Tue, 10 Dec, 2019


#farakसपना : आमा गुमाउनुकाे पीडाले जन्मिएकाे अस्पताल
फरकधार / भदौ ९, २०७६
सबै तस्वीरहरु: याङ्जाेमकाे फेसबुकबाट ।

२२–२३ वर्षअगाडिको एक दिन । सधैँझैँ याङ्जोम शेर्पा चौँरी चराउन गोठतिर लागिन् । यो उनको दैनिकीजस्तै थियो । तर, त्यो दिन घरमा माहोल फरक थियो ।



याङ्जोमको परिवार घरमा नयाँ सदस्य आगमनको व्यग्र प्रतिक्षामा थियो । याङ्जोमकी आमा तीन दिनदेखि प्रसव वेदनाले घरमा नै सीमित भएकी थिइन् । आमाको पीडाले याङ्जोमलाई असहज त भएको थियो, तर भाइ जन्मिन्छ भन्ने कल्पेर उनले आमाको पीडालाई खुसीसँग साटिरहेकी थिइन् ।

आठ वर्षकी थिइन्, याङ्जोम । परिवारकी दोस्रो छोरी । छोरा र छोरीको फरक त्यतिवेला उनको समझमा थिएन । तर, आमालाई हेरचाह गर्न आउने छिमेकी भन्थे– यसपटक याङ्जोमले भाइ पाउँछे ।

यस्तो सुन्दासुन्दा उनले पनि कल्पनाको उडानमा भाइकै कल्पना गर्न थालेकी थिइन् । आखिर दिदी त एकजना छँदै थिइन्, याङ्जोमलाई भाइ हुन्छ भन्ने कुराले निकै खुसी बनाउन थाल्यो । तर, सँगै आमालाई तीन दिनदेखि भइरहेको रक्तश्रावले उनलाई चिन्तित बनाइरहेको थियो । अत्यधिक रक्तश्राव भएपछि छरछिमेकले के हुने हो भन्ने आशंका जन्माइरहेका थिए ।

गाउँबाट सदरमुकामको अस्पताल पुग्न फटाफट हिँड्ने मान्छेलाई पनि दुई दिन लाग्थ्यो । नजिकै अरू अस्पताल केही थिएनन्, याङ्जोमकी आमालाई धामीझाँक्रीले उपचार प्रयास नगरेका होइनन् । तर, सफल भएका थिएनन् । त्यो दिन चौँरी चराउन गएको लामो समय भएको थिएन । उनले पनि खबर पाइन्– भाइ जन्मियो ।

दौडँदै घर फर्किइन्, याङ्जोम । भाइ पाएको खुसीमा तीन दिनदेखि आमाको अनुहारमा देखिएको निराशा बिर्सन थालिन्, उनले ।  केही भवितव्य भइहाल्ने हो कि भन्ने डर पनि हट्यो । तर, त्यो जित लामो समय रहेन । याङ्जोमकी आमाले संघर्ष गर्दागर्दै जीवनसँग हार्न बाध्य भइन्, मृत्युले उनलाई याङ्जोमहरूभन्दा धेरै पर लगिहाल्यो ।

सौभाग्य भनौँ या दुर्भाग्य, खुसी हुनु वा दुःखी, याङ्जोमको घरमा भाइ जन्मिएको थियो, तर भाइलाई जीवन दिने आमाले आफ्नै जीवन गुमाएकी थिइन् ।

त्यो छटपटीमा आमाको नजिकै हुन चाहन्थिन्, याङ्जोम । तर, उनको कलिलो उमेर बाधक बन्यो । छरछिमेकले दिदीलाई आमासम्म पुग्न दिए, तर अन्तिम पलमा आमालाई भेट्न पाइनन्, याङ्जोमले ।

अन्तिम समयमा आमाको अनुहारमा हेर्न नपाएकी याङ्जोमलाई लाग्न थाल्यो– भाइ पाउनु भनेको आमा गुमाउनु हो रहेछ ! किनकि, उनको गाउँमा त्यसरी छोराछोरी पाएर आफ्नो जीवन गुमाउने आमाहरू अरू पनि थिए । याङ्जोमले ती घटनाबारे पनि सुनेकी थिइन् ।

आफ्नी आमा गुमाउँदाको त्यो क्षण सम्झँदा होस् या अन्य आमाहरूले अनाहकमा जीवन गुमाउनु पर्दाका घटना सम्झँदा किन नहोस्, अहिले पनि याङ्जोमका ओठ काँप्छन् । एउटा अन्धकारले भरिएको क्षितिजमा पुग्छिन् उनी ।

तर, उनलाई थाहा छ– त्यो अन्धकारमा प्रकाश छर्ने काम उनले आँटिनन् भने त्यो अन्धकारमै रहिरहन्छ । किनकि, याङ्जोमले आफ्नै आँखाले देखेकी छिन्– उनको गाउँ वरपर १६ आमाहरूले सन्तान जन्माउँदा निस्पट्ट अन्धकारमा आफूलाई विलिन गराए । अनि यही दुःखद घटनाका शृंखलाले याङ्जोममा नयाँ सपनाको विजारोपण गरिदियो ।

त्यो सपनाको शिलान्यास याङ्जोमले केहीअघि आफ्नै गाउँमा गरिसकेकी छिन् । याङ्जोमको गाउँ हो, घुन्सा । ताप्लेजुङ जिल्लाको सुदूरपूर्वी गाउँ हो, घुन्सा । कञ्जनजंघा हिमालको आधार शिविर जानेबाटो । तिब्बतसँगको सिमानामा पर्ने यो गाउँभन्दामाथि अर्को गाउँ छैन, बस्ती छैन ।

अनुपम सौन्दर्यको काख हो, घुन्सा । तर, विडम्बना ! प्रकृतिले सजाएको घुन्सा दुःखको पर्याय पनि बनेको छ । विशेषगरी स्वास्थ्य क्षेत्रका सवालमा ।

एउटै अस्पताल नभएकाले कतिले यो गाउँमा एउटा सिटामोल नपाएर वा जीवनजल खान नपाएर अकालमै ज्यान गुमाएका हुन्छन् । झन्, गर्भवती भएपछि महिला बाँच्ने/नबाँच्ने अनिश्चित हुन्छ ।

यो अवस्था हिजोको मात्र होइन, अहिले पनि घुन्साले यो दुःखबाट छुटकरा पाउन सकेको छैन । तर, घुन्साको यही दुःखलाई अन्त्य गर्ने याङ्जोमको सपना विजारोपण भइसकेको छ ।

र, उनी विश्वस्त छिन्, उनको सपनाले घुन्सामा साँच्चिकै परिवर्तन ल्याइदिनेछ । अब त बिस्तारै याङ्जोमको सपनाले पाइला हाल्दै छ । घुन्सामा अस्पताल बनाउन उनको पहलमा जग हालिसकिएको छ । गाह्राहरू उठाइसकिएका छन् । भवन बनिसकेकाे छ । अब उपकरणहरु चाहिएका छन् । सरकारले सहयाेग गर्ने अपेक्षामा पनि छिन् याङ्जाेम । यो बन्दै गरेको अस्पतालभवन निर्माण गर्नुमा याङ्जोमको जीवनका धेरै पल जोडिएका छन् ।

केही अघि काठमाडौंमा भेटिएकी याङ्जोम फेरि बाल्यकालमा फर्किइन् ।आमा नरहनेपछि घर छाडेर फुपूसँग तेह्रथुमको आठराइको संक्रान्ति बजार पुगिन्, याङ्जोम । फुपूले नै उनलाई सम्हालिन्, हुर्काइन् । आठराइबाट नै एसएलसी दिएपछि याङ्जोमलाई भाग्यले साथ दियो । पढाइमा राम्रो गरिरहेकी उनलाई हल्यान्डकी किस केर्खोपले पढाउने भइन् ।

फुपू काठमाडौं आएपछि त्यही बाटो पछ्याउँदै काठमाडौं आइपुगेकी याङ्जोमले केर्खोपकै सल्लाहमा एएनएममा भर्ना भइन् । उनलाई एएनएममा भर्ना गने वेला भनिएको थियो– पढाइमा पनि राम्रो छ्यौ, तिमीले गाउँका लागि केही गर्ने मनसाय राखेकी भए स्वास्थ्यसम्बन्धी विषय नै पढ्नू ।

याङ्जोमले यही सल्लाहअनुसार ओम हेल्थ क्याम्पसबाट १८ महिने कोर्स पूरा गरिन् । त्यति नै वेला व्यवसायिक सीप विकास तालिम केन्द्रले केयर गिभर प्रशिक्षकको माग गर्यो । उनले आवेदन दिइन् । उनको नाम निस्कियो ।

उनले मातृशिशु कार्यकर्ता र ग्रामीण स्वास्थ्य कार्यकर्तालाई पढाउनुपर्ने थियो । करिब दुई वर्षे कामबाट उनले राम्रै अनुभव बटुलिन् । केयर गिभरको काम पछि जान्ने र बुझ्ने दायरा पनि फराकिलो हुँदै गयो । विभिन्न संघ–संस्थाले आयोजना गरेका कार्यक्रममा उनको चासो बढ्दै गयो ।

बिस्तारै आयोजकले कार्यक्रममा पाहुनाको स्वागत र मञ्च व्यवस्थापनमा उनलाई खटाउन थाले । मञ्चमा पाहुनालाई स्वागत र सत्कार गर्ने कामबाट उनी बिस्तारै उद्घोषणतिर आकर्षित हुन थालिन् । उनका बाबु पनि छोरी उद्घोषणमा लागोस् भन्ने चाहन्थे ।

‘एक दिन कार्यक्रम सकेर घर आउँदा बुबाले भन्नुभयो– पैसा नआउने कार्यक्रममा कति मरिहत्ते गरेको, कहिलेकाहीँ यसो माइक समाएर बोले पनि बरु ल ठीकै हो छोरीको स्वर सुनियो भन्ने हुन्थ्यो,’ याङ्जोमले सम्झिन् ।

तत्काल बाबुको यस्तो टिप्पणी उनलाई चित्त बुझेन । तर, बिस्तारै उनले यसबारे सोच्न थालिन् । अन्तिममा बुबाको त्यो वाणीले याङ्जोमको गोरेटो बुनिदियो । उनी उद्घोषणतिर लागिन् ।  उनले टेलिभिजनमा कार्यक्रम पनि चलाइन् । तर, लामो समय यसमा रहन सकिनन् । ‘आफ्नै कारण र बाध्यताले छोड्दै गएँ,’ उनी भन्छिन् ।

टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्ने जागिर छोडे पनि उनले घुन्साको सम्झना छोडेकी थिइनन् । र, उनी घुन्सामा हुँदाका समस्याले घुन्सा छोडेका थिएनन् ।अझै पनि घुन्सामा आमाहरूले जीवन गुमाइरहेका थिए, नवजात शिशुहरू कसैले पनि खोप लगाउन पाएका थिएनन्, झाँक्रीहरूको फुकफाकमा नै शिशुहरूको उपचार गरिइरहिएको थियो ।

काठमाडौंमा आएपछि एक–दुईजना गर्भवती महिलालाई हेलिकोप्टरमा काठमाडौं ल्याएर सुत्केरी गराउने प्रयास पनि उनले गरिन् । तर, त्यो अत्यन्त महँगो साबित भयो । हेलिकोप्टरले कम्तीमा पनि तीन लाख लिने भयो । हेलिकोप्टर खर्च र काठमाडौंमा बस्दाको खर्चका लागि एकजना बच्चा जन्माउन घुन्सावासीले आफ्नो भएभरको जायजेथा बेच्नुपर्ने अवस्था भयो । याङ्जाेमकाे मन झन् कुँडियो ।

उनी घुन्सा गइन् । याङजोम घुन्सा १७ वर्षपछि फर्किएकी थिइन् । ‘१७ वर्षपछि पनि घुन्सामा केही परिवर्तन थिएन,’ उनले केही वर्षअघिको कुरा सम्झिन्, ‘घुन्साका दुःख तिनै थिए, सबै थिए । त्यही जीवनशैली थियो, आमाहरूको अवस्था त्यही थियो ।’ त्यसपछि उनले घुन्सामा कार्यक्रम गर्ने भइन् । प्रजनन स्वास्थ्य र सुई खोपसम्बन्धी जनचेतनामूलक कार्यक्रमको योजना बनाइन् ।

योजनामुताविक फ्रेन्ड्स अफ शान्त भवन काठमाडाैँको सहयोगमा विभिन्न सामग्री पम्प्लेट पोस्टर र परिवार नियोजनका अस्थायी र स्थायी सामग्रीसहित उनी फेरि घुन्सा पुगिन् । अनि गाउँका सबैलाई स्कुलमा आउन अनुरोध गरिन् ।

‘भोलिपल्ट स्कुलको कोठामा पोस्टर टाँसेर तयार भएँ,’ उनले अनुहारमा नमीठो भाव झल्काइन्, ‘तर, २ बजेसम्म पनि कोही आएन । अनि अर्को दिनका लागि महिलालाई मात्र बोलाएँ, तर काकी पर्ने दुई जना मात्रै आउनुभयो ।’

आफ्नो कुरा गाउँलेले नसुन्ने छाँटकाँट देखिए पनि हरेस खाइनन्, उनले । आफ्नो गाउँकाले नै नपत्याएपछि उनी तल्लो गाउँमा पुगिन् । त्यहाँका केही आमाहरूले उनलाई विश्वास गरे, कार्यक्रममा आए । त्यो कार्यक्रममा त्यहाँका आमाहरूको समस्या सुनेर उनी झस्किइन् ।

तीनमहिने संगिनी सुई कहिले दुई महिनामै लगाउने कहिले ६ महिनासम्म नलगाउने, पाठेघरमा भएका समस्या, निरन्तर हुने रक्तश्रावलगायत समस्या त्यहाँका महिलाहरूले सुनाएका थिए ।

कतिलाई त उनले काठमाडौंसम्म बोलाइन्, काठमाडौंमा आफूसँगै ल्याएर उपचार गराइन् । कति महिलाहरू काठमाडौं आउन मानेनन्/ आउन सकेनन् ।  जो काठमाडौँ आएनन्, उनीहरूको समस्या समाधान हुने भएन । उनी निराश भइन्, काठमाडौं आइन् र गाउँमा स्वास्थ्य चौकी स्थापनाको माग गर्ने निधो गरिन् ।

आफ्नै बलबुताले बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी निमार्ण गर्ने उनको योजना थियो । तर, उनकै गाविसमा अर्को पनि स्वास्थ्य चौकी थियो । फरक के भने यहाँ पुग्न पनि याङ्जोमको गाउँबाट घन्टौँ लाग्थ्यो । त्यसमाथि त्यहाँ दक्ष स्वास्थ्यकर्मी नै थिएनन् ।

२०७१ सालमा आएर उनले अस्थायी स्वास्थ्य सेवाको संरचना तयार पारिन् । सरकारले दुईजना कर्मचारी दिएको छ । तर, १२ हजार पाँच सयमा को बस्न तयार हुनु ? ढुवानी खर्चले खानेकुरा नै छोइनसक्नु छ । त्यति पैसाले खान मात्रै ठिक्क हुन्छ । विद्यालय सुधारका लगि आएको हिमालयन डेभलपमेन्ट फाउन्डेसन अष्ट्रेलियाको एक प्रोजेक्टसँग उनले कुरा राखिन् र प्रोजेक्टको सहयोगमा ५/५ हजार थप गराइन् र स्कुलको एउटा कोठामा कर्मचारी राखेर सेवा सञ्चालन गर्न पहल गरिन् ।

तर, अझै पनि प्रसूति कहाँ कसरी गराउने भन्ने समस्या जीवितै रह्यो । मातृशिशु मृत्युदर घटाउन गरेको त्यो प्रयास पनि असफल भयो । समस्यामाथि समस्याका कारण पछिल्लो समय उनी दिनरात नभनी पक्की अस्पताल निमार्णमा जुटिरहेकी छिन् । दुई वर्ष भयो, उनले यो पवित्र कामको थालनी गरेको । करिब ४० लाख लगानी योजनामा पाँचकोठे भवनको शिलान्यास भई प्रथम चरण पूरा भइसकेको छ । आगामी भदौ अन्त्यमा सक्ने गरी काम धमाधम चलिरहेको छ, हर्षित देखिइन्, याङ्जोम ।

भवनमा पाँच कोठा छन् । पाँच कोठामा नै जनरल वार्ड फार्मेसीदेखि लिएर आकस्मिकसहितका सेवा उपलव्ध गराउने उनको योजना रहेको छ । अस्पताललाई आवश्यक पर्ने उपकरण एक जापानी संस्थाले दिने भएको छ ।

गाउँमा अस्पताल निर्माण हुँदा गाउँलेले मात्र होइन, कञ्चनजंघा हिमाल हेर्न आउने पर्यटक, उनका भरिया, फत्तेमान मन्दिर जाने भक्तालु सम्पूर्णले सेवा पाउन सक्ने भए ।

आमाको सम्झनामा अन्य आमाहरू बचाउन याङ्जोम गरेको प्रयासलाई सबैले मुक्तकण्ठले प्रशंसा गरेका छन् । सक्नेले धेरै–थोरै सहयोग पनि गरेका छन् । उनले जस्तै आमा गुमाउनेहरूले धेरै सहयोग गरेको याङ्जोम बताउँछिन् ।

- अर्काइभबाट ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्