पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन थालेको छ : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताप्रति पश्चात्ताप व्यक्त गरेका छन् । 

नेपाल प्रगतिशील चिकित्सक संघ र राष्ट्रिय चिकित्सक संघले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने  ‘कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन थालेको छ ।’ 

चित्त नबुझेका कतिपय कुरामा पनि निर्णय लिनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले कतिपय विषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको बताए ।

शुक्रबार नेकपा सचिवालय बैठकले ३३ विभागलाई पूर्णता दिएको थियो । अन्य विभागको नेतृत्व टुंग्याउन खासै समस्या नभए पनि नेकपामा स्कुल विभागको नेतृत्व कसले लिने भन्ने विषयमा लामो बहस भएको थियो । जुन पदका लागि पूर्वएमालेका तर्फबाट ईश्वर पोखरेल र पूर्वमाओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ मुख्य दाबेदार थिए । 

अन्ततः सो विभागको जिम्मेवारी ईश्वर पोखरेलले नै पाए । त्यति मात्रै होइन, एकतापछि दाहालसँग नजिक मानिएका वामदेव गौतम पनि पछिल्लो समय ओलीसँग निकट रहेको र सोही कारण ओलीको पहलमा उनलाई विधानमै नभएको उपाध्यक्ष पद सिर्जना गरेर जिम्मेवारी दिइएपछि प्रचण्डमा ग्लानी उत्पन्न भएको आकलन गर्न सकिन्छ ।  

उनले कम्युनिष्ट पार्टीका लागि अहिले अवसर र चुनौती रहेको बताउँदै सरकारको कामलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताए । चिकित्सा पेसालाई मानवतासँग जोडेर हेर्नुपर्ने उल्लेख गर्दै उनले अनि मात्रै समाजवाद उन्मुख देश बनाउन सकिने दाबी गरे । 





  • प्रकाशित मिति : साउन ३२, २०७६ शनिबार १४:७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया