एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले सही समयमा इरानी राष्ट्रपति हसन रुहानीलाई भेट्ने बताएका छन् । यसले विश्व राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ ।
फ्रान्समा भएको जी–७ बैठकमा आइतबार अचानक इरानका विदेशमन्त्री पुगेका थिए । त्यसपछि ट्रम्पको यो धारणा आएको हो ।
यसअघि उत्तर कोरियाली नेता किम जङ उनसँग भेटेर ट्रम्पले विश्वलाई एउटा नयाँ सन्देश दिइसकेका छन् । त्यसैले उनले इरानी राष्ट्रपतिलाई पनि भेटे भने विश्व नयाँ आश्चर्यमा जाने निश्चित छ ।
इरानको परमाणु गतिविधिमाथि अंकुश लगाउने सन् २०१५ को सम्झौताबाट गत वर्ष अमेरिका एकतर्फी रुपमा पछाडि हटेको थियो । यसले दुई देशको सम्बन्ध निकै बिगारेको छ ।
तर, सोमबार नै ट्रम्पले फेरि इरानसँग नयाँ परमाणु सम्झौता गर्न सकिने बताएका छन् । जी–७ बैठकको संयुक्त प्रेस कन्फ्रेन्समा उनले भनेका छन्, ‘साढे दुई वर्षअघि म राष्ट्रपति बन्दा जस्तो इरान थियो, अहिले त्यो इरान त्यस्तै छैन । इरान एउटा महान राष्ट्र हो, त्यहाँ परमाणु हतियार राखिँदैन ।’
उता, इरानका राष्ट्रपति हसन रुहानीले पनि आफूले ट्रम्पलाई भेट्दा इरानलाई नै फाइदा पुग्ने हो भने आफू भेट्न तयार रहेको बताएका छन् ।
यी दुईको यो भेटका लागि फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रोनले मध्यस्थता गर्ने सम्भावना पनि निकै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।