चीन र भारत डब्लुटिओबाट नाजायज फाइदा उठाइरहेका छन्, अब त्यसाे गर्न दिन्नाै‌ं – ट्रम्प

वासिंगटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतले विश्व व्यापार संगठन (डब्लुटिओ) को गलत फाइदा उठाइरहेको बताएका छन् । चीन र भारत अब विकासशील देश नरहेका बताउँदै राष्ट्रपति ट्रम्पले अब यी देशलाई डब्लुटिओबाट कुनै अनुचित लाभ लिन नदिनेसमेत बताएका छन् । 

चीनसँग त ट्रम्प प्रशासनको पहिलेदेखि नै कटुतापूर्ण दृष्टिकोण रहँदै आएको छ, भारतसँग पनि ट्रम्प त्यति खुसी छैनन् । राष्ट्रपति भएदेखि नै ‘अमेरिका फर्स्ट’ नीति लिएका ट्रम्पले अमेरिकी सामानमा ज्यादा ‘ट्यारिफ’ लगाएको भन्दै भारतको पनि आलोचना गर्ने गरेका छन् । एकपटक त उनले भारतलाई ‘ट्यारिफ किङ’ देश नै भनेका थिए । 

ट्रम्प प्रशासनले चिनियाँ सामानमा दण्डात्मक शुल्क लगाएपछि अमेरिका र चीन त व्यापार युद्धकै अवस्थामा छन् । चीनले पनि अमेरिकी सामानमा अतिरिक्त शुल्क लगारहेको छ । विश्वकै सबैभन्दा ठूला दुई अर्थतन्त्रबीचको व्यापार युद्धले विश्व अर्थतन्त्रलाई नै गम्भीर असर पारिरहेको छ ।

ट्रम्पले गत जुलाईमा डब्लुटिओलाई सोधेका थिए कि उसले विकासशील देशको दर्जा कसरी निर्धारण गर्छ । उनले चीन, टर्की, भारतजस्ता देशलाई विश्व व्यापारबाट अलग गराउनका लागि यस्तो गरेका थिए । एक विज्ञापनमा ट्रम्पले युएस ट्रेड रिप्रिजेन्टेटिभलाई यस्ता देशका विरुद्ध दण्डात्मक कारबाहीको अधिकार दिएका थिए, जो डब्लुटिओबाट नाजायज फाइदा लिइरहेका छन् । 

मंगलबार पेन्सिलभेनियामा एक वक्तव्यका क्रममा ट्रम्पले चीन र भारतलाई एसियाकै ठूला अर्थव्यवस्थाका रुपमा अर्थ्याउँदै अब उनीहरु विकासशील देश नरहेकाले डब्लुटिओबाट कुनै फइदा लिन नसक्ने बताए । दुवै देशले सालौँदेखि अमेरिकाको फाइदा उठाइरहेको भन्दै ट्रम्पले यसबाट अमेरिकालाई नोक्सान भइरहेको बताए । डब्लुटिओले अमेरिकालाई न्याय गर्ने विश्वास उनले व्यक्त गरे । 

डब्लुटिओ एक अन्तरसरकारी संगठन हो, जसले देशहरुबीचको व्यापारलाई नियन्त्रित गर्छ । 





  • प्रकाशित मिति : साउन २९, २०७६ बुधबार १९:१४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया