विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा दलीय भागबन्डा गरिए आन्दोलन सुरु गर्ने डा. केसीकाे चेतावनी

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै पटक–पटक आमरण अनशनमा बसेका प्रा.डा. गोविन्द केसीले विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा दलीय भागबन्डा नगर्न चेतावनी दिएका छन् । 

साथै, डा. केसीले सरकारद्वारा गठित न्यायिक जाँचबुझ आयोग वा समितिले दोषी ठहर गरेका व्यक्तिलाई पदमा नियुक्त नगर्न पनि सरकारलाई आग्रह गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै केसीले विभिन्न विश्वविद्यालयको नियुक्तिमा फेरि विगतमा झैं दलीय भागबन्डा भए आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन् । 

त्रिवि सेवा आयोगभित्र भ्रष्टाचारको विकराल अवस्था हालसालै सतहमा आएकोले उक्त कदम सच्याएर योग्यताका आधारमा नियुक्ति गर्न आग्रह गरेका छन् ।  उच्च शिक्षामा अस्तव्यस्तता कायम रहेको भन्दै उनले लहडका भरमा कुनै पनि विश्वविद्यालय नथप्न पनि सरकारलाई आग्रह गरेका छन् ।

केसीको प्रेस विज्ञप्तिको पूर्ण पाठ यस्तो छ  

स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधार तथा सुशासनका लागि हामी लामो समयदेखिख संघर्षरत छौँ । विगत लामो समयदेखि विश्वविद्यालयलगायत सार्वजनिक  संस्थाहरुमा दलीय भागवण्डा नभई योग्यता र वरिष्ठताका ठोस आधारमा नियुक्ति हुनुपर्छ र त्यसका लागि वस्तुगत मापदण्ड बन्नुपर्छ भनेर हामीले माग राखेकोमा पटकपटक सरकारले त्यस किसिमको सम्झौतासमेत गरेको छ ।

वर्षौंको अलमल र बेवास्तापछि पछिल्लो समय ‘विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण कार्यदल’ले त्यस्ता मापदण्डसम्बन्धी सुझावसमेत सरकारलाई दिइसकेको छ । हाल चलिरहेको दलीय भागबन्डाको मुसा–दौड रोकेर उक्त प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ । साथै सरकारद्वारा गठित न्यायिक जाँचबुझ आयोग वा समितिले दोषी ठहर गरेका व्यक्तिहरुलाई कुनै पनि हालतमा विश्वविद्यालयहरुमा नियुक्त नगर्न पनि ध्यानाकर्षण गराउँछौँ ।
 
त्रिवि सेवा आयोगभित्र भ्रष्टाचारको विकराल अवस्था हालसालै सतहमा आएकोमा फेरि भावण्डाका आधारमा नियुक्ति गरिनु लज्जास्पद कुरा हो । उक्त कदम सच्याएर योग्यताका आधारम नयाँ नियुक्ति गर्न पनि आग्रह गर्दर्छौं ।



साथै, देशमा उच्च शिक्षाको अहिलेको अस्तव्यस्तता कायम राखी लहडको भरमा कुनै विश्वविद्यालय नथप्न पनि सरकारलाई आग्रह गर्दर्छौं । कुनै पनि संस्थाको उत्कृष्टता कसैको इच्छा वा योजनाबाट मात्र नहुने हुँदा उत्कृष्ट शैक्षिक केन्द्रहरु विकास गर्ने हो भने बृहत् भिजन र चुस्त व्यवस्थापनसहित साना संस्थाहरु स्थापित गरेर तिनलाई बढाउँदै लैजानु उपयुक्त हुन्छ । त्यसका लागि अहिलेसम्म विश्वविद्यालयहरुमा संस्थागत भएका दलीय भागबन्डा, नातावाद र कृपावादजस्ता प्रवृत्तिजन्य भद्रगोल व्यवस्थापन अन्त्य हुनुपर्छ । 

यी प्रवृत्ति थप संस्थागत हुने गरी आउने नयाँ संस्थाले देशको उच्च शिक्षालाई थप अस्तव्यस्त बनाउँछ । यदि दिवंगत नेताहरुलाई सम्मान गर्ने हो भने सबैभन्दा राम्रो विकल्प हालका विश्वविद्यालयहरुको व्यापक सुधार गरेर तिनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउँदै तिनको नामान्तरण गर्ने विकल्प छँदै छ । 



अन्त्यमा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबिबिएसलगायत शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने व्यवस्था गर्न सरकारलाई स्मरण गराउन चाहन्छौँ । विभिन्न विश्वविद्यालयहरुको नियुक्तिमा फेरि विगतमा झैँ दलीय भागबन्डा भएको खण्डमा जस्तोसुकै आन्दोलनका कार्यक्रम सुरु गर्न बाध्य हुने जानकारी गराउँछौँ ।

डा. गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौं ।
२०७६ साउन २१

 

  • प्रकाशित मिति : साउन २१, २०७६ मंगलबार १८:३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया