लघुकथा : द चेन्ज

शिखर घिमिरे

सल्लोघारीले नयाँ नाम पायो, पाइन स्क्वायर । बिजुली आयो । सडक पुग्यो । गाडी गुड्न थाले । नयाँ भवन बने । जग्गाको भाउ बढ्यो । चारैतिर झिलीमिली ।

पोहोर साल सबैभन्दा अग्लो भवन ठडियो, १८ तले ।

जाबो १८ तले नि सबैभन्दा अग्लो कसरी भयो ? जापानमा ४३५ तले भवन छ, साउदीमा ९७ तले भवन छ । मानिसहरुले कुरा काटे । अर्को टोलमा पनि २४ तले भवन बनिसकेको रहेछ ।

होइन, सल्लोघारीको सबैभन्दा अग्लो भवन बन्यो, १८ तले ।

हत्तेरिका सल्लोघारी होइन, पाइन स्क्वायर ।



भर्खर बनेको नाम, हत्तपत्त जिब्रोमा झुन्डिने रहेनछ । हरीका बा अझै त्यसलाई सल्लोघारी नै भन्छन्, उत्तमले पनि आफ्ना रचनामा सल्लोघारी नै लेख्छ ।

जसले जे लेखेपनि, भनेपनि राँइलीको भट्टीपसल अहिले द स्यान्डरल्याण्ड क्याफे भएको छ । क्याफेमा म छु । पहिले चियाको ३ रुपियाँ पथ्र्यो यहाँ । अहिले अमेरिकी क्यापिस्क्यानो फेमस छ यहाँको । १२० रुपियाँ पर्छ ।



भवनहरुमात्र बढेका रहेनछन् । मोल पनि बढेको रहेछ ।

नाउँमात्र फेरिएको होइन, सहर भएको छ सल्लोघारी ।

कफी खाँदा लामो समय बाहिर हेरेँ । मनमा धेरै कुरा सोचेँ ।

अचानक मन काँप्यो । होइन रहेछ, जमिन काँप्यो । भुइँचालो आएछ । हतारहतार बाहिर निस्केँ । आज कफीको पैसा तिर्नुपरेन, क्या रमाइलो ।

एकाएक भवनहरु लडे । मानिसहरु रुन थाले ।

मेरो मोबाइल बज्यो । फोन उठाएँ । मानिसहरुको कोकोहोलोले कम सुनियो । यताउति गरेर सुनेरै छाडेँ । श्रीमतीको थियो, म खुसी भएँ ।

मेरो भवन लडेन । नौ होइन, १४ रेक्टर स्केलको भुइँचालोले पनि मेरो घरलाई केही लछार्दैन । मेरो घर सानो छ, मायाको घर । ठूला भवन हुनुभन्दा सानो मायाको घर भएकै राम्रो । त्यो घरमा विश्वास, भरोसा र समर्पण छ । मायाको सानो घरमा म भविष्य र सुख देखिरहेछु, कुनै त्रासविना बसिरहेछु ।

मेरो घर बनेको आज ठ्याक्कै २२ वर्ष पुग्यो । पोहोर बनेको १८ तले भत्कियो, मेरो जस्ताको त्यस्तै छ ।

म वरिपरि हेर्छु, सडकमा छु । केही क्षणअघिको बनोट सम्झन्छु । मेरो मायाको घर सम्झन्छु । फिस्स हाँस्छु ।

‘तपाईंको अनुहार चेन्ज्ड छ,’ उत्तम भन्छ ।

‘हिजोसम्म १८ तलेको छायाँ परेको थियो,’ म अनायसै बोलिदिन्छु ।

* * * * * * * * * * * * * * * * *

ठिक ४५ वर्षअघिको कुरा हो यो ।

अहिले ठूला भवन बनेका छैनन् । साना तर धेरै छन् । मानिसहरु बढेका छन् । मोल बढेको छ । क्याफे झन् ठूलो बनेको छ, ४०५ जना त काम मात्रै गर्छन् रे ।

तर, सबैभन्दा खुसीको कुरा अर्को छ । मेरो मायाको घर अझै सानो छ, अरुको नजरमा ।

हैन, यसको केही प्रगति, परिवर्तन छैन, मान्छेहरु भन्छन् ।

होइन, परिवर्तन छ नि, घरबाहिर ठूलो बोर्ड छ । पहिले थिएन ।

बोर्डमा ठूला अक्षरमा गुलाबी रंगमा लेखिएको छ, शिखरर्स लभ प्याराडाइज ।

  • प्रकाशित मिति : साउन १७, २०७६ शुक्रबार २३:११:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया