छोरीको बिहेमा ८० पेजको निम्तोपत्र !

नयाँदिल्ली– साधारणतया निम्तोपत्रमा उत्सवको विधि, मिति र स्थानको जानकारी राखिन्छ । यसका लागि एक–दुई पेजभन्दा बढी आवश्यक हुन्न । 

तर, भारतका एक प्रोफेसरले भने छोरीको बिहेमा ८० पेज लामो निम्तोपत्र छपाएका छन् । सुन्दा अचम्म लाग्छ, प्रश्न उठ्छ मनमा– आखिर के लेखे होला उनले त्यति लामो निम्तोपत्रमा ? 

मध्यप्रदेशको इन्दोर सहरका प्रोफेसर पंकज कोठारीले छोरी लब्धिको बिहेमा आफन्तजनलाई निम्तो मात्र दिएनन्, १४ अध्यायको ‘जीवन मन्त्र’ पनि दिए । ८० पेज लामो निम्तोपत्रमा उनले जीवनमा सन्तुलन कायम गर्न, सम्बन्धलाई सम्हाल्न र बचाइराख्नका लागि १४ वटा ‘जीवन मन्त्र’ समेटेका हुन् । हरेक मन्त्रलाई विस्तारमा बयान गरेर उनले अध्यायको रुप दिएका छन् । 

प्रोफेसर पंकजले यो निम्तोपत्र ५०० जनालाई बाँडे । निम्तोपत्रलाई उनले ‘सम्बन्धमा मिठास अब सम्भव छ’ शीर्षक दिएका छन् । व्यावहारिक विचार समेटिएको यो मिम्तो पुस्तिकाको लागत प्रतिपुस्तिका ३५ भारतीय रुपैयाँ परेको उनले बताएका छन् । 

निम्तोपुस्तिकाको औचित्यबारे भारतीय सञ्चारकर्मीमाझ पंकजले भने कि बिदाइपछि छोरीको सुखमय जीवनको कामना मातापिताको सबैभन्दा ठूलो आकांक्षा हुन्छ । स–सानो कुराले जीवनमा ठूलो परिवर्तन ल्याइदिन्छ । व्यवहारमा परिवर्तन ल्याएर त्यसलाई रोक्न सकिन्छ ।

यस्तो जानकारीले छोरी मात्र नभई समाजमा अन्यलाई पनि लाभ होस् भनेर निम्तोपत्रलाई पुस्तिकाको रुप दिएको उनी बताउँछन् । पत्रिकाको तुलनामा पुस्तक घरमा लामो समयसम्म सुरक्षित रहने हुनाले उनले यसलाई पुस्तिकाको रुप दिएका हुन्  । 



निम्तो पुस्तिकामा प्रोफेसर पंकजले ‘स्वीकार्यता’देखि ‘क्षमायाचना’सम्मको बयान गरेका छन् । प्रत्येक शीर्षकबारे पहिले एक वाक्यमा आफ्नो दृष्टिकोण दिएका छन्, पछि विस्तारमा बयान गरेका छन् । 

स्वीकार्यता : मानिस जस्तो छ, उसलाई उस्तै स्वरुपमा स्वीकार गरौँ । 



गल्ती : मानिस होइन, उसको काम गलत हुन्छ । 

दृष्टि : मुद्दा वा विषयवस्तुलाई अरुको नजरबाट पनि हेरौँ । 

चयन शक्ति : प्रतिक्रिया दिँदा चयन शक्तिमा ध्यान राखौँ । 

कटुता : कटुता/रुखोपनलाई विसर्जन गरौँ । 

स्वतन्त्रता : मानिसलाई ‘स्पेस’ दिऔँ । स्वतन्त्रता सबैलाई प्यारो हुन्छ । 

परिपक्वता : सम्बन्ध समयसँगै परिपक्व हुँदै जान्छ । 

परिवर्तन : समयसँगै सम्बन्धमा हुने परिवर्तनका लागि सधैँ तयार रहौँ । 

सही संवाद : तौलेर बोलौँ । 

कृतज्ञता : मानिसका लागि कृतज्ञताको भाव राखौँ । 

शक्तिमय वर्तमान : वर्तमानमा रह्यौँ भने सधैँ जाग्रत रहन्छौँ । 

कर्मको सिद्धान्त : सम्बन्धलाई सशक्त बनाउनमा अध्यात्मको सहायता लिऔँ । 

मिठासको मन्त्र : ‘प्रेम’को अढाई अक्षर । 

क्षमा याचना : जीवन सम्हाल्ने/सजाउने महामन्त्र । 

  • प्रकाशित मिति : भदौ २, २०७६ साेमबार २२:५८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया