काठमाडौं– राष्ट्रिय सभाका सांसदहरुले कार्यसम्पादन मूल्यांकनभन्दा पनि सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सरकारले मनपरी ढंगले कर्मचारी सरुवा गरेको भन्दै आपत्ति जनाएका हुन् । सांसद विन्दादेवी आले रानाले सरकारले कार्यसम्पादनभन्दा पनि पार्टीगत विचारका आधारमा कर्मचारी बढुवा र सरुवा गरेको भन्दै त्यसबारे सरकारको जवाफ माग गरिन् ।
सांसद राधेश्याम अधिकारीले करिब एक महिनाअगाडि एक वर्षका लागि प्रधानमन्त्रीले मन्त्रीहरुसँग र मन्त्रीहरुले सचिवहरुसँग कार्यसम्पादन सम्झौता गरेको मसी पनि सुक्न नपाउँदै १६ जना सचिवको सरुवा गरिएको भन्दै विरोध गरे ।
उनले भने– एक महिना नहुँदै १६ जना सचिवको यसैबीचमा सरुवा भएको सुन्नका आएको छ, यतिबेला एउटा प्रश्न उठेको छ, एक वर्षमा गर्नुपर्ने काम ती सचिवले एक महिनामै सकेका हुन् वा एक महिनाभित्रै आफू असक्षम भएको प्रमाणित गरेका हुन् वा सम्बन्धित मन्त्रीको रोजाइमा ती सचिव परेनन् वा कार्यसम्पादन सम्झौता आफैँमा मजाक थियो ?
स्थायी सरकारका रुपमा रहेको प्रशासन संयन्त्रलाई अस्थिर बनाउँदा सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन लगायतका कार्यक्रममा नकारात्मक असर पर्ने उनको भनाइ थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।