नयाँ दिल्ली– दुई दिनदेखि भारत प्रशासित कस्मिरको बाहिरी दुनियाँसँग सम्पर्कविच्छेद गराइएको छ । हिजो भारतको केन्द्र सरकारले संविधानको अनुच्छेद ३७० हटाएर जम्मु–कस्मिरलाई ७० वर्षदेखि दिइएको विशेष राज्यको मान्यता समाप्त गरेको थियो ।
योसँगै, उसले साविक जम्मु–कस्मिरलाई टुक्र्याएर ‘जम्मु–कस्मिर’ र ‘लद्दाख’ छुट्टाछुट्टै केन्द्र–शासित प्रदेश बनाउने विधेयक हिजै राज्यसभाबाट पारित गरायाे । लोकसभामाबाट पनि याे विधेयक भर्खरै पारित भएकाे छ । अब, याे विधेयकले कानुनको रुप लिनेछ ।
आफ्नै संविधान, छुट्टै झन्डा र नागरिकता चलाएको जम्मु–कस्मिरमा अब केन्द्रको शासन चल्नेछ । भारतको संविधानकै कतिपय प्रावधान नमान्न पाउने यो ‘विशेष राज्य’ अब अन्य साधारण राज्यभन्दा पनि तल झरेर ‘टेरिटोरियल अथोरिटी’ बनेको छ ।
यो भयानक कदमले कस्मिरमा हिंसा भड्काउने सम्भावना देखेर केन्द्र सरकारले अनुच्छेद ३७० खारेज गर्नुअघि नै जम्मु–कस्मिरलाई ‘लकडाउन’ गरिदियो । राज्यभर टेलिफोन, इन्टरनेट, टेलिभिजनलगायत सञ्चारका सबै साधन बन्द गर्यो । दुई पूर्वमुख्यमन्त्रीसहित कस्मिरका थुप्रै नेतालाई हिरासतमा राख्यो । प्रशिद्ध अमरनाथ यात्रामा गएका तीर्थयात्रीसहित जम्मु–कस्मिरमा रहेका सबै पर्यटकलाई हतारहतार बाहिर निकाल्यो ।
आइतबार रातिदेखि नै जम्मु–कस्मिरमा कर्फ्यु लगाइएको छ । राज्यभरका स्कुल–कलेज बन्द छन् । जम्मु–कस्मिर विश्वविद्यालयको परीक्षासमेत रद्द गरिएको छ । सबै व्यापारिक केन्द्र बन्द छन् । सडकमा हजारौँ सुरक्षाकर्मीले पहरा दिइरहेका छन् । कस्मिरभर इतिहासमै नदेखिएको सन्नाटा छाएको छ ।
यतिखेर कस्मिरमा सञ्चारकर्मीहरुको पहुँच पनि मुस्किल भएको छ । भारतकै मूलधारका मिडियाले पनि त्यहाँको वास्तविक हालत के छ, बुझ्न सकिरहेका छैनन् ।
यसैबीच, कस्मिरको एक इलाकामा सन् १९८० को दशकदेखि ढावा पसल चलाइरहेका बिहारी मूलका एक व्यापारीसँग बिबिसीले सम्पर्क गरेको छ । बताइएको छ कि, पूरै कस्मिरभर (सायद) यही ढावा पसलको एक ल्यान्डलाइन टेलिफोनले काम गरिरहेको छ ।
बिबिसीसँगको कुराकानीमा ती व्यापारीले भनेका छन्–
म मूलरुपले बिहारी हुँ र १९८० को दशकदेखि यस इलाकामा आफ्नो ढावा चलाइरहेको छु । मेरो ढावामा खानका लागि सैनिक पनि आउँछन् र आम मानिस पनि ।
मैले १९९० ताकाको मिलिटेन्सी (दंगा/आतंकवाद) पनि देखेको छु, तर यस्तो माहोल कहिल्यै देखिनँ ।
म श्रीनगर नजिकैको जुन इलाकामा छु, यहाँ हालत सहरमा भन्दा थोरै राम्रो छ । भारी संख्यामा सैना तैनाथ छ । तर, सहरको तल्लो इलाकामा तनाव छ, र हालत खराब छ । सबै चिज बन्द छन् । केही पत्तै चल्न सकेको छैन कि त्यहाँ के भइरहेको छ ।
यहाँ बिजुली आइरहेको छ । यसका अतिरिक्त सबै सम्पर्क काटिएको छ । मैले समाचार हेर्न, सुन्न पाइरहेको छैन ।
पहिले कस्मिरको माहोल निकै राम्रो थियो । तर, अब सबै बन्द भएको छ, काम बन्द छ ।
जो बाहिरबाट आएका मजदुर थिए, उनीहरु फर्किइरहेका छन् । मैले सुनेको छु कि हवाई भाडा नलिइकनै उनीहरुलाई जहाजमा पठाइँदै छ ।
मेरो ढावामा अहिले धेरैजसो सैनिक नै आइरहेका छन् । आम मानिस आइरहेका छैनन् ।
१९९० को दशकमा, जतिखेर हालत ज्यादै खराब थियो, त्यतिखेर पनि मलाई कुनै दुःख भएन । यहाँ कस्मिरी बासिन्दाको मसँगको व्यवहार निकै राम्रो रहँदै आएको छ । सबै राम्रोसँग कुरा गर्छन् । तर, अहिले डर–त्रासको माहोल छ । सहरी इलाकामा ज्यादै तनाव छ ।
३७० समाप्त भएपछि अहिले केही कस्मिरी साथीहरु मजाकमा भन्दैछन्– अब त तिमी यहाँ आफ्नै नाममा जमिन किन्न सक्छौ ।
म ४० वर्षदेखि यहीँ छु, र अब पनि हर हालतमा मलाई यहीँ रहनु छ ।
कस्मिरमा रहेका बिबिसी संवाददाता आमिर पिरजादाका अनुसार कस्मिरको इतिहासमै सायद पहिलोपटक ल्यान्डलाइन टेलिफोनसमेत बन्द गरिएको छ । सबैजसो प्रहरी र प्रशासकीय अधिकारीहरुलाई सेटेलाइट फोन उपलब्ध गराइएको छ, किनकि उनीहरुको फोन पनि बन्द छ । सरकारभित्र पनि सेटेलाइट फोनबाट कुराकानी भइरहेको छ ।
उनका अनुसार, अहिले कस्मिरवासी निकै डराएका छन् । कोही पनि घरबाट बाहिर आइरहेका छैनन् । कतिपय परिवारले महिनौँसम्मका लागि रासन जम्मा गरेका छन् । कस्मिरमा कुनै हिंसा भएको छ, या छैन, कुनै सूचना मिलिरहेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।