Thu, 21 Nov, 2019


कमनरकाे कथा
सेवलराम चमारः जसकाे गुनासाे छैन जीवनप्रति
फरकधार / भदौ ३, २०७६

सेवलराम चमारसँग सुनाउनु पर्ने कुनै कथा छैन । 



केही दिनअघि पुतलीसडकस्थित शंकरदेव कलेजको छेवैमा भेटिएका सेवलरामले सुरुमै भने, ‘मेरो कुनै कथा छैन, सुनाउनु पर्ने केही छैन ।’

हुन पनि सेवलरामको जीवनमा त्यस्ता ‘ट्विस्ट एन्ड टर्न्स’ छैनन् जति उनी आफैं जुत्ता सिलाउँदा धागोलाई घुमाउँछन् । अर्थात्, सेवलराम शंकरदेव कलेजको छेवैमा बसेर जुत्ता सिलाउँदै, पालिस गर्दै आफ्नो जीवनको ‘व्यवस्थापन’ गरिरहेका छन् ।

त, सेवलरामको कथा सुरु हुन्छ महोत्तरीबाट । 

५६ वर्षअगाडि महोत्तरीमा जन्मिएका सेवलरामले सानैदेखि मरेका वा मारिएका गाइभैंसीको छाला निकाल्ने र त्यसलाई ‘रिफाइन’ गर्ने काम सुरु गरे । यो खासमा उनका बाबुआमाको पेशा थियो । त्यही पेशालाई उनले पनि आफ्नो जीवनमा अपनाउने भए, महोत्तरीमा हुँदासम्म त्यही काम गरे । 

एक साँझ उनको र गाउँकै एकजना साथीको कुरा भयो । 

साथीले सेवलरामलाई भने– काठमाडौं जाऔँ, त्यहाँ धेरै काम पाइन्छ । 

यो २०५३ सालको कुरा हो । सेवलरामका ती साथीले त्यति बेला काठमाडौंमा ज्यामी काम गर्थे । घर महोत्तरी फर्किँदा उनको सान ‘लाहुर’बाट फर्किएको जस्तै हुन्थ्यो । यसबाट पनि लोभिएका थिए सेवलराम । 

ती साथीको क्रेजले तानेपछि सेवलरामले भने, ‘हुन्छ जाऔँ काठमाडौँ ।’

‘हाम्रो परिवार गरिब थियो, म परिवारलाई पुग्ने पैसा कमाउन चाहन्थेँ,’ सेवलरामले भने, ‘साथीको कुराले म लोभिएँ, काठमाडौं आएँ ।’

काठमाडौंमा त्यही महोत्तरीको साथीसँग काम गर्न थाले सेवलरामले । ‘त्यो काम त बहुत गाह्रो हुँदो रहेछ,’ सेवलरामले भने, ‘काठमाडौं आइसकेको थिएँ, के गर्ने नगर्ने भयो । अनि आफ्नै काम जुत्ता सिलाउने तिर लाग्ने भएँ ।’

त्यसपछि शंकरदेवको छेवैमा जुत्ता सिलाउन थाले, सेवलरामले । २३ वर्षसम्म उनी यही एउटा ठाउँमा बसिरहेका छन् मानौँ उनका लागि अब त यो स्थायी ठेगाना भइसकेको छ । 

बेलाबेलामा सेवलरामलाई विदेश जाने प्रस्ताव पनि आए, गाउँ फर्किने प्रस्ताव पनि आए । तर, उनले फर्किने मुड बनाएनन् । ‘विदेश जान पैसा थिएन,’ उनले भने, ‘गाउँमा गएर के गर्ने, गाउँमा काम थिएन ?’

गाउँमा किन काम देखेनन् सेवलरामले ?

किनकि उनी दलित समुदायका हुन् । र, उनलाई थाहा छ, उनले चिया पसल खोले कसैले उनले छोएको खाँदैनथे, उनले किराना पसल खोले, कसैले त्यहाँबाट सामान किन्दैनथे, उनले खेती गरे, उनले छोएको तरकारी बिक्री हुँदैनथ्यो, बाख्रा वा खसी पाले, कसैले किन्दैनथे । 

‘त्यही भएर गाउँ नजाने भएँ,’ सेवलरामले भने, ‘धाराबाट आफूले मन लाग्दा पानी भर्न पाइँदैन हजुर हाम्रो टोलमा, अरु के गर्न सकिन्छ र ?’

झट्ट सुन्दा यो विश्वास नलाग्न सक्छ । देशमा यति ठूलो आमूल परिवर्तन हुँदा पनि के हाम्रा तराईका गाउँमा अझै यस्तो विभेद छ ? काठमाडौंमा वा अन्य सहरमा बस्नेहरुलाई लाग्दो हो, हामीले चिया पसल कसको हो भनेर कहिल्यै नसोधी चिया पिउन जान्छौँ त !

तर, सेवलरामले आफ्नै जीवनमा यस्तो विभेद देखेका छन्, सहेका छन् । 

नत्र त उनी पनि श्रीमती र छोराछोरीसहित गाउँमै बस्ने थिए । जेनतेन यही पेशाबाट भएको आम्दानीले सेवलरामले छोराहरुलाई पढाए, तर अहिलेसम्म उनीहरुले कुनै काम पाएका छैनन् । 

‘जेठो छोराले बिए सकिसक्यो,’ सेवलरामले भने, ‘कान्छो १२ कक्षामा पढिरहेको छ, तर उनीहरुले कुनै काम पाएका छैनन् ।’ आश त सेवलरामलाई छोराहरुले जागिर पाएमा गाउँ फर्किएर काम नगरि बसौँला भन्ने छ । 

कहिले पूरा होला उनको यो सपना ? 

‘पूरा हुँदैन हजुर,’ सेवलरामले अरुका जुत्तामा पालिस लगाउँदा लगाउँदै कालो भइसकेको उनको हत्केला निधारमा पुर्याए, पसिना पुछे । उनको निधारमा पालिसको कालो धर्को प्रस्ट देखियो । ‘हाम्रा छोराले जागिर पाउन सोर्सफोर्स लगाउनु पर्छ,’ अनि उनले भने, ‘म जुत्ता सिलाउनेको कहाँबाट सोर्सफोर्स हुनु ?’

काम र मान्छे हेर्दा सेवलराम खासै बोल्छन् जस्तो नलाग्न सक्छ । तर, उनी आफ्ना कुरा प्रष्ट राख्न सक्छन्, समाजमा भएको विभेदको पनि उनलाई राम्रो ज्ञान छ । त्यसैले त उनी भन्छन्, ‘यो सरकारले कहिल्यै हामीलाई नागरिकको जस्तो व्यवहार गरेन ।’

खासमा सरकारले के गरोस् भन्ने चाहन्छन् त सेवलराम ? 

‘अरु केही पर्दैन, हामीलाई पनि नागरिकको जस्तै व्यवहार गरिदिए पुग्छ राज्यले,’ उनले खुलेर कुरा गरे, ‘हामीले अहिले सडकमा बसेर काम गरिरहेका छौँ, हाम्रा लागि सरकारले केही व्यवस्था गरिदिनु पर्छ ।’

उनलाई त लाग्छ, सरकारले यसरी सडकमा बसेर काम गर्नेहरुका लागि एउटा छुट्टै स्थान बनाइदिओस् । होइन, सरकारले यस्तो गर्न सक्दैन भने सेवलरामहरुका लागि सटर लिन सक्ने वातावरण बनाइदिओस् । 

‘अहिले त यहाँ बसेर काम गरेर दुई पैसा बचाउँदा, दुई किलो धुलो खानुपर्छ,’ उनले भने, ‘एक किलो यताबाट, एक किलो यताबाट ।’ यसो भन्दा सेवलरामले आफ्नो अनुहार एक लट दायाँतिर र अर्कोपटक बायाँतिर घुमाए । 

यतिमात्र होइन, सेवलरामलाई यहाँ काम गरिरहँदा महानगरपालिकाको पनि उत्तिकै डर छ । ‘महानगरपालिका आएर हामीसँग भएको यो सब उठाएर लैजान्छ,’ उनले आफ्नो अगाडि ओच्छ्याएको थैलो र सामान देखाउँदै भने, ‘यति सानो काममा पनि त्यति ठूलो महानगरले आँखा लगाउँछ ।’

त्यसमाथि पछिल्लो समय काठमाडौंको महंगी बढेकोमा उनलाई ठूलो चिन्ता छ । ‘अहिले त तुना किन्दा पनि निकै पर्छ, पालिसको मूल्य पनि निकै बढिसक्यो,’ सेवलरामले अनुभव गरेका छन् । 

त्यसो त, सेवलरामले अहिले जुत्ता पालिस गर्दा पहिलेको भन्दा दश गुणा बढी लिन्छन् । ‘पहिले पाँच रुपैयाँमा जुत्ता पालिस गर्थेँ,’ उनी हाँसे, ‘अहिले पचास रुपैयाँ आउँछ । तर, आम्दानी जति बढेको छ त्यसको दुई गुणा महंगी ।’

अहिले सेवलराम प्रति दिन औसतमा ५ सय रुपैयाँ कमाउँछन् । त्योमध्ये केही आफ्ना लागि खर्च गर्छन् र केही प्रत्येक महिना नै घर पठाउँछन् ।

प्रत्येक विहान सात बजे सेवलरामले काम सुरु गर्छन् । हरेक साँझ सात बजे उनको ‘दोकान’ बन्द हुन्छ । बीचमा आफैं कोठामा गएर विहानको खाना पकाएर खान्छन् सेवलराम । 

बेलाबेलामा छोरा र श्रीमती भेट्न गाउँ जान्छन् सेवलराम । उनले उनीहरुलाई काठमाडौंमा चाहिँ कहिल्यै बोलाएका छैनन् । ‘मेरा छोरा र श्रीमतीले काठमाडौं देखेकै छैनन्,’ उनले भने । 

अब दशैंमा गाउँ जाने योजना बनाएका छन्, सेवलरामले । ‘दशैं मनाएर फेरि काठमाडौंमा जुत्ता सिलाउन आउँछु,’ उनले भने । 

यी सब कुरा छोडेर अहिले सेवलराम के कुरामा चिन्तित छन् भने छोराहरुले अब कसरी आफ्नो जीवन कटाउँछन् । ‘मैले त छाला झिकेँ, जुत्ता सिलाएँ,’ उनीसँग यसको तर्क छ, ‘अब छोराहरुले पढेका छन्, यस्तो काम गर्दैनन्, पढेअनुसारको काम पाउँदैनन् ।’

यो सब हुँदहुँदै पनि सेवलरामको एउटै कुरा छ जसले उनलाई परिभाषित गर्न सक्छ । 

त्यो हो– उनको जीवनसँग कुनै गुनासो छैन । 

जीवन भनेको के रहेछ त ? 

यो प्रश्न सुन्नेवित्तिकै सेवलरामले हाँस्दै भने, ‘जीवन भनेको धेरै गाह्रो रहेछ, संघर्ष रहेछ ।’

मानिसहरुलाई लाग्न सक्छ, एउटा सामान्य मान्छेले जीवन के हो भन्ने बुझ्न सक्दैन, बुझेको हुँदैन । तर, होइन, सेवलरामहरुको पनि आफ्नै जीवन हुन्छ, आफ्नै बुझाइ हुन्छ । 

त्यसैले त उनी भन्छन्, ‘जीवन जे भए पनि म जे छु, ठिकै छु । मेरो कुनै गुनासो छैन, सन्तुष्ट छु ।’

उनले कुराकानीको सुरुमा पनि भने र अन्तिममा पनि भने, ‘मसँग सुनाउनका लागि कुनै कथा छैन, मेरो जीवनसँग म सन्तुष्ट छु ।’


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्