काठमाडाैं– कवि तथा गीतकार भूपाल राई नयाँ कृति ‘सेवान्ने जिन्दगी’ लिएर पाठकमाझ आएका छन् । लामो समयदेखि गीत–कवितामा कलम चलाउँदै आएका राईको कृतिलाई राजधानीमा आयोजित एक समारोहमा कवि तथा चिन्तक हाङयुग अज्ञात, लेखक एवं स्तम्भकार उज्वल प्रसाईं, अनुसन्धाता कैलाश राई र कृतिकार भूपाल राईले संयुक्त विमोचन गरेका थिए ।
कार्यक्रममा बोल्दै हाङयुग अज्ञातले कवि भूपाल राईका विचारहरु सुनेर आफू र सिर्जनशील अराजकता आन्दोलनबाट दीक्षित भएको बताए । ‘उहाँको विचार सुनेर म दीक्षित भएको हुँँ, हाम्रो आन्दोलन दीक्षित भएको हो,’ उनले भने, ‘नेपाली गीत र कवितामा भूपाल राईले निर्माण गर्नुभएको विचार र संरचनाको शक्तिशाली बनोट कसैसँग पनि मिल्दैन ।’
कार्यक्रममा उज्वल प्रसाईंले आममानिसकोे राज्यप्रति अपनत्वको बोध खुम्चिन थालेको र यस्तो समयमा भूपाल राईका गीत र कविता सुन्न आवश्यक रहेको बताए । ‘राष्ट्रवादको स्वर ठूलो बन्दै गइरहेको छ । यस्तोवेला भूपाल राईलाई बढीभन्दा बढी सुन्न आवश्यक छ,’ प्रसाईंले भने, ‘गैरजनजाति समुदायका मानिसलाई दिमागमा ब्राह्मणवाद राखेर हुर्काइन्छ । त्यो अमानवीय छ । आफूलाई मानवीयककरण गर्नका लागि भूपाल राईलाई पढ्नुपर्छ ।’
त्यसैगरी, कैलाश राईले भूपाल राईजस्ता लेखकको लेखनको महत्वलाई आउँदो पुस्ताले अझ प्रमाणित गर्दै जाने बताइन् । ‘किराती समुदायको धरातल बुझ्ने र बुझाउने पुस्तामध्यमा भूपाल राईहरु पर्नुहुन्छ । उहाँको वाक्य सामान्यजस्ता लागे पनि गीतका अन्तर्यलाई गम्भीर भएर खोतल्दा नेपाली समाजमा हामी कहाँ छौं भन्ने कुरा छर्लंगै हुन्छ,’ राईले भनिन् ।
कार्यक्रममा कवि तथा आख्यानकार राजन मुकारुङले गीती लेखनको इतिहासमा भूपाल राईलाई छुटाइएकोप्रति खेद प्रकट गर्दै आफ्नो इतिहास अरुले नलेखिदिने जिकिर गरे । ‘जसले नेपाली गीत, साहित्य र कला–संस्कृतिको लागि भिन्न धारा र प्रवाहबाट नेपाली समाजलाई कम्तीमा सम्बोधन गरौँ र हाम्रा गीतमार्फत भनौँ भनिरहेका छन्, उनीहरुको इतिहास कसले लेख्नेरहेछ त ?’ राजनले प्रश्न गर्दै भने, ‘हामी आफैँले हाम्रो इतिहास निर्माण र लेख्नुपर्नेरहेछ ।’
कार्यक्रममा गीतकार भूपाल राईले आफूले लामो समयपश्चात् गीतीसंग्रह तयार गरेको भन्दै आफ्नो अस्वस्थताका बाबजुद कृति तयार भएको बताए । ‘लेखनको मुद्दा मिल्यो भने कसैलाई दुरुत्साहित गर्ने किराँतीको संस्कृति नै होइन,’ राईले भने ‘पहिचानको मुद्दालाई लिएर एक्लै अघि बढिरहेका बेला सिर्जनशील अराजकताजस्तो आन्दोलनले आँधीबेहरी निर्माण गर्नु आफैँमा गर्वको कुरा हो ।’
पुस्तकको प्रकाशन एम सिक्स सोसाइटी, हङकङले गरेको हो भने कार्यक्रमको आयोजना चिन्डो बुक्सले गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।