Thu, 21 Nov, 2019


[अर्थमन्त्री युवराज खतिवडाको विचार] लक्ष्य : युवा उद्यमशीलताको विकास
डा. युवराज खतिवडा
फरकधार / साउन ३०, २०७६

उद्यमशीलताको इकोसिस्टमभित्र आउने विषयमा चाहे व्यक्ति हुन्, चाहे परिवार हुन्, चाहे ती संगठित संस्था नै किन नहुन्, चाहे ती समाजका सामुदायिक, सामाजिक, धार्मिक संस्थाहरु नै किन नहुन्, उद्यमशीलता विकासमा तिनीहरुको भूमिका कति प्रबल हुन्छ भन्ने विषय बुझ्न जरुरी छ । हाम्रो समाजको संरचनाले सामाजिक परिपाटीले ल्याएका कतिपय पेशागत विभाजनका कारण हाम्रो उद्यमशीलतामा कहीँ कतै कठिन भएको छ कि भन्ने तर्क गरिनु स्वाभाविक हो । 



शिक्षा प्रणालीले हामीलाई डिग्री मात्रै उत्पादन गर्छ । त्यसले हामीलाई ज्ञान दिन्छ, सीप दिन्छ । ज्ञान र सीपले हामीलाई कस्तो प्रभाव पार्छ ? अनि शिक्षाले सधैँ अन्वेषणको परिपाटी विकास गर्दै लैजान्छ । 

एकपटक सिकेको सीप सधैँको लागि पर्याप्त हुन्छ भन्ने होइन । अहिलेको कुरा भनेको लाइफटाइम लर्निङ हो । इनोभेसन हो । त्यो भनेको लाइफ स्किल हो । 

शिक्षाका यस सन्दर्भमा हामीले गर्न खोजेका केही कुरा सेयर गर्न चाहन्छु । हामीले विस्तारै शिक्षा प्रणालीको ट्रान्सफरमेसन गर्न लागेका छौँ । अहिलेको मूलधारको शिक्षा साधारण शिक्षा नै हो । साधारण शिक्षा केही हदसम्म व्यावसायिक शिक्षामा जाँदै छ । अब हामीले वैज्ञानिक र प्राविधिक धारको शिक्षालाई विकास गरेर लानु छ । शिक्षासँगसँगै सीपको विकास आवश्यक छ । एउटा व्यवसाय गर्न सक्ने सीपको लागि इन्टर्नसिपको माध्यमबाटै भए पनि उद्यमी बनाउने वातावरण बनाउन आवश्यक छ ।

शिक्षाको पाठयक्रम परिवर्तनदेखि विद्यालयको भौतिक संरचना परिवर्तनसम्म तथा शिक्षाको दरबन्दी मिलान, शिक्षा ऐन, विज्ञान प्रविधिमा नयाँ ऐन ल्याउनेदेखि विद्यार्थीलाई पढ्दा नै कुनै औद्योगिक प्रतिष्ठानमा सिकाउन लैजाने व्यवस्था गर्नुपर्छ । प्रतिष्ठानमा नभए उद्योगमा भए पनि लैजानुपर्छ । यसरी, पढेको कुरालाई व्यवहारमा उतार्न जरुरी छ । 

नेपालको शिक्षा प्रणालीमा अहिले साधारण शिक्षाको हिस्सा ७० प्रतिशतमाथि छ । कुनै पनि रुपान्तरणको पहिलो सर्त भनेकै विज्ञान–प्रविधि हो । यसको संरचनागत परिवर्तन आवश्यक छ । शिक्षासँग अनुसन्धान पनि आवश्यक पर्छ । हाम्रोमा लगानी कम छ । त्यति मात्रै होइन, उत्प्रेरणाको पनि कमी छ । अहिले हामीले गर्न खोजेको उच्च शिक्षामा जाँदा वैज्ञानिक विकासमा बढी ध्यान दिन सकियोस् भनेर बजेट विनियोजन गर्दा नै उच्च शिक्षामा जोड दिइएको छ । प्राध्यापकलाई पठन–पाठनको विकल्पको रुपमा अनुसन्धानमा लगाउने, ठोस अनुुसन्धानमा लगाउने नीति लिएका छौँ । केही कृषि र उद्योगतर्फको उद्यमशीलताको कुरा आएको छ । 

सामान्य व्यवसाय, आर्थिक व्यवसाय अघि बढाउन सक्ने, रोजगारी सिर्जना गर्न सक्ने सम्भावना छ । कृषिलाई कसरी आधुनिक ढंगले अघि बढाउने, युवा हलो जोत्न जाने कि, परम्परागत कृषि गर्ने हो कि भन्ने हो । अब युवापुस्ताका लागि कृषिमा पनि रोजगारी सिर्जना गर्न आवश्यक छ । यो विषय हामीले बजेटमा पनि समावेश गरेका छौँ । अहिलेका अनुदान प्रभावकारी कार्यान्वयनमा छैनन् । त्यो हामीले महसुस गरेका छौँ । बाध्यकारी निर्णय गर्न सकेका छैनौँ, लक्षित वर्गमा पनि पुर्याउन सकेका छैनौँ । अबको हाम्रो प्रयास भनेको युवा तथा महिलालाई आकर्षित गरेर उद्यमको विकास गर्ने नै हो । यसबाट कृषि क्षेत्रको वरिपरि अत्यन्तै धेरै उद्यमशीलताको अवसर सिर्जना हुनेछ । 

नेपालमा दुईतिहाइजति साना तथा मझौला उद्योग छन् । नेपालमा भएका मध्ये आधा उद्योग अनौपचारिक क्षेत्रमा छन् । धेरै उद्यमी अनौपचारिक हुँदा तपाईंहरुले राज्यमा गरेको योगदानबारे थाहा पनि हुँदैन । तपाईंलाई सहयोग गर्न राज्यले चिन्दा पनि चिन्दैन । आम्दानी गरेको भए कर लिएर राज्यले नयाँ व्यवसाय गरौँ भनेर पनि सक्दैन । त्यसैले, अहिले हामीले अनौपचारिकलाई औपचारिक गर्ने काम गरेका छौँ । 

नयाँ व्यवसाय गर्दा सफल हुनुभयो, या हुने क्रममा हुनुहुन्छ, हुँदै गर्दा कानुन पढनुभएन, ढंग पुर्याउनुभएन भने कानुनसम्मत ढंगले नगरेको कामले तपाईंलाई अप्ठेरो त पार्छ नै । कहीँ न कहीँ तपाईं कानुनको दायरामा आउनै पर्छ । आंशिक रुपमा मुनाफा भए पनि नयाँ किसिमले कुनै व्यवसाय गर्न खोज्नुभएको छ भने समस्या हुन्छ । राज्य पनि कानुनले नै हो चल्ने त । 

एकपटकको लागि मैले के व्यवस्था गरेको छु भने यदि तपाईंले झुुक्किएर, नजानेर कुनै किसिमले अनौपचारिक व्यवसाय गर्नुभएको छ भने, कर प्रणालीमा दर्ता भएर सम्बन्धित निकायबाट स्वीकृति लिनुभएको छैन भने अब औपचारिक हुनका लागि मौका छ । त्यसको फाइदा उठाउनुहोला । यो अवसरको सदुुपयोग गर्नुहोला । प्रणाली नबुुझेको तर असल मनसायले गरेको काम रहेछ भनेर राज्यले हेर्छ । 

नयाँसँग सीप हुँदैन, ‘सिड पुँजी’ हुँदैन । परिवारले मान्छ कि मान्दैन, यसले के गर्न लागेको हो भन्ने हुन्छ । २–५ लाखको अभावमा व्यवसाय गर्न सक्नुभएन भने, तपाईंको बिजनेस आउनेवाला छ भने, त्यसमा हामीले गर्नुपर्ने सहयोग गर्छौं । गत वर्षको बजेटमा च्यालेन्ज फन्ड आयो, कार्यान्वयन गर्न सकिएन । यो वर्ष कार्यविधि बनेको छ । त्यसलाई मन्त्रिपरिषद्बाट पास गरेर अर्को महिनाबाट कार्यान्वयनमा ल्याउँदै छौँ । त्यो फन्ड भनेको तपाईंलाई सरकारले थोरै पैसा दिँदा राम्रो काम गर्न सक्नुहुन्छ भनेर सिड मनी दिने हो । त्यसबाट प्रतिस्पर्धा गरेर जाने हो भने अवार्ड गर्न सक्छौँ । इनोभेटिभलाई सिड मनी दिन सकिन्छ । कार्यकारी पुँजीमा अनुदानको विषयमा थप छलफल गर्नुपर्छ । 

यो व्यवस्था सरकारले गरेको छ । यसमा बैंकले गर्ने काममा अनकानी भइरहेको छ । सुस्त भएको छ । स्वरोजगार कर्जादेखि शैक्षिक कर्जा, धितोकर्ता, महिला उद्यमी, भूकम्प पीडित कर्जा, कृषिबाहेक सबै सहुलियत कर्जामा खास काम भइरहेको छैन । अबको प्रयास ५ प्रतिशतभन्दा कम ब्याज तिरेर तपाईंले त्यो पैसा पाउनुपर्छ भन्ने हो । तपाईंले सिड पुँजीसँगै सुहुलियत ब्याजमा कर्जा पाउनुहुन्छ । यसले व्यवसाय अघि बढाउन सहयोग पुुग्छ । 

बैंकका साथीहरुलाई मेरो अनुरोध छ, तपाईंहरुको केही सामाजिक उत्तरदायित्व हुन्छन्, त्यसैले सहुुलियतपूर्ण कर्जा कार्यक्रमलाई सामाजिक उत्तरदायित्वको रुपमा लिनू भनेको छु । नैतिक दबाबले नपुुगे अरु दबाब पनि छन् । त्यो अपनाउन नपरोस् । सरकार हस्तक्षेप गर्न चाहँदैन । बैंकलाई स्वतन्त्र रुपमा चल्न दिँदै गर्दा पनि सम्झाउनुु त पर्ने नै रहेछ । बैंक तथा वित्तीय संस्थालाई १ प्रतिशत मात्रै सहुुलियतपूूर्ण कर्जा दिनू भनेको हो । ३० खर्बको १ प्रतिशत ३० अर्ब हुन्छ । त्यो ३० अर्ब ५ लाखको दरले बाँडे ६० हजार जनाले यो कर्जाको लाभ लिन सक्छन् । मलाई ६० हजार जनाको लिस्ट चाहिन्छ । म त्यसमा अनुुगमन गर्छु । 

होमस्टे चलाएर धेरै परिवार चलेका छन् । हामी पर्यटन वर्ष मनाउँदै छौँ । सहरमा आउने पर्यटकलाई गाउँ लाने कुरा गर्दै छौँ । म अलि बढी सहकारीलाई जोड दिन्छु । त्यो सामाजिक काम गर्ने संस्था हो । त्यसमा मुनाफाको न्यायिक वितरण हुन्छ । सहकारी मोडलको उद्यमलाई प्राथमिकतामा राखेका छौँ । २५ देखि ५० प्रतिशत अनुुदानको कुरा छ । तपाईंहरु मिलेर सहकारीको मोडलमा आउने हो भने सहुुलियत बढ्छ । यसले पुँजी निर्माण हुन्छ । राज्यले पनि तपाईंलाई सम्मान गर्छ । 

स्थायी लेखा नम्बर लिएर व्यवसाय गर्ने र नलिई गर्नेको बीचमा प्रतिस्पर्धा हुँदैन । फेयर बिजनेस गर्नेलाई अनफेरले समस्या नहोस् भन्ने अपेक्षा छ । सबैलाई मेरो अनुरोध– सहकार्य गरौँ । यो युवाको युुग हो । हामीले गर्ने सहयोग सदैव रहन्छ । 

(युवा परिपद्ले राजधानीमा आयोजना गरेको युवा उद्यमी सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाबाट प्रस्तुत वक्तव्यको सम्पादित अंश ।) 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्