समृद्ध भारत नेपालका लागि पनि अवसर : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सम्बन्ध अन्तरसम्बन्धित र अन्तरनिर्भर रहेको बताएका छन् । भारतको ७३औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालद्वारा बुधबार यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उनले समृद्ध भारत नेपालका लागि पनि अवसर हुने बताए ।

मन्त्री ज्ञवालीले प्रजातन्त्रले जनतालाई केही दिन सक्दैन भन्ने भनाइविपरीत भारतले आर्थिक विकासका क्षेत्रमा ठूलाठूला उपलब्धि हासिल गरेको र विश्वका ५/६ वटा ठूला अर्थतन्त्रमध्येमा भारत पनि पर्न सफल भएको बताए । नेपाल र भारत आर्थिक विकासलाई केन्द्रबिन्दु बनाएर बलियो आर्थिक साझेदारी गर्न लागेको उल्लेख गर्दै उनले दुई देशबीच धेरै योजना सम्पन्न भएका र केही योजना प्रगतिउन्मुख भएको बताए । 

मन्त्री ज्ञवालीले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भइसकेको र त्यसबाट नेपालको पेट्रोलियम ढुवानीमा अर्बाै‌ रुपैयाँ जोगिने बताउँदै भारतीय सहयोगमा हुलाकी राजमार्ग निर्माण हुँदै गरेको जानकारी दिए । पछिल्लो समयमा दुई देशबीच सहयोगका तीन क्षेत्रमा आयोजना अघि बढेको उल्लेख गर्दै उनले सीमापार रेलमार्ग, आन्तरिक जलमार्ग तथा कृषिमा साझेदारीअन्तर्गत सहयोग अघि बढाइएको जानकारी दिए । नेपालमा भारतबाट विप्रेषण आउने मात्र नभई नेपालबाट पनि विप्रेषण भारत जाने गरेको पनि मन्त्री ज्ञवालीले जानकारी गराए

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशचन्द्र लोहनीले भारत विश्वमा साँच्चिकै एक शक्तिका रुपमा उदाएको र मानवजातिको उन्नतिका लागि नमुनाका रुपमा काम गरिरहेको बताए ।

नेपाल–भारतबीच सम्बन्धका चार तह रहेकाे बताउँदै उनले राजनीतिक, आर्थिक, सुरक्षा र सांस्कृतिक सम्बन्धमध्ये आर्थिक सम्बन्ध महत्वपूर्ण हुने र नेपालको व्यापार घाटा कम गर्दै लैजानका लागि भारतसँग सहयोग र सद्भावना लिनुपर्ने बताए ।

नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थ एवं परराष्ट्रमन्त्री डा.रामशरण महतले भारत धेरै देशको लोकतान्त्रिक संग्रामका लागि पनि प्रेरणादायी रहेका उल्लेख गर्दै बिपी कोइराला, सूर्यप्रसाद उपाध्याय, मनमोहन अधिकारी, डिल्लीरमण रेग्मी आदि नेताले भारतको स्वतन्त्रता आन्दोलनमा भाग लिएकाले नै त्यसैबाट प्रभावित भएर नेपालमा पनि प्रजातन्त्रका लागि क्रान्ति भएको र संसदीय प्रणाली अपनाउन पुगेको बताए ।



भारतको बाटो भई ९० प्रतिशतभन्दा बढी सामान आउने गरेको बताउँदै उनले भारतबाट धेरै लगानी होस्, प्रविधि आओस् र पर्यटक धेरै आऊन् भन्दै नेपाली उत्पादन पनि भारत जाने वातावरण बन्नुपर्नेमा जोड दिए । 

भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपालका नेता बिपी, मनमोहन अधिकारी, डिल्लीरमण रेग्मी, तुल्सीलाल अमात्य आदिको भारतीय स्वतन्त्रता संग्राममा सहभागिता मात्र होइन, भारतीय नेताहरु जयप्रकाश नारायण, राममनोहर लोहियाले नेपालको हनुमाननगरमा शरण लिएबाट पनि नेपाल–भारत सम्बन्धबारे आकलन गर्न सकिने बताए ।  



उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोचेभन्दा बढी बहुमत हासिल गरेकाले अहिले पूर्णतया विकासमा केन्द्रित भएको र अहिले विश्वमै उच्च आर्थिक वृद्धि हासिल गर्न सफल भएको जानकारी दिए ।

  • प्रकाशित मिति : साउन २९, २०७६ बुधबार १६:२९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया