अधुरै रह्यो ट्रम्पको 'ग्रिनल्यान्ड' किन्ने रहर

वासिंगटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डेनमार्कसँग दुनियाँकै ठूलाे टापु 'ग्रिनल्यान्ड' किन्न चाहन्थे । यसै विषयमा छलफल गर्न उनले डेनिस प्रधानमन्त्री मेट फ्रेडरिक्सनसँग बैठक तय गरेका थिए । तर, डेनिस प्रधानमन्त्रीले ग्रिनल्यान्ड बेच्ने विषयमा कुरै नगर्ने बताएपछि राष्ट्रपति ट्रम्पले दुई सातापछि हुन लागेको बैठक स्थगन गरेका छन् । 

मंगलबार साँझ (अमेरिकी समयअनुसार) एक ट्विट गर्दै राष्ट्रपति ट्रम्पले डेनिस प्रधानमन्त्री फ्रेडरिक्सनसँगको बैठक अर्को कुनै दिनका लागि सारेको उल्लेख गरेका छन् । ‘प्रधानमन्त्री मेट फ्रेडरिक्सनका अभिव्यक्तिहरु हेर्दा उनमा ग्रिनल्यान्ड खरिद–बिक्रीका विषयमा छलफल गर्न सायद कुनै रुचि छैन । म दुई सातापछिका लागि तय गरिएको हाम्रो बैठक अन्य कुनै समयका लागि सार्दै छु’ ट्विटमा ट्रम्पले लेखेका छन् । 

उनले थपेका छन्, ‘प्रधानमन्त्रीले ग्रिनल्यान्डबारे यति सिधै कुरा गरेर अमेरिका र डेनमार्क दुवैको महत्वपूर्ण समय र कोसिस बचाइदिएकी छिन् । यसका लागि म उनलाई धन्यवाद दिन्छु र भविष्यमा कुनै समय बैठक पुनः तय हुने आशामा छु ।’ 

राष्ट्रपति ट्रम्प ग्रिनल्यान्ड किन्ने कुरामा गम्भीर थिए । उनले यसबारे ह्वाइट हाउसका अधिकारीहरुसँग पनि छलफल गरेका थिए । सेप्टेम्बरमा उनी डेनमार्क जान लागेका पनि थिए । यसै विषयमा कुरा गर्ने मनसायले उनले डेनमार्ककी प्रधानमन्त्री मेटसँग वार्ता तय गरेका थिए । 



आइतबार ट्रम्पले सार्वजनिक रुपमै ग्रिनल्यान्ड किन्न आफू इच्छुक रहेको र यस विषयमा डेनमार्कसँग छलफल सुरु गर्न लागेको बताएपछि प्रधानमन्त्री मेटले सिधै ग्रिनल्यान्डका विषयमा कुरै नगर्न भनेकी थिइन् । 



यसैबीच, ग्रिनल्यान्डले पनि राष्ट्रपति ट्रम्पलाई आफू व्यापारका लागि खुला रहेको तर बिकाउ नभएको बताएको थियो । ग्रिनल्यान्डका प्रिमियर किम किलसेनले स्पष्ट शब्दमा भनेका थिए, ‘हाम्रो द्वीप अमेरिकासमेत जुनसुकै देशसँग कारोबार र सहयोगका लागि खुला छ । तर, द्वीप कुनै पनि हालतमा बेचिने छैन ।’

ग्रिनल्यान्ड डेनमार्कको एक स्वायत्त क्षेत्र हो । उत्तर एटलान्टिक र आर्कटिक महासागरका बीच झन्डै २२ लाख वर्गकिलोमिटरमा फैलिएको यो विशाल टापुमा ५७ हजारजति मानिस बस्छन् । क्षेत्रफलका हिसाबले यो निकै न्यून जनसंख्या हो । 

ग्रिनल्यान्डको ८५ प्रतिशत भाग ३ किलोमिटर बाक्लो हिउँले ढाकिएको छ । यसले विश्वको १० प्रतिशत ताजा पानी बोकेको छ । पछिल्लो समय यो टापु जलवायु परिवर्तनको असरसँग जुधिरहेको छ । जुलाईमा यहाँ भारी मात्रामा हिउँ पग्लिएको थियो, जतिखेर यहाँको झन्डै १२ अर्ब टन बरफ बगेर समुद्रमा मिलेको थियो । 


  • प्रकाशित मिति : भदौ ४, २०७६ बुधबार १५:२०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया