Mon, 23 Sep, 2019


स्यान्काे : एउटा असफल पात्र, काठमाडाैंलाई लाेभ्याएकाे सफल स्वाद
फरकधार / भदौ १, २०७६

ज्ञान राई सन्न्यासी हुन सकेनन् ।



मात्र एक दिन । सिर्फ २४ घन्टा । तपाईंलाई बाँच्नु छ, एउटा अर्कै जीवन । 

सक्नुहुन्छ ? 

एक दिनका लागि मुख्यमन्त्री भएँ भनेँ, एक दिनका लागि मन्त्री भएँ भनेँ, एक दिनका लागि अर्बपति भएँ भनेँ, एक दिनका लागि प्रधानमन्त्री भएँ भनेँ, एक दिनका लागि त्यो ठिटीको ब्वायफ्रेन्ड भएँ भनेँ, एक दिनका लागि अमेरिकाको राष्ट्रपति भएँ भनेँ, एक दिनका लागि कश्मिरको जनता भएँ भनेँ, एक दिनका लागि पाकिस्तानी प्रधानमन्त्री भएँ भने वा एक दिनका लागि स्टिफन हकिङ्स भएँ भनेँ...

त्यसपछि यस्तो गर्थेँ र उस्तो गर्थेँ भन्ने नालीबेली थपिन्छ ।

साथीभाइबीच कहिलेकांही प्रश्न जन्मन सक्छ– एक दिनका लागि अरु कोही हुन पाइस् भने को हुन्छस्, कसको जीवन बाँच्न चाहन्छस् ? अनि कफी सपहरुमा जोक्सहरु जन्मिन्छन् ।

वा ट्याब्लोेइड पत्रिकाहरु आफ्ना ‘मनोरन्जन’ पेजका लागि गसिप भर्छन्, कुनै अभिनेता र अभिनेत्रीलाई हाइपोथेटिकल प्रश्न सोध्छन्– एक दिनका लागि अरु कोही हुन पाए को हुनुहुन्थ्यो ? 

तर, कसैले सोच्दैनन्, एक दिनका लागि जोगी भएँ भने ? एक दिनका लागि सन्न्यासी भएँ भने ? कि सोच्छन् ?

सोच्ने होइन, ज्ञान राईका लागि त एक दिनका लागि सन्न्यासी हुनुपर्ने चुनौति थियो । 

‘जाबो एक दिन,’ कसैले एक दिनका लागि सन्न्यासी भएर देखाउ त भनेपछि फ्याट्टै सोचेका थिए, ज्ञान राईले । 

त्यही ‘जाबो एक दिन’ले फेरिदियो ज्ञान राईलाई । 

उनी सन्न्यासी हुन सकेनन् ।

सन्न्यासी हुन ज्ञान राईले त्यो एक दिनका लागि नाम पाएका थिए– स्वामी स्यान्को । 

स्यान्को । 

अब यो नाम सन्न्यासी भनेर होइन, सहरमा काटी रोलको पयार्य बनेर धेरैको मुखमा झुन्डिन थालेको छ ।

हो, ज्ञान राईले एक दिनका लागि सन्न्यासी हुन नसकेपछि एक गुरुले दिएको यही नामलाई आफ्नो व्यवसायमा ल्याएर जोडे ।

व्यवसायको त्यो जोडघटाउ केही दिनअघि फरक धारको कार्यालयमा ज्ञान राईले सम्झिए ।

यो २०५१ सालको कुरा हो । ज्ञान राईले एसएलसीको परीक्षा दिएर यत्तिकै बसेका थिए । घरमा बाबु, काका, दाजुभाइ सबैको जोड सेनामा जाने थियो । ज्ञान राई यी सबैमा अपवाद निस्किए । 

‘मेरो पढाइ तुलनात्मक रुपमा राम्रै थियो,’ ज्ञान राई हाँसे, ‘मलाई घरमा लाहुरे हुन जानेभन्दा पढाइमा नै ध्यान दिने कुरा भयो, म काठमाडौं आएँ ।’

एसएलसीपछि काठमाडौं आउनुअघि भारतीय सेनामा भर्ना भएका आफ्ना दाइलाई भेट्न त्यो बीचमा ज्ञान राई कलकत्ता पुगेका थिए । त्यहाँ पनि उनका दाइले ज्ञानलाई पढाइमै फोकस गर्न सल्लाह दिए । 

ज्ञान फर्किएर खोटाङ पुगे, त्यहाँबाट काठमाडौं हानिए । 

जुन वेगमा पढेर ‘केही बन्ने’ उद्देश्य लिएर ज्ञान खोटाङबाट काठमाडौं आएका थिए, त्यही गतिमा उनको यात्रा काठमाडौंका गल्लीहरुमा हुन सकेन । त्रिचन्द्र कलेजमा फिजिक्स, केमेस्ट्री र म्याथमेटिक्समा पनि उनले त्यही स्पिड समात्न सकेनन् । 

काठमाडौंमा छोरो पढ्दै छ भनेर खोटाङबाट बाबुले खर्च पठाउन कन्जुस्याइँ गरेनन् । तर, यता ज्ञानले बाबुले पठाएको त्यो पैसा कलेजमा बुझाएनन्, काठमाडौंमा ‘हल्लिँदै’ त्यो खर्च गरे । 

ज्ञान कलेज जान छोडेर काठमाडौंमा ‘हल्लिन’ थालेका त थिए तर उनको भित्री मन पोल्न थालेको थियो । सँगैका साथी विदेश गइरहेका थिए, जागिर खाइरहेका थिए वा आफ्नो कुनै व्यवसाय गरिरहेका थिए । 

हल्लनदास मात्र थिए, ज्ञान । 

आठ वर्ष काठमाडौंमा यत्तिकै बिताए, ज्ञान राईले । यत्तिकैको अर्थ के होइन भने उनले केही पनि सोचेनन्, जीवनका लागि एउटा निश्चित योजना बनाइरहे । 

२०५९ सालमा ज्ञानले निर्णय गरे– अब व्यवसाय सुरु गर्छु । 

एक दिन उनी बानेश्वरमा हिँडिरहेका थिए । अहिलेको संसद भवनअगाडि एउटा प्यासेज देखे, खाली । त्यो भवन एउटा डिपार्टमेन्टल स्टोर थियो । त्यसको एउटा सटर खाली देखेपछि उनले त्यहाँ नै व्यवसाय गर्ने सोच बनाए । 

बुझ्दै जाँदा थाहा पाए, त्यो भवन त सरकारी रहेछ । 

उनले त्यसलाई भाडामा लिने प्रक्रिया अगाडि बढाए । सरकारी भवनका हाकिमले त्यसलाई स्वीकार गरे । 

अनि उनले त्यहाँ काटी रोल बेच्न थाले ।

 

काठमाडौंमा खाजाका रुपमा त्यति बेला काटी रोलको प्रचलन आइसकेको थिएन । काठमाडौंमा एउटा काटी रोल बनाउने रेष्टुरेन्ट थियो, जसले आफ्नो सप्लाई राज परिवारमा गथ्र्यो । 

यता, ज्ञानले पनि त्यही काटी रोल बनाएर बेच्ने भए । 

काठमाडौंले नपाएको यो स्वाद ज्ञानले कलकत्तामा पाएका थिए । 

‘एसएलसीपछि खाली हुँदा दाइलाई भेट्न इन्डिया गएको थिएँ,’ ज्ञानले सम्झिए, ‘त्यहाँ पहिलो पटक काटी रोल खाँदा स्वाद निकै मीठो लागेको थियो ।’ त्यही स्वादलाई काठमाडौंमा प्रवेश गराए ज्ञानले । 

‘मलाई काठमाडौंमा नयाँ बिजनेस सुरु गर्न मन थियो,’ ज्ञानले सम्झिए, ‘काटी रोल काठमाडौंमा पाइँदैनथ्यो, त्यसैले त्यसलाई छानेँ ।’

यसका लागि घरबाट पैसा मगाए ज्ञानले । तर, झुट बोलेर । ‘नयाँ खाना बेच्न लागेको हो भनेको भए सायद घरबाट पैसा पाउँदिनथेँ,’ ज्ञानले भने, ‘म यता काटी रोल चल्छ भन्ने कुरामा निश्चित थिएँ ।’

त्यति बेला ज्ञानले आफ्नो काटी रोलको नाम राखेका थिए– क्विक बाइट काटी रोल ।

हो, सबै व्यवसायमा सुरुमा बनाएको योजनाअनुसार अगाडि बढ्न नसकिने पनि हुनसक्छ । तर, काटी रोल बेचेर पैसा कमाउँछु भन्ने जुन योजना ज्ञानले बनाएका थिए, त्यो सफल भयो । उनको व्यापार राम्रो हुन थाल्यो । 

ज्ञानले सुरुवाती दिनमा काटी रोलमात्र बेचेनन्, मानिसहरुलाई त्यो कसरी बन्छ, कसरी समाउने र कसरी खाने भन्नेबारे पनि जानकारी दिन थाले । 

‘आइ वाज रियल्ली एक्साइटेड,’ ज्ञानको अनुहारमा त्यो एक्साइटमेन्ट अहिले पनि झल्किन्छ, ‘म निकै उत्साही भएर अगाडि बढेँ ।’

त्यो उत्साहका साथसाथै ज्ञानका लागि अनेक चुनौति थिए । जस्तो कि, उनले पसल राखेको ठाउँको भाडा कसरी तिर्ने भन्नेबारे राम्रो सम्झौता गरेका थिएनन्; उनले काटी रोल बनाउने मान्छे पाएका थिएनन्; उनले हिसाबकिताब राम्रोसँग राखेका थिएनन्; यो व्यवसाय ठूलो हुनेछ भन्ने उनले विश्वास लिएका थिएनन् । 

तर, उनले नसोचेका कुराहरु हुँदै गए । व्यवसाय राम्रो हुँदै थियो, ज्ञानले कल्पना नगरेको एउटा घटनाको साक्षात्कार गर्नु पर्यो । 

‘२०६४ सालको अन्त्यतिरको कुरा हो,’ ज्ञानले लामो सास फेरे, ‘मेरो पसलमा काम गर्नेहरुबीच झगडा भयो ।’

र, त्यहाँ काम गर्ने एकजनाको मृत्यु भयो । 

त्यसपछि उनको जीवनमा ठूलो फेरबदल आयो । उनका दिनहरु क्विक बाइट काटी रोलमा होइन, प्रहरी कार्यालयमा बित्न थाले । उनको पसल चलिरहेको थियो, तर ज्ञानको मनले स्थिर हुन सकेको थिएन । 

‘म विक्षिप्त भएको थिएँ,’ उनले भने, ‘घटनामा जसको मृत्यु भयो, उनी हाम्रै गाउँका एकजना दाइ थिए । त्यसैले पनि निकै हडबडाइरहेको थिएँ ।’

एक वर्ष बित्यो । 

ज्ञानलाई एकजना साथीले सल्लाह दिए– सतुङ्गलमा एकजना गुरु हुनुहुन्छ, गएर भेट्नु । 

ज्ञानलाई मनको शान्ति चाहिएको थियो । उनले साथीको यो सल्लाहलाई स्वीकार गरे । 

‘स्वामी आचार्य श्री पथिकलाई भेट्न म गएँ,’ ज्ञानले भने, ‘साथीले भनेको जस्तै मेरो मन विस्तारै शान्त हुँदै गयो, स्वामीका कुराले ममा हराएको मणि वापस आइरहेको जस्तो आभास भयो ।’

स्वामी आचार्य श्री पथिकले नै हो, ज्ञानलाई एक दिनका लागि सन्न्यासी भएर देखाउ भन्ने आदेश दिएका । 

‘जाबो एक दिन,’ स्वामीले एक दिनका लागि सन्न्यासी भएर देखाउ त भनेपछि फ्याट्टै सोचेका थिए, ज्ञान राईले । 

तर, उनले हारे । उनी सन्न्यासी हुन सकेनन् । 

‘मैले गुरुसामु आफ्नो हार स्वीकार गरेँ,’ ज्ञान हाँसे, ‘एक दिन पनि मैले सन्न्यासीको जस्तो जीवन बाँच्न सकिनँ ।’

त्यही एक दिनका लागि ज्ञानले पाएको नाम हो, स्वामी स्यान्को । 

ज्ञान सन्न्यासी हुन सकेनन्, उनको नाम उनलाई काम लागेन । 

तर, यही नामलाई ल्याएर उनले जोडिदिए काटी रोलको व्यापारमा । 

२०६७ सालमा स्यान्को काटी रोल भनेर ज्ञानले खोले, जावालाखेलमा दोस्रो शाखा । 

अहिले त स्यान्कोका २० भन्दा धेरै शाखा मात्र भइसकेका छन् । कतिपय चाहिँ उनले बेचेको फ्र्यान्चाइजी हुन् । 

‘उपत्यकामा मात्र होइन,’ ज्ञानले भने, ‘अब स्यान्को हेटौंडा, विराटनगर, धरान, पोखरा, बुटवल हुँदै अष्ट्रेलियाको सिड्नीसम्म पुग्ने लक्ष्यमा छ ।’

एक दिनका लागि सन्न्यासी हुन नसकेका ज्ञान अब व्यवसायमा चाहिँ सफल हुँदै गएका छन् । आखिर यसलाई के कुराले ड्राइभ गर्यो त ? 

‘आँट, भरोसा, अनुशासन तथा निरन्तरताले,’ ज्ञानले खरर भने, ‘यो सहज हो, मेरो सुत्र त्यस्तो अनौठो पनि होइन ।’

ज्ञानले आफूमा नयाँ भए पनि काठमाडौंमा काटी रोल बेच्न सक्छु भन्ने आँट लिए, त्यसपछि त्यो आँटमा भरोसाको इँटा थपे । 

अब व्यवसायको जग तयार भयो । त्यसमा उनले थप्दै लगे, पिलरहरु । एउटा थियो, अनुशासन । ज्ञान आफ्नो व्यवसायमा कति अनुशासित छन् भने अहिले फ्रेन्चाइजी बेचेका ठाउँहरुमा उनी आफैं पुग्छन् र तालिमको व्यवस्था गर्छन् । 

र, यसलाई निरन्तर अगाडि बढाइरहेका छन् उनले । 

‘निरन्तरता सबैभन्दा ठूला कडीमध्येको एक रहेछ,’ ज्ञानले बुझेका छन्, ‘१८ वर्ष लगातार काम गरेकाले अहिले म यो ठाउँसम्म आएको हुँ, यी सबै अनुभवले मलाई यहाँ पुर्याएको हो ।’

अहिले काठमाडौं उपत्यकामा मात्र ज्ञानको स्यान्को काटीले ७ सय देखि १२ सयवटासम्म रोल बेच्छ । 

एउटा रोललाई ८५ रुपैयाँमा बेच्न सुरु गरेका ज्ञानले यसको मूल्यमा खासै ठूलो अन्तर ल्याइसकेका छैनन् । अहिले स्यान्कोमा एउटा रोलको सरदर १ सय २० रुपैयाँ पुगेको छ । रोललाई डबल बनाउने हो भने त्यसको मूल्य फरक पर्न सक्छ । 

 

ज्ञानसँग जीवनमा अनेक विकल्पहरु देखिँदै आए । 

उनी टिन एजमा नै लाहुरे हुन सक्थे । बाबु, काका, दाइ, भाइ सबै लाहुरे भएको परिवारमा उनले फरक सपना बनाए, पढ्ने । 

उनी साँच्चिकै पढेर राम्रो प्रोफेसर हुन सक्थे, वा कतै रिसर्च साइन्टिस्ट हुन सक्थे वा कतै शिक्षक भएर जीवन बिताउन सक्ने अवस्था पनि थियो । 

तर, उनले पढाइलाई निरन्तरता नै दिएनन् । 

व्यवसाय नै सुरु गरिसकेपछि पनि ज्ञान बीचमा सन्न्यासी हुन सक्थे, जीवनलाई त्यही बाटोमा डोर्याउन सक्थे ।

एक दिनका लागि त उनलाई सन्न्यासी भएर देखाउनू भन्ने निर्देशन नै पनि थियो । 

तर, उनी भएनन्, सन्न्यासी । 

बरु एक दिने सन्न्यासी हुनका लागि पाएको उनको नाम एउटा ब्रान्ड बनेको छ, स्यान्को । 

स्यान्को अर्थात् काटी रोल । काठमाडौंका लागि एउटा मीठो स्वाद । ज्ञानका लागि सन्न्यासी नभएर आफूले छोडेको एउटा नाम !


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्