पलेँटीमा लेकाली परिवार गुञ्जने

काठमाडाैं— यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा प्रसिद्ध सांगीतिक समूह लेकाली-परिवारको प्रस्तुति हुने भएको छ । यसका निम्ति लामो समयदेखि सामूहिक प्रस्तुतिबाट टाढा बसेका लेकालीका तीन सदस्यहरू नेपालयको ‘आर’शालामा जुटेका छन् । झण्डै आधा शताब्दी पहिलेका दिनहरू सम्झँदै गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ एक-अर्काको स्वरमा स्वर मिलाइरहेका छन् ।

लेकाली-परिवार २०२४ सालमा स्थापना भएको सांगीतिक समूह हो । भोजपुरका दुई युवा गणेश रसिक र हिरण्य भोजपुरेको परिचय काठमाडाैं आएपछि मात्र भएको हुन्छ । संगीतको रुचिले उनीहरूको सम्बन्धलाई बिस्तारै नजिक बनाउँदै लान्छ । शुरुमा ‘राल्फा-परिवार’मा सक्रिय रहेका गणेश रसिक ‘राल्फा’बाट भरखरै बहिरिएका हुन्छन् । सामुहिक संगतले अघि बढ्ने सांगीतिक कलाकर्मको मोहमा परेका ती युवाहरू अभावकै बीचमा पनि नयाँ सांगीितक गोरेटो कोर्ने प्रयत्नमा हुन्छन् । उर्मिला श्रेष्ठ काठमाण्डौ त्यौड टोलकी स्थानीय बासिन्दा हुन्छिन् । उनकै पुर्ख्यौली घर परिवार ती युवाहरूको जमघट थलो हुन्छ र त्यहीँ जन्मन्छ‘लेकाली-परिवार’ । लेकालीमा निर्मला श्रेष्ठ, शशि भण्डारी, इन्द्रनारायण मानन्धर, कमला श्रेष्ठ, नवीन किशोरहरू पनि संलग्न हुन्छन् ।

२०२५ सालको अन्तिमतिर लेकाली-परिवारले महेन्द्र पुलिस क्लबमा ‘छहाराको गीत’ शीर्षक दिएर आफ्नो औपचारिक शुरुवात गरेको थियो । कार्यक्रममा गाइएका ‘लहरा पहरा’, ‘ट्याम्के डाँडा’ ‘ए है है’, ‘काफल पाक्यो’, गीतहरूले निक्कै चर्चा कमाएका थिए । त्यही कार्यक्रमबाट लेकालीले आफ्नो छुट्टै पहिचान स्थापना गर्न थालेको हो । सोही कार्यक्रमको चर्चापछि लेकालीलाई रेडियो नेपालको द्वार पनि पहिलेको भन्दा खुकुलो हुन थाल्छ । यिनीहरूका गीत देशैभरि गुन्जन थाल्छन् । लेकालीले पनि ‘राल्फा’ले झैँ आधुनिक, प्रयोगवादी र लोक आधारित गीतहरू सृजना गर्ने गरेका हुन्छन् । लेकालीले पूर्वी पाहाडको लोक शैलीलाई आधार बनाएर बनाएका गीतहरू झण्डै लोकगीतकै रुपमा स्थापित हुन थाल्छन् । गणेश रसिकले बनाएको ‘रातो भाले’ र हिरण्य भोजपुरेले बनाएको ‘झाँक्री गीत’लाई कतिपयले अहिले पनि लोकगीत नै सम्झन्छन् तर त्यस्ता गीतहरू लोकशैलीमा सृजना भएका मौलिक गीत नै थिए ।

विगतको सृजनाकर्मको दिनहरू सम्झाउँदा गणेश रसिक भन्छन्- ‘हामी गोठाले जीवन बिताएका मान्छे; राजधानी टेकेपछि तिनै गोठाले शब्दहरूलाई भाकामा गाइयो; सुन्नेले लोकगीतकै दर्जा दिए ।‘

लामो समयपछि लेकालीको नाममा फेरि मञ्चमा उपस्थित हुन पाउँदा उत्साहित बनेकी उर्मिला श्रेष्ठ भोजपुरे र रसिकतर्फ इसारा गर्दै थप्छिन्- ‘उहाँहरूले बनाएका गीतहरूले लोकगीतकै स्तरमा लोकप्रियता हासिल गर्नुमा ती गीतभित्र रहेको सामाजिक यथार्थताको चित्रणले गर्दा हो जस्तो लाग्छ ।‘

परिचित हाँस्यशैलीमा हिरण्य भोजपुरे थप्छन्- ‘यो उमेरमा आएर हामीले रचेका गीतको चर्चा गर्नुभन्दा पनि पलेँटीमा गाउने बेलामा तिनका हरफ सम्झनै मुस्किल होला जस्तो भइसक्यो याहाँ ! कागज नै हेर्नु पर्ने अवस्थामा पुगिसक्यो हाम्रो सम्झना शक्ति ! तर हामीलाई नाम र पहिचान भने यिनै गीतले दिएका हुन् है !’



उबेला लेकालीमा संलग्न रहेका कति जना कलाकारले संसारबाट बिदा लिइसके । कति विदेशमा छन् । कति वृद्ध र अशक्त भइसके । आउँदो पलेँटीमा भोजपुरे, रसिक र उर्मिलाले विगतका तिनै सहयात्रीहरू सँगको संगतलाई सम्झना गर्नेछन् । गीत गुञ्जाउने छन् ।

‘हामीसँग कुनै बेला सहयात्री कलाकारहरूको लामो लस्कर हुने गर्थ्यो तर समयले धेरै कोल्टे फेरिसक्यो अहिले हामी तीनजनामात्र स्टेजमा निस्कँदै छौं । सांगीतिक कार्यक्रम हुनेबेला त उहिले पनि उत्साह हुन्थ्यो अहिले पनि छ । पलेँटीको माहोलसँग परिचित भएकोले झन् उत्साह थपिएको छ ।‘ भोजपुरे भन्दै थिए ।



‘लेकाली हाम्रो आरम्भ थियो । यात्रामा कति काम गर्न छुटेका हुन्छन्; कति बिटमार्न । अब हामी हाम्रा सृजनात्मक कर्महरूलाई बिटमार्दै छौं कि जस्तो लाग्छ । यो कार्यक्रम पनि त्यही क्रमको थालनी हो कि ?’ रसिक भावुक बन्दै थिए ।

‘हामी सामुहिक गायनमा अभ्यस्त, यत्रो वर्षपछि स्टेजमा आउँदैछौं । कस्तो हुने भन्ने डर पनि छ । पलेँटीको माया लाग्दो प्रस्तावले राम्रै हुन्छ भन्ने पनि लाग्छ ।‘ आउँदो कार्यक्रम बारे उर्मिलाको टिप्पणी थियो ।

लेकाली-परिवारको पलेँटीमा चर्चित गायिका मीना निरौलाले पनि गायनमा साथ दिनेछिन् । मीना पलेँटीसँग लामो समयदेखि संलग्न रहेकी गायिका हुन् ।    

‘पलेँटी मार्फत् लेकाली-परिवारलाई वर्तमान समयमा सुन्न र सुनाउन पाउनु एउटा ऐतिहासिक सांगीतिक घटना हो। लेकालीले अंगालेको सांगीतिक बाटो नेपाली संगीत संसारको पृथक् बाटो थियो । यसपालीको पलेँटीको अनुभव लिन पाउनु भनेको संगीतको माध्यमबाट नेपाली समाजको अध्ययन गर्न पाउनु पनि हो भन्ठान्छु ।’ पलेँटी संयोजक आभासले भने ।

यही महिनाको १३ गते शुरु हुने लेकालीसँगको पलेँटी ३ दिनसम्म चल्ने छ । कार्यक्रमलाई पलेँटीको शुरुवातदेखि नै संचालन गर्दै आएका संगीतकर्मी आभासले लेकालीको सांगीतिक यात्राको सेरोफेरोमा रहेर लेकालीसँग संवाद पनि गर्नेछन् ।

कालिकास्थानस्थित ‘आर’शालामा आयोजना हुने पलेँटीमा लेकालीलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिनेछन् ।

शुरुमा अँग्रेजी महिनाको अन्तिम शुक्रवार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम केही महिनादेखि महिनाको अन्तिम सप्तान्त- शुक्रवार, शनिवार र आइतबार गरी तीन दिन संचालन हुँदै आएको छ ।

  • प्रकाशित मिति : भदौ ८, २०७६ आइतबार १६:४९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया