्कँदै गएको भारतीय मिडियाहरुको विश्लेषण छ ।

दुई महिनाअघि सम्पन्न लोकसभा निर्वाचनले पनि यस्तै देखाउँछ । यो निर्वाचनमा दिल्लीका सातै सिट भाजपाले जित्यो । उनको पार्टीले एक सिट पनि हात पार्न सकेन । यद्यपि, लोकसभा (केन्द्रीय) निर्वाचनको परिणाम हेरेर विधानसभा (प्रादेशिक) निर्वाचनमा पनि त्यस्तै नतिजा होला भन्न भने सकिन्न । 



निर्वाचनका लागि ६ महिनाभन्दा कम समय बाँकी रहँदा मुख्यमन्त्री केजरीवालले नयाँ–नयाँ लोभलाग्दा योजना ल्याउनुलाई गुम्दै गएको ‘चार्म’ फर्काउने उनको रणनीतिका रुपमा हेरिएको छ ।



  • प्रकाशित मिति : साउन १६, २०७६ बिहीबार १६:२९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया