दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २५ जना डाक्टरले सामूहिक राजीनामा दिएका छन् । माथिल्ला पदाधिकारीको दबाबलाई कारण देखाउँदै बिहीबार बेलुका उनीहरुले सामूहिक राजीनामा दिएका हुन् । प्रतिष्ठानका दुई दर्जन चिकित्सकले एकैपटक राजीनामा दिएपछि प्रतिष्ठानको उपचार सेवा प्रभावित बनेको छ ।
प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले बारम्बार डाक्टरलाई स्पष्टीकरण सोध्ने, जागिर खाइदिने धम्कीसम्म दिने गरेको भन्दै उनीहरुले आफूहरु शारिरिक तथा मानसिक रुपमा विक्षिप्त भएको उल्लेख गरेका छन् ।
डाक्टरहरुले राजीनामा पत्रमा हालै मात्रै केही चिकित्सकलाई उपकुलपति भण्डारीले विभिन्न लाञ्छना लगाई बर्खास्त गर्न खोजेको आरोप लगाएका छन् । उपकुलपतिले मानसिक तथा शारीरिक दबाब दिएर ज्यादती गरेको र यस्तो ज्यादती सहेर कुनै पनि काम गर्न नसक्ने उनीहरूको सामूहिक निष्कर्ष छ ।
राजीनामा गरेका डाक्टरहरुले राजीनामाको बोधार्थ उपकुलपतिको कार्यालय, कुलपति तथा प्रधानमन्त्री कार्यालय, सहकुलपतिको कार्यालय, नेपाल मेडिकल एसोसिएसन, नेपाल मेडिकल काउन्सिल, जिल्ला प्रशासन कार्यालयमा पठाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।