Thu, 21 Nov, 2019


कमनरकाे कथा
५ सय हराएर रिक्सा चालक बनेका शरण जो अब फर्किँदै छन् आफ्नो गाउँ
फरकधार / साउन २७, २०७६

रामेछापका शरणले थापाले जीवनसँग ‘शरण’ लिनु परेको घटना ठूलो छैन । उनले ५ सय रुपैयाँ हराएकैले जीवनसँग कम्प्रोमाइज गरे, रिक्सा चलाउन सुरु गरे । 



रिक्सा चलाउनु कसरी जीवनसँग कम्प्रोमाइज हुन सक्छ ? 

यो प्रश्नको सबैभन्दा चित्तबुझ्दो जवाफ कोहीसँग छ भने, शरणसँग छ ।

‘यो २०४१ सालको कुरा हो,’ केही दिनअघि वसन्तपुरको एक छेउमा भेटिएका शरणले भने, ‘दाइले दशैं खर्च भनेर ५ सय दिनु भएको थियो, हरायो ।’

त्यति बेला पैसा हराउँदा शरण निकै दुखी भएका थिए । दाइको आदेश थियो– पैसा घरमा लगेर आमालाई दिनू ।

शरणले दाइले दिएका सयका पाँचवटा नोट पट्याए, गोजीमा राखे । भोलिपल्ट उनी घर फर्किने तर्खरमा थिए । तर, त्यही साँझ शरणको जीवन मोडियो । 

‘गोजीमा राखेको पैसा साँझमा थिएन,’ उनले भने, ‘त्यसपछि म के गर्ने कसो गर्ने भनेर रुमल्लिएँ ।’

१७ वर्षमा पाँच सय रुपैयाँ जुटाएर दाइले दिएको भन्दै आमालाई पुर्याउन शरणले काम खोज्न थाले, काठमाडौंमा । तर, उनले दाइलाई भनेनन् यो कुरा । 

‘दाइलाई भन्न सक्ने अवस्था नै थिएन,’ उनले सम्झिए, ‘दाइ प्रहरीमा जागिरे हुनुहुन्थ्यो, यसै पनि दाइ भनेपछि डर लाग्थ्यो, दाइ झन् प्रहरी !’

त्यसैले चुपचाप काम गर्न थाले शरणले । काम थियो– भारी बोक्ने ।

बाल्यकालमा कलकत्तामा र पछि रामेछापको सामान्य परिवारमा खाइखेली हुर्किएका शरणले भारी बोक्ने कामलाई खासै निरन्तरता दिन सकेनन् । 

‘त्यहाँभन्दा पहिले त्यस्तो काम कहिल्यै गरेको थिइनँ,’ पाँच सय जुटाउने जोडमा लागेका शरणले त्यो बेलाको दुःख सम्झिए, ‘एकदिन यत्तिकै थाकेर होटलमा खाना खान पसेको थिएँ, काभ्रेका एकजना दाइसँग भेट भयो, कुराकानी भयो ।’

कहिल्यै नचिनेका ती काभ्रेली युवाले शरणको जीवनमा परिवर्तन ल्याइदिए । 

शरणले अब रिक्सा चलाउने भए । तिनै काभ्रेली युवाले हो, शरणलाई रिक्सा चलाउन सिकाएको । 

एक महिना रिक्सा चलाउँदा पनि शरणले पाँच सय रुपैयाँ जोड्न सकेनन् । आफूबाट यो कुरा पार नलाग्ने देखेपछि उनी दाइकहाँ गए, हिम्मत जुटाए अनि भने, ‘दाइ, तपाईंले दिनु भएको पैसा हरायो ।’

भाइले बदमासी गरेको होइन भन्ने निक्र्योल निकाले शरणका दाइले । अर्को पाँच सयको नोट भाइको हातमा हालिदिए । 

त्यो दशैंमा आमालाई दिन दाइबाट पैसा त पाएका थिए शरणले । तर, उनले रिक्सा चलाउनुलाई आफ्नो काम बनाइसकेका थिए । उनले पैसाको जोहो भए पनि रिक्सा चलाउन छाडेनन् । 

दशैंमा घर पुगेर आमालाई यो सबै बेलिविस्तार लगाए शरणले । आमाले भनिन्, ‘बाटो खन्न जानुभन्दा त यही काम ठिक हो नि ।’

 

सरसर्ती सुन्दा र हेर्दा शरण थापा सबैका लागि सामान्य मानिस लाग्छन् । वसन्तपुर क्षेत्रमा रिक्सा चलाउने एउटा व्यक्तिको जीवनमा खास के होला र ? यस्तो प्रश्न जन्मिन सक्छन् । 

तर, शरणको जीवनको यात्रा कम चुनौतिपूर्ण र संघर्षमय छैन । 

कलकत्तामा जन्मिएका शरण २०३४ सालमा बाबुको मृत्युपछि आमासहित रामेछाप बसाइँ सरे । 

‘आमा, म र दाइ भारत नफर्किने गरि रामेछाप फर्किएका थियौँ,’ शरणले सम्झिए ।

शरणका बाबु कलकत्तामा चौकीदारी गर्थे । उनले सानोमा बाबुसँगै ‘मालिक’को घरमा चौकीदारी गरे । बाबुको निधनपछि नेपाल आएपछि पनि शरणले स्कुलमा पाइला टेकेनन् । नेपाल आएको केही समयपछि नै उनी गाउँलेहरुसँग मिलेर बाटो खन्ने काम गर्न हिँडे । 

उनका दाइ प्रहरी सेवामा भर्ती भए । शरणको परिवारमा थोरैतिनो पैसा आउन थाल्यो । आफू बाटो खन्न जाँदा ल्याएको पैसा पनि शरणले शरणले आमालाई दिन्थे ।

 

२०४१ सालमा शरणको जीवन फेरियो । 

उनले सुरुमा न्युरोडबाट रिक्सा चलाउन सुरु गरे । 

‘न्युरोडबाट ठमेल जाँदा मानिसहरुले एक दुई मोहर दिन्थे, एक रुपैयाँसम्म पनि दिन्थेँ,’ ती दिन सम्झिए शरणले, ‘दिनमा ७–८ रुपैयाँ हुन्थ्यो ।’

त्यति बेला उनी दैनिक ‘मासुभात’ खान्थे । ‘२ रुपैयाँमा मासुभात आउँथ्यो,’ शरण हाँसे, ‘अनि अलिअलि बचेको पैसा म आमालाई घरमा पठाउँथे ।’ 

त्योबीचमा प्रेम विवाह गरे शरणले । अनि श्रीमतीलाई पनि काठमाडौंमा नै ल्याए । त्यसअघि होटलमा बस्दै आएका शरण अब कोठामा सरे । 

‘त्यति बेला अहिले जस्तो गाडी थिएनन्,’ उनले भने, ‘बाटोमा रिक्सा चलाउन सजिलो पनि थियो, मान्छे पनि सजिलै पाइन्थे ।’

शरणले २०४५ सालमा आमा गुमाए । अब उनको जीवन विरक्त हुन थाल्यो । यता, छोराछोरी पनि भएका थिए । त्यसैले उनले रिक्सा चलाएर हुँदैन भन्ने निक्र्योल निकाले र काम खोज्न थाले । 

काम पनि सहजै पाए शरणले, सडक विभागमा । 

‘बाटो पिच गर्ने काम थियो,’ शरणले भने, ‘तीन वर्षसम्म त्यो काम गरेपछि मेरो बढुवा भएको थियो, पालेमा ।’

तर, यो कामले चित्त बुझ्दै बुझेन शरणको । ‘मलाई स्थायी बनाएनन्, ०५८ सालमा मैले जागिर छोड्ने निर्णय गरेँ,’ शरणले भने । 

त्यसपछि फेरि शरण फर्किए सडकमा रिक्सा चलाउन । ‘आफ्नै यही काम राम्रो हो भन्ने लाग्यो,’ उनले भने, ‘बीचमा एकपटक इनार खन्ने काम पनि सुरु गरेको थिएँ तर त्यसमा पनि मन रमेन ।’

जीवनको भित्री पाटो र सुखदुःखलाई एउटा रिक्सा चालकको आँखाबाट राम्रोसँग बुझेका छन्, शरणले । ‘म सधैं सडकमा नै रहेँ, रिक्सा चलाइरहेँ,’ उनले भने, ‘यहाँ त आफ्नो मात्र होइन, अरुको पनि जीवन बुझ्न पाइन्छ । अरु, जो मेरो रिक्सामा चढ्न आउँछन् ।’

 

झन्, अब त शरणको जीवन सहज हुन थालेको छ । उनका जेठा छोरा कतारमा छन् । उनैले अब शरणको दुःखसुख व्यवस्थापन गरिदिन्छन् । तिनै छोराले शरणका अरु दुई छोराछोरी पढ्नका लागि खर्च पनि जोहो गर्दै आएका छन् । 

‘उसैले मलाई रिक्सा पनि किनिदियो,’ शरणले भने, ‘अब त कहिलेकांही रिक्सा चलाउन मन नलाग्दा कोठामै दिन बिताउन पनि सक्छु, पहिले साहुको चलाउँदा चाहिँ भाडा बुझाउन पर्ने चिन्ता बढी हुन्थ्यो ।’

जे होस्, कोठाबाट रिक्सा लिएर सडकमा निस्कँदा शरण दैनिक औसत एक हजार कमाउँछन् । तर, अब रिक्सा चलाउनु उनका लागि बाध्यता होइन, रहर हो । 

त्यसो त अब शरणले जीवनका लागि नयाँ योजना बनाएका छन् ।

उनी छिट्टै रामेछाप फर्किँदै छन् । र, गर्दैछन् तरकारी खेती ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्