के रवीन्द्रपत्नी विद्या बन्लिन् कास्की २ बाट नेकपा उम्मेदवार ?

काठमाडौं— सरकारले १४ मंसिरमा रिक्त रहेका स्थानमा उप निर्वाचन गराउने भएको छ । रिक्त रहेका स्थानमध्ये सबैले ध्यान दिएको ठाउँ हो, कास्की निर्वाचन क्षेत्र नम्बर २ । 

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको यो स्थानबाट नेपाल कम्युनिस्ट पार्टीले कसलाई उम्मेदवार बनाउने भन्ने चर्चा सुरु हुन थालिसकेको छ । 

चर्चामा नेकपाका नेता वामदेव गौतमको नाम सुनिन थालेको छ । कास्कीका एक नेकपा नेताले वामदेव गौतमलाई नै उम्मेदवार बनाउन जिल्लामा केही नेताहरु सक्रिय हुन थालेको बताउन थालेका छन् । 

अर्कोतिर, रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई पनि उम्मेदवार बन्न सक्ने अनुमान गर्न थालिएको छ । 

के रवीन्द्र पत्नी विद्या राजनीतिमा आउलिन् ? के उनी कास्की २ बाट उम्मेदवार बन्लिन् ? 

उनी राजनीतिमा आउन सक्ने तर्कलाई किन बल पुगेको छ भने उनी पहिले सक्रिय राजनीतिमा थिइन् । अखिलको सचिवसम्म भएकी विद्याले विवाहपछि नै राजनीतिबाट टाढा बस्ने निर्णय गरेकी थिइन् ।



यही विषयमा उनको परिवारमा पनि छलफल भएको र नेपाल कम्युनिस्ट पार्टीका केही नेताहरुले उनलाई राजनीतिमा आउन सल्लाह दिएको कास्कीका ती नेकपा नेताले बताए । 

‘उहाँ राजनीतिमा आउँदा हुन्छ भन्ने नेताहरुको कमी छैन,’ ती नेताले भने, ‘अहिलेसम्म उहाँसँग औपचारिक रुपमा पार्टीका नेताहरुले छलफल त गर्नु भएको छैन । तर, गाइँगुइँ उहाँ राजनीतिमा आउन सक्ने कुरा र निर्वाचनमा लड्ने कुरा चाहिँ बाहिर आइरहेका छन् । उहाँको धारणा चाहिँ बुझ्न सकिएको छैन ।’



त्यसो त यसअघि विद्याले आफू राजनीतिमा नआउने संकेत गरेकी थिइन् । विद्याले त्यति बेला श्रद्धान्जली सभामा भनेकी थिइन्, ‘उहाँ ९रवीन्द्र०का सपना पूरा गर्ने जिम्मेवारी अब पार्टीको हो । परिवार त उहाँको सपनाको सानो इकाइ मात्र हो ।’ उनले आफू राजनीतिमा नआउने संकेत त्यसपछि पनि गर्दै आएकी थिइन् । 

अर्कोतिर, अब केही नेकपा नेताले नै विद्यालाई राजनीतिमा नआउन सल्लाह दिन थालेका छन् । 

‘यसपटक त उहाँले भावनात्मक रुपमा पनि जित्न सक्नुहुन्छ, तर राजनीति भनेको लामो रेसको घोडा हो,’ एक नेताले भने, ‘उहाँले राजनीति गर्ने भन्दा पनि आफ्नै पेशामा केही गर्दा हुन्छ, जसलाई पार्टीले पनि सहयोग गर्छ ।’

ती नेताले यसपटक विद्याले कास्कीबाट उम्मेदवारी दिएर जिते पनि त्यसपछि के भन्ने प्रश्न उठ्न सक्ने सम्भावना रहेको बताए । नेकपा सचिवालयका एक सदस्यले पनि पार्टीमा विद्यालाई निर्वाचनमा उठाउने वा नउठाउने भन्नेबारे कुनै छलफल नभएको बताए । 

तर, मन्त्रीसमेत रहेका अर्का एक नेकपा नेताले भने, ‘सबैभन्दा पहिले त उहाँको अधिकारकै कुरा हो, उहाँलाई हामी कन्भिन्स गर्न खोजिरहेका छौँ । तर, अन्तिममा उहाँले मान्नु नै भएन भने अरु नै उम्मेदवारको खोजी हुनेछ ।’

उता, कास्कीमा विद्याले खासै चासो नदेखाएपछि सोमनाथ प्यासी, धनराज आचार्यलगायतका नेताहरुले आआफूलाई उम्मेदवार हुन पाउनु पर्ने दाबी गर्न थालिसकेका छन् । 

  • प्रकाशित मिति : साउन २६, २०७६ आइतबार १०:२२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया