गुल्मी– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकणमा सरकारका एक प्रमुख मन्त्रीले मुख खोलेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मृत फेलापरेका पुडासैनीले आत्महत्या गर्नुपूर्व पत्रकार रवि लामिछानेलगायतले आत्महत्या गर्न बाध्य पारेको भनेर लगाएको आरोपको भिडियोमाथि आशंका व्यक्त गरेका हुन् ।
‘त्यो भिडियोमा आफैँमा विरोधाभाष छ,’ नेपाल पत्रकार महासंघ गुल्मीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘भिडियो मैले पनि हेरेको छु, एक–आपसमा बाझिएको छ ।’
रवि लामिछानेलाई आरोप लागिसकेपछि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको बताउँदै उनले कानुनभन्दामाथि कोही पनि हुन नसक्ने बताए । मन्त्री ज्ञवालीले भने, ‘मरेको मानिसले कसैले आत्महत्या गर्न बाध्य पारेको भनेपछि सोधपुछका लागि प्रहरीले लगेको हो, सोधपुछ हुँदै छ निर्दोष भए फसाउने कुरै हुन्न । दोषी ठहरिए कानुनअनुसार कार्बाही हुन्छ ।’
मन्त्री ज्ञवालीले बालुवाटारको जग्गा खोजी गर्ने काम यसै सरकारले गरेको बताउँदै यसमा अख्तियारले अनुसान्धान थालेको र दोषी जो भए पनि कारबाही हुने प्रतिबद्धता व्यक्त गरे ।
ज्ञवालीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले हिंसा भड्काएर नांगो रुप देखाएको आरोप लगाउँदै प्रश्न गरे, ‘जनताको ठूलो बलिदानीबाट ल्याइएको गणतन्त्र उल्ट्याएर कुन व्यवस्था ल्याउन खोजेको हो ?’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।