सकल दर्जालाई किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने नीतिबाट पछि हट्याे सेना

काठमाडौं । नेपाली सेनाले सकल दर्जालाई सहुलीयतपूर्ण किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने नीति परिवर्तन गरेको छ । 

जग्गा किनेर प्लटिङ गरी घडेरी बनाएर सकल दर्जालाई उपलब्ध गराउने नीति परिमार्जन गरी त्यसको साटो सहुलियतपूर्ण ब्याजदरमा घरकर्जा उपलब्ध गराउने योजना रहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिए ।

विगतमा राम्रो उद्देश्य राखेर सकल दर्जालाई आवास उपलब्ध गराउन मुलुकका विभिन्न ठाउँमा जग्गा खरीद गरिएको भए पनि सेना जग्गा प्लटिङको माध्यमबाट व्यापारमा लाग्यो भन्ने विभिन्न आरोप र टीकाटिप्पणीबाट छुटकारा पाउन तथा सहुलियतपूर्ण घरकर्जाका माध्यमबाट धेरैभन्दा धेरै हिताधिकारीलाई सम्बोधन गर्न सकियोस् भन्ने हेतुले सेना यसअघिको निर्णयबाट पछि हटेको बुझिएको छ ।

सेनाले काठमाडौ‍ंको कीर्तिपुर, भक्तपुरको दुवाकोट, सुनसरीको इटहरी र चितवनको पिठुवामा जग्गा खरिद गरी  बहालवाला तथा अवकाशप्राप्त सकल दर्जालाई सहुलियतपूर्ण किस्ताबन्दी सुविधामा घडेरी उपलब्ध गराउने योजना अघि सारेको थियो । 

त्यसमध्ये इटहरी र पिठुवाको घडेरी बिक्री भइसकेको छ भने कीर्तिपुर र दुवाकोटको जग्गा एक दशकअघि खरिद गरिएको भए पनि व्यवस्थित घडेरीका रुपमा विकास गरी सकल दर्जालाई उपलब्ध गराउन सेनाले सकिरहेको थिएन । खरिद गरिएको जग्गा चक्लाबन्दी नरहेको तथा सीमा, ढल र बाटोसम्बन्धी समस्याका कारण सेनाले ती जग्गालाई समयमा प्लटिङ गर्न अप्ठ्यारो परिरहेको थियो ।  

केहीले सेना जग्गा पल्टिङतर्फ नै किन भन्ने कोणबाट प्रश्न पनि उठाउँदै आएका थिए । यसअघि प्लटिङ गरिएका घडेरी पाँच आनाका दरले गोलाप्रथाको माध्यमबाट सकल दर्जालाई वितरण गरिँदै आएको थियो । 



सेनाले संगठनमा रहेको जनशक्तिको एक प्रतिशतलाई पनि घडेरी उपलब्ध गराउन नसकेपछि सकल दर्जाबाट आएका सुझाबका आधारमा पायक पर्ने स्थानमा घडेरी किन्न र घर बनाउन सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने सोचमा सेना अघि बढेको पाइएको छ ।

सम्बन्धित व्यक्ति आफैँ निर्माण गर्दा लागत कम हुने, चाहेको स्थानमा खरिद र निर्माण गर्न सकिने तथा तुलनात्मक रूपमा संगठनले धेरै संख्यामा आउने मागलाई सम्बोधन गर्न सहज हुने विश्लेषणका आधारमा पछिल्लो निर्णय भएको प्रवक्ता पाण्डेले बताए ।



दुवाकोटमा विसं २०६६ मा १२२ रोपनी तथा २०६५ मा कीर्तिपुरमा २५६ रोपनी घडेरीका लागि खरिद गरेको ती जग्गा अब के प्रयोजनमा प्रयोग गर्ने भन्नेबारेमा सेनाले निर्णय गर्न बाँकी नै रहेको छ । 

  • प्रकाशित मिति : भदौ ६, २०७६ शुक्रबार १५:३३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया