के भइरहेको छ जम्मु कश्मिरमा ? के छ पाकिस्तानी प्रतिक्रिया ?

एजेन्सी– पछिल्ला केही दिन यता भारत प्रशासित कश्मिरमा ठूलो हलचल भएको समाचार बाहिर आएका छन् । फलस्वरुपः सोमबारबाट कश्मिरमा कफ्र्यु लगाइएको छ । श्रीनगरमा धारा १४४ लागु गरिएको र जम्मुमा कफ्र्यु लगाइएको भारतीय मिडियाले लेखेका छन् । यो धारा लगाउनुको अर्थ त्यहाँ मानिसहरुलाई हिँडडूल गर्न प्रतिबन्ध लगाउनु, शैक्षिक तथा अन्य संस्थाहरु बन्द रहनु हो ।

श्रीनगरमा आधा रातदेखि नेसनल कन्फ्रेन्सका नेता उमर अब्दुल्ला, पिडिपी अध्यक्ष महबूबा मुफ्ती तथा जम्मु कश्मिर पिपल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरुकै घरमा नजरबन्दमा गरिएको छ । श्रीनगरका पत्रकार माजिद जहांगीरले यी नेतामाथि भएको नजरबन्दको पुष्टि गरेका छन् । 

श्रीनगरमा मात्र होइन, पूरै कश्मिरमा मोबाइल तथा इन्टरनेट सेवा पनि बन्द भएका छन् । श्रीनगरमा त ल्यान्डलाइन फोन पनि चल्न छाडेको छ । 

यसबीच भारतीय प्रधानमन्त्रीले आज (सोमबार) बोलाएको केन्द्रीय क्याबिनेटको बैठकलाई महत्वका साथ हेरिएको छ । उता, पाकिस्तानमा पनि आजै दिउँसो कश्मिर मामला संसदीय समितिको बैठक बोलाइएको छ ।

योभन्दा पहिले उमर अब्दुल्लाले ट्विट गर्दै आफूलाई नजरबन्दमा राखिएको बताएका थिए । उनले ट्विटमा लेखेका छन्, ‘मलाई र अन्य नेताहरुलाई नजरबन्द गर्ने प्रक्रिया सुरु भएको छ र यसबारे सत्यतथ्य कुरा थाहा पाउने कुनै उपाय नै छैन ।’ 

उनको ट्विटमा केन्द्रीय कांग्रेस नेता शशी थरुरले आफ्नो समर्थन जनाएका छन् । 



पिडिपी नेता महबूबा मुफ्तीले पनि ट्विट गर्दै कश्मिरका लागि आफूहरु एक हुनुपर्ने राय व्यक्त गरेकी छिन् । 

यसअघि कश्मिरमा सर्वदलीय बैठक बस्दै सर्वसहमतिबाट जम्मू कश्मिर तथा लद्दाखको स्वायत्ता तथा विशेष दर्जाबाट बचाउनका लागि एकजुट हुने निर्णय भएको थियो । 



घाटीमा भएको आक्रमणलाई चरमपन्थी आक्रमण मान्दै केन्द्र सरकारले निकै कडा आक्रमण गर्ने सूचना पाएपछि यो बैठक भएको थियो ।

 

पाकिस्तानको प्रतिक्रिया

भारत प्रशासित कश्मिरमा जारी हलचलका बीच पाकिस्तानमा पनि सरकार तथा सेनाको आइतबार बैठक भएको थियो । यो बैठकमा भारतीय सेनाले जस्तोसुकै आक्रमण गरे पनि पाकिस्तानी सेना चुप लागेर नबस्ने निर्णय भयो । पाकिस्तानको प्रधानमन्त्री कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा नै यो कुरा उल्लेख गरिएको छ । 

पाकिस्तानले के आरोप लगाएको छ भने भारतले पाकिस्तान प्रशासित कश्मिरमा क्लस्टर बमको प्रयोग गरेर आक्रमण गरेको छ जसलाई अन्तर्राष्ट्रिय सन्धीको उल्लघंन मानिएको छ । 


  • प्रकाशित मिति : साउन २०, २०७६ साेमबार ९:११:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया