जुजुकाजीः हार्ट बिटका संस्थापक, सडक बालबालिका अभिभावक

जो कसैलाई पनि सडकमा बालबालिका किन आइपुग्छन् भनेर सोध्ने हो भने जवाफ मिल्छ– गरिबीले ।

तर, जुजुकाजी यो जवाफसँगै अर्को एउटा वाक्यांश पनि थप्छन् । उनी भन्छन्, 'ठूलो बन्ने सपनाले बालबालिकालाई सडकमा ल्याएको छ ।’

यो कुरा थाहा पाउन जुजुकाजीलाई निकै लामो समय लाग्यो । उनी आफैं सडकमा पुगे, सडकका बालबालिकासँग संगत गरे, कुराकानी गरे र थाहा पाए, र शिक्षाका लागि अवसर दिने हो भने सडकमा बालबालिका आउने क्रम स्वतः घट्छ ।

जुजुकाजीले सडक बालबालिकाका कुरा बुझ्न थालेको ठूलो भएपछि होइन । उनी त सानै हुँदा आमाबाबुलाई नटेरेर भए पनि सडक बालबालिको दौँतरी बन्थे । त्यसो त उनका आमाबाबुले उनलाई सडकका बालबालिकालाई घरमा पाकेको खानेकुरा लैजाँदा पनि केही भनेनन् । 

‘बुबाआमा खेतमा काम गर्न जाँदा म साथीहरु खोज्थेँ,’ जुजुकाजीले डल्लुमा बिताएको बाल्यकाल सम्झिए, ‘त्यही बेला देखि नै अनाथ तथा सडकमा आइपुगेका साथीहरुसँग मेरो संगत बढ्यो । म उनीहरुसँग नजिक भएँ ।’

अब त ती सडक बालबालिकाको व्यवस्थापन आफ्नो जिम्मेवारी हो भन्ने ठान्छन्, जुजुकाजी । ‘म उनीहरुसँग खेलेर हुर्किएँ, उनीहरुप्रति मेरो विशेष लगाव छ,’ जुजुले भने, ‘अब म सडकमा आइसकेका बालबालिकाको व्यवस्थापन गर्न मात्र होइन, बालबालिका सडकमा नै नआउन् भन्नका लागि पनि काम गरिरहेको छु ।’



यही लगाव र सडक बालबालिकासँगको सामिप्यताका कारण जुजुले एसएलसीको परीक्षा दिएलगत्तै सुरु गरेका थिए, ‘टुगेदर एजुकेट अल’ । यसको सर्टफर्म हो, टिइए अर्थात् टि । प्रत्येक विहान मानिसको जीवन चियाबाट सुरु हुने भएकाले जुजुले यो नाम छाने । अनि यो अभियानबाट उनी सडक बालबालिकालाई खाजा उपलब्ध गराउने मात्र होइन, स्कुलमा विपन्न विद्यार्थीलाई खाजा पनि उपलब्ध गराउँछन् । 



जुजुको संस्था ‘हार्ट बिट’

एसएलसी सकाएपछि जुजुकाजी वनस्थलीमा पढ्ने भए । तर, उनले अध्ययनलाई बीचैमा छोड्नु पर्यो । त्यसपछि उनी ब्रिटिस गोर्खा कलेजमा पनि भर्ना भए । यसलाई पनि उनले पूरा गर्न सकेनन् । 

पढाइमा खासै राम्रो गर्न नसकेका जुजु कम्प्युटरको हार्डवेयर पसलमा काम गर्न थाले । देशमा आन्दोलन चर्किएको थियो । विहान हार्डवेयर पसलमा जाने जुजु कलेज जान छाडेकाले दिनभर फुर्सदिला थिए । त्यो फुर्सदमा जुजु राजनीतिक कार्यक्रममा जान थाले । 

कार्यक्रमहरुमा जाँदाजाँदै उनलाई लाग्यो, ‘अब म पनि राजनीति गर्छु ।’

 

याे पनि तपाईंलाई रुचिकर हुनसक्छ

» जो पुराना पुस्तक बेचेर नयाँ कोट किनिरहेका छन्

» जसले नर्वेको सपना छाडेर डोल्पा रोजिन्

» #farakक्षमता: ‘मसँग खुट्टा पो छैनन्, आत्मविश्वास त छ नि’

 

‘अनि म ललितकला क्याम्पसमा भर्ना भएँ,’ जुजुले भने, ‘तर, त्यहाँ गए पनि मलाई राजनीतिभन्दा सडक बालबालिका नै प्यारा लाग्न थाले, समाजसेवामा नै मन भुल्न थाल्यो ।’

सडक बालबालिकालाई नै सहयोग पुगोस् भनेर जुजुले कलेजमा साथीहरुलाई भने– हामी आर्ट एक्जिविसन गरौँ । 

साथीहरुले उनको कुरा माने । त्यो कार्यक्रमको नाम जुजुले नै जुराए– आर्ट फर सोसल चेन्ज । त्यो कार्यक्रममा उनीहरुले सांगीतिक कार्यक्रम पनि मिसाएका थिए । 

त्यो सांगीतिक कार्यक्रमको ‘बिट’ र आफ्नो समाजसेवा गर्ने मनको ‘हार्ट’ जोडे जुजुले र जन्मियो, हार्ट बिट ।

हार्टबिटले अहिले पनि सडकमा आइपुग्ने बालबालिकालाई घरमै रोक्न खोजिरहेको छ, अर्कोतिर यो संस्थाले काठमाडौं र बाहिरका सरकारी स्कुलमा पढ्ने केही बालबालिकालाई खाजा खुवाइरहेको पनि छ ।

यो संस्थामा उनले निकै धेरै युवाहरुलाई इन्गेज पनि गराएका छन् । ‘जो युवा स्वयंसेवा गरौँ, समाजलाई केही गरौँ भन्ने चाहन्छन्,’ उनले भने, ‘उनीहरुलाई हाम्रोमा स्वागत छ ।’ जुजुले युवाहरु परिचालन गरेर सानाठूला दर्जनौँ कार्यक्रम गरिसकेका छन् ।

  

सडक बालबालिकाको अवस्था बुझ्न सडकमै

नेपालमा प्रचलन छ, सडक बालबालिकाको अवस्था बुझ्न ठूला गोष्ठी आयोजना हुन्छन् । स्टार होटलमा हुने यस्ता गोष्ठीमा सडक बालबालिको अवस्थाबारे निकै धेरै भूमिका बाँधिएका हुन्छन् । तर, जुजु त सडक बालबालिकाबारे बुझ्न आफैं सडकमा निस्कन्छन् । 

उनले संस्था सुरु गरिसकेपछि पनि कयौँ दिन र रातका घन्टाहरु सडकमा बिताएका छन्, सडक बालबालिकासँग सँगै हिँडेका छन्, सडक बालबालिकासँग साउती मारेका छन्, भलाकुसारी गरेका छन् । 

यस्तो गर्दागर्दै उनले कतिपय सडक बालबालिकालाई त फेरि घर फर्काएका छन् । फेरि पुनस्र्थापना गराएका छन् । 

त्यसो त जुजुले डे केयर पनि चलाएका छन् । उनको डे केयरमा स्कुल सकिएपछि बालबालिका आउँछन्, खाजा खान्छन्, होमवर्क गर्छन् अनि घर जान्छन् । यो सब गर्नका लागि जुजुले एक पैसा पनि बालबालिका वा उनीहरुका अभिभावकबाट लिँदैनन् । 

 

 
काठमाडौंबाहिर पनि फैलिँदै छन् जुजुकाजी

काठमाडौंमा मात्र होइन, जुजुकाजीले विस्तारै काठमाडौं बाहिर पनि काम सुरु गर्न थालिसकेका छन् । यसको पछिल्लो उदाहरण हो, उनले धादिङको चेपाङ समुदायमा गएर काम गर्नु । 

त्यहाँ उनले ‘चार सी’ अवधारणा अर्थात्, चिल्ड्रेन, चेपाङ, कम्युनिटी र चिकेन भनेर काम सुरु गरेका छन् । 

सडकमा आउने धेरै बालबालिका कम हुँदै जाउन् भनेर जुजुकाजीले सुरु गरेको यो चार सीले चेपाङ परिवारलाई नै आत्मनिर्भर बनाउनेमा विश्वस्त छन् । 

उनी यसअघि कैलालीमा पनि राजी समुदायमा आफूले कस्तो सहयोग गर्न सकिन्छ भन्ने थाहा पाउन बुझेका थिए । 

‘हामीलाई कसैले राजी समुदाय भोकमरीका कारण समस्यामा परिरहेको छ भन्ने खबर सुनाउनु भएको थियो,’ उनले भने, ‘त्यसपछि हामी त्यहाँ पुगेका थियौँ ।’ 

उनले त्यहाँ भोकविरुद्धको अभियान कार्यक्रम सुरु गरे । ‘काठमाडौंबाट एउटा नेवारको छोरो पहिलो पटक त्यहाँ पुगेर त्यस्तो कार्यक्रम गरेँ,’ जुजु सम्झिन्छन्, ‘मैले पूरै परिवर्तन गर्न त सकिनँ, तर आफ्नो तर्फबाट केही गरेँ । यसले मलाई ठूलो खुसी दिएको छ ।’

कसरी जुटाउँछन् जुजु संस्थाको खर्च 

‘चाहना हुनुपर्छ, अर्थ अभावले कुनै समस्या पादैन,’ जुजु भन्छन्, ‘मैले अहिलेसम्म कुनै ठूलो डोनरको सहयोग लिएको छैन, कुनै नेताको घरमा हात पसार्न गएको छैन ।’

तर, उनी उत्तरदायी भए युवाहरुले खर्च जुटाउन कुनै समस्या नहुने बताउँछन् । 

जस्तो कि, जुजु बेलाबेलामा फुटसल म्याच आयोजना गरिदिन्छन्, त्यसबाट उठेको पैसा हार्ट बिटमा प्रयोग गर्छन् ।

हार्ट बिटका लागि काठमाडौंका विभिन्न कलेजका विद्यार्थीहरुले पनि थोरैथोरै भए पनि सहयोग गर्छन्, अरु मानिसहरुबाट पनि जुजु सहयोग लिन्छन् । 

अनि काठमाडौंमा हुने जात्रा तथा पर्वहरुमा जुजु सडकमा पसल थाप्न पुगिहाल्छन् । मम, चाउमिन, थुक्पा बेचेर फाइदा भएको पैसा उनी हार्ट बिटका लागि खर्च गर्छन् । 

‘म कवाडी पनि संकलन गरिरहेको हुन्छु, कम्प्युटरका सिपियु देखि मोनिटरसम्म,’ उनी भन्छन्, ‘मलाई केही गर्नुछ, त्यो सपना पूरा गर्न फोहोरबाट भए पनि पैसा निकालिरहेको छु ।’

आर्थिक समस्याले नघेरोस् भनेर जुजुले पुराना कपडा प्रयोग गरेर कुसन देखि विभिन्न सजावटका सामग्री पनि बनाउँछन् र बेच्छन् । 

‘जहाँ इच्छा छ,’ जुजुले ३१ वर्षे जीवनमा बुझेका छन्, ‘त्यहाँ उपाय छ ।’

  • प्रकाशित मिति : साउन २९, २०७६ बुधबार १५:४८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया