टुँडिखेललाई पुनर्निर्माण गरी  व्यवस्थित गरिने

काठमाडौं– काठमाडौंको मुटुमा रहेको ऐतिहासिक महत्वको टुँडिखेललाई  व्यवस्थित गरी चिटिक्क बनाइने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले टुँडिखेल पुनःनिर्माण गर्ने भएपछि साँच्चिकै काठमाडौँको सुन्दरता बढ्ने र राष्ट्रिय कार्यक्रम गर्नसमेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

राष्ट्रियस्तरको कार्यक्रम सञ्चालन गर्न राजधानीमा उपलब्ध ऐतिहासिक धरोहरका रूपमा रहेको टुँडिखेललाई सुधार गर्ने क्रममा आधुनिक संरचना, नेपाली वास्तुकलासहित सैनिक मञ्चको क्षमता वृद्धि गरिनेछ । काठमाडौंकाे मध्यभागमा अवस्थित सामाजिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको टुँडिखेल मुलुककै गौरव हो ।

टुँडिखेलभित्र विसं २०१८ मा आधुनिक सैनिक मञ्च निर्माण गरिएको थियो । पुनःनिर्माणको क्रममा टुँडिखेल वरिपरि उद्यानसहितको ‘जगिङ ट्र्याक’ र महांकाल मन्दिरबाट पुरानो बसपार्क जाने आकर्षक लिङ्करोड र दक्षिणमा प्यारापिट बनाइनेछ । घोडेजात्रा, गणतन्त्र दिवस, संविधान दिवस, शिवरात्रि र फूलपाती बढाइँजस्ता कार्यक्रममा पहुँच असुविधा भएपछि टुँडिखेल वरपरका रुख र भवनका छतबाट जोखिम सहेर सर्वसाधारणले कार्यक्रम हेर्दै आएका छन् ।

टुँडिखेलको पुनःनिर्माण र उत्थानका लागि झन्डै ९० करोड आवश्यक पर्नेमा यस वर्ष वार्षिक बजेटमा पाँच करोड परेको नेपाली सेनाले जानकारी दिएको छ । पुनःनिर्माणलाई सेनाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा अघि बढाउने निधो गरेको बताइएको छ ।  

सैनिक मञ्चमा हाल कायम रहेको एक हजार ३ सय ६५ सिट संख्यालाई बढाएर तीन हजार ८० पुर्याउने, भूकम्पप्रतिरोधी परम्परागत नेपाली संरचना, अतिविशिष्ट व्यक्तिका लागि ‘बुलेटप्रुफ क्याबिन’, फरक क्षमताका व्यक्तिमैत्री भौतिक पूर्वाधार, सर्वसाधारणका लागि सहज पहुँच र भूमिगत पार्किङसम्बन्धी विषय टुँडिखेल तथा सैनिक मञ्च सुधार परियोजनामा समावेश गरिएकोे छ ।

अतिविशिष्ट व्यक्तिसमेत उपस्थित भइरहने तथा राष्ट्रिय कार्यक्रम हुने सैनिक मञ्चलाई साजसज्जासहित चिटिक्क र आधुनिक तुल्याउने कार्यक्रम अघि बढाइएको रक्षा मन्त्रालयका  सहायक प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिए । त्यहाँ लिफ्टसहितको व्यवस्था गरिने बताइएको छ ।



विसं १९९० अघि र पछिका ठूला भूकम्पमा राजधानीवासीलाई आश्रय दिँदै आएको टुँडिखेल सहरी क्षेत्रका नागरिकको लागि अहिले बिहान–बेलुका स्थास्थ्यलाभका लागि हिँड्डुल गर्ने थलोका रूपमा समेत प्रयोग भइरहेको छ । त्यसो त, पहिलो र दोस्रो विश्वयुद्धमा सहभागी हुन जाने नेपाली युवाले यसै टुँडिखेलमा अभ्यास गरेको इतिहास छ ।



  • प्रकाशित मिति : साउन ३१, २०७६ शुक्रबार १६:१२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया