ढाकाको पुरानो बस्तीमा आगो लाग्दा १५ हजार घर जले, किन पिरोलिरहन्छ ढाकालाई आगोले ?

ढाका– बंगलादेशको राजधानी ढाकास्थित एक पुरानो, बाक्लो बस्तीमा भएको आगलागीले ५० हजार मानिसलाई घरविहीन बनाएको छ । बिबिसीका अनुसार, गएराति ढाकाको चलानटिका बस्तीमा लागेको आगोले १५ हजार घर जलाएको छ । 

अधिकारीहरुले भनाइमा बस्तीका कतिपय घरमा प्लास्टिकका छाना थिए, जसका कारण आगो एकदमै छिटो फैलियो । आगलागीबाट कसैको मृत्युको खबर छैन । घाइते भएका भने थुप्रै छन् । 

बस्तीका अधिकांश बासिन्दा निम्न आयस्तर भएका मुस्लिम समुदायका छन् । आगलागीका बेला गाउँबाहिर छरिएकामध्ये पनि सबैजसो मानिस बकर इद मनाउन मूलघर पुगेका थिए । 

आगलागीको कारणबारे अनुसन्धान भइरहेको स्थानीय प्रशासनले जनाएको छ । ढाका नर्थ सिटी कर्पोरेसनका मेयर अतिकुल इस्लामले अग्निपीडितहरुलाई तत्कालका लागि अस्थायी शिविरमा राखिएको र छिटै उनीहरुका लागि आवासको व्यवस्था गर्ने बताएका छन् । 

किन भइरहन्छ ढाकामा आगलागी ?

आगलागीका हिसाबले ढाका विश्वकै उच्च खतरायुक्त सहर मानिन्छ । यहाँ बेलाबखत आगलागी भइरहन्छ ।  राजधानी ढाका नजिकैको निम्तोलीमा सन् २०१० मा भएको भीषण आगलागीमा १२३ जनाको मृत्यु भएको थियो ।



नोभेम्बर २०१२ मा ढाकाको एक नौ तल्ले तयारी पोशाक कारखानामा आगलागी हुँदा १११ जना कामदारको मृत्यु भएको थियो । अनुसन्धानका क्रममा आगलागी हुँदा बाहिर निस्कन बनाइएका आपतकालीन ढोकाहरु चाबी लगाएर बन्द गर्ने गरिएको वा त्यस्ता ठाउँमा सामान भण्डार गर्ने गरिएको पाइएको थियो । 

गत फागुनमा ढाकाकै एक साँघुराे गल्ली रहेकाे पुरानाे अपार्टमेन्टमा आगाे लाग्दा ७० जनाभन्दा बढीकाे ज्यान गएकाे थियाे । गैरकानुनी रुपमा राखिएको रसायन बिस्फोट हुँदा उक्त अपार्टमेन्टमा भीषण आगलागी भएको थियो । लगत्तै,मध्य चैतमा ढाकाकै एक २२ तले टावरमा आगाे लाग्दा २५ जनाकाे ज्यान गएकाे थियाे । 



ढाकाको विश्वकै सबैभन्दा धरै जनघनत्व भएका सहरमध्ये एक हो । ३०० वर्गकिलोमिटरको ढाका सहरमा मात्रै झन्डै एक करोड मानिसको बसोवास छ । सहर मात्र नभई सहर वरपरका बस्तीहरु पनि निकै अस्तव्यस्त छन् । 

अस्तव्यस्त सहर, साँघुरा गल्लीमा ठुल्ठूला बिल्डिङ र एउटै बिल्डिङलाई आवासीय र व्यावसायिक दुवै प्रयोजनमा प्रयोग गर्न दिने नीतिका कारण यहाँ आगलागी तथा अन्य दुर्घटनाको जोखिम ज्यादै उच्च छ । कमजोर ‘प्रकोप तथा दुर्घटना सुरक्षा’लाई लिएर बंगलादेश पटकपटक आलोचित पनि हुँदै आएको छ ।

सन् २०१२ को एक अध्ययनले बंगलादेशका गगनचुम्बी भवनहरुमा आगलागी नियन्त्रणको पर्याप्त व्यवस्था नगरिएको देखाएको थियाे । त्यसबेला बंगलादेश विश्वविद्यालयले ढाकास्थित ११२ वटा भवनको अध्ययन गरेर तयार पारेकाे रिपाेर्टमा मात्र दुईवटा भवन सुरक्षित देखिएकाे उल्लेख छ । 

घना बस्ती भएका पुराना कोलोनी, त्यसमाथि प्लास्टिक र केमिकलका फ्याक्ट्री तथा गोदामले भरिएका कारण यहाँ छिटै आगो फैलने र आगलागीले भीषण रुप लिने गरेका छन् । 

  • प्रकाशित मिति : भदौ १, २०७६ आइतबार १९:५४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया