के नेकपा सचिवालय बैठकले आज विवाद सुल्झाउला ?
फाइल तस्वीर ।

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । 

यसअघि १३ बैठकमा कुनै विवादको समाधान नभएपछि हिजोका लागि बैठक बोलाइएको थियो । तर, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट फर्किने कार्यक्रम पछि सरेकाले हिजोको बैठक स्थगित भएको थियो । 

नेकपाले आफ्ना विभाग तथा अन्य केही महत्वपूर्ण केन्द्रीय निकायका नेतृत्वबारे टुङ्गो लगाउनु पर्ने छ । 

विशेषतः लामो समयदेखि विवादमा परेको नेकपाको स्कुल विभागको जिम्मेवारी कसले पाउने भन्ने अहिलेसम्म निश्चित भएको छैन । सिङ्गापुरमा उपचार गरेर फर्किएका ओलीले यसबारे हिजोमात्र केही शीर्ष नेताहरुसँग सल्लाह गरेका थिए । 

पूर्वमाओवादीका नारायणकाजी श्रेष्ठ र पूर्वएमालेका ईश्वर पोखरेल दुवैले दाबी गरेको स्कुल विभागको जिम्मेवारी दाबी गर्नेमा अब अरु नेता पनि थपिएका छन् । बेदुराम भुषाल, घनश्याम भुषाल, झलनाथ खनाललगायत नेताले यसमा आफ्नो रुचि देखाएका छन् । 

‘यो विषयमा सबैभन्दा पहिलो दुई अध्यक्षबीच सल्लाह भएर निष्कर्षमा पुगेको हुनु पर्ने थियो,’ नेकपाका एक सचिवालय सदस्यले भने, ‘उहाँहरुबीच यस विषयमा सल्लाह नै भएको छैन । त्यसैले आजको बैठकमा पनि यसको निष्कर्ष निस्कनेमा आशंका गर्न सकिन्छ ।’



ती सचिवालय सदस्यले यसअघिका सचिवालय बैठक पनि औपचारिकता निर्वाहमात्र भएकाले यसपटक पनि खासै केही हुनेमा आफू निश्चित नभएको बताए । ‘दुई अध्यक्ष र अन्य सदस्यका केही कुरा सुन्यो,’ उनले फरकधारसँग भने, ‘अनि बैठक सकायो भन्ने प्रवृत्ति बढिरहेको छ । त्यसैले आज पनि केही होला भन्ने लाग्दैन ।’

स्कुल विभाग तथा अन्य निकायको नेतृत्वको टुङ्गो लगाउनका लागि पहिले दुई अध्यक्षबीच सहमति हुनु पर्ने तर अब यसलाई नयाँ ढंगबाट हेरिन थालेकाले पनि आजको नेकपा सचिवालय बैठकमा विवाद समाधानका लागि खासै केही नहुने उनको तर्क छ ।



उनले आजको बैठकमा अध्यक्षद्वयले आफ्ना विदेशभ्रमणबारे बिफ्रिङ गर्ने अनुमान गरेका छन् । योबीचमा प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिङ्गापुर गएका थिए भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पारिवारिक भ्रमणमा दुबई पुगेका थिए । 

  • प्रकाशित मिति : साउन २९, २०७६ बुधबार १०:३१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया