Thu, 21 Nov, 2019


लेक्स लिम्बु: गे, ब्लगर र नेपाल लभर
फरकधार / भदौ १२, २०७६

लेक्स लिम्बु धरानमा जन्मिए, सन् १९९२ मा । खासमा लेक्सको नाम लेक्स लिम्बु होइन । तर, उनी आफ्नो नाम भन्न चाहँदैनन् । यसको एउटा कारण हुनुपर्छ, उनी यही नामबाट चर्चित बनिसकेका छन् । 



धरानमा जन्मिएका लेक्सको बाल्यकाल धरानमा नै भने बितेन । उनका बाबु ब्रुनाइका लाहुरे थिए । लेक्स दुई वर्षको हुँदा बाबुआमाले ब्रुनाइ लगे । तोतेबोलीमा लेक्सले नेपाली बोल्न थालिसकेका थिए । 

ब्रुनाइ गएपछि उनको अध्ययन त्यतै सुरु भयो । ६ वर्ष ब्रुनाइमा बसेपछि लेक्सका बाबुआमा फेरि लन्डन बसाइँसराइँ गर्ने भए । लेक्सलाई पनि उनीहरुले सँगै लगे । सन् २००० मा लन्डनमा पुगेपछि लेक्स त्यतैको हावापानीमा हुर्किए । 

विश्व बजारमा इन्टरनेटको प्रयोग बढ्दो थियो । लन्डन अपवाद थिएन । जसरी बेलायतमा इन्टरनेट हुर्किँदो थियो, त्यसैको समीपमा रहेर लेक्स हुर्कँदै थिए । 

त्यही इन्टरनेटलाई लेक्सले आफ्नो अभिव्यक्तिको माध्यमका रुपमा प्रयोग गरे, उनी १५ वर्षको हुँदा ब्लगिङ सुरु गरे । सन् २००७ मा उनले ब्लगिङ सुरु गर्दा विश्वमा यसको चर्को छाप बढ्दो थियो । तर, त्यति बेला ब्लग र भ्लग दुनियाँमा रमाएका कतिपय ‘स्टार’ विस्तारै छेउ लागे । लेक्सले चाहिँ नेपाली संस्कृति, नेपाली फिल्म तथा रहनसहनबारे लेख्न छोडेनन् । त्यसैले उनको ब्लग विश्वभर छरिएका नेपाली वा नेपाली मूलका व्यक्तिहरुलाई एक ठाउँमा जोड्ने थलो बन्यो । 

एकातिर कलिलै उमेरमा लेक्सले ब्लग लेखेर चर्चा कमाइरहेका थिए, अर्कोतिर उनको जीवनको एउटा यस्तो पाटो थियो जुन उनले लामो समयसम्म कसैलाई भन्न सकेका थिएनन् । मनमै गुम्स्याएर राखेका थिए । 

२ वर्षको उमेरमा ब्रुनाई पुगेकै भए पनि लेक्स नेपाल आउन छाडेका छैनन् । उनी प्रत्येक वर्ष नेपाल आउँछन् । सन् २०१९ का यी ८ महिनामा त उनी तीन पटक नेपाल आइसके । पछिल्लो पटक उनी नेपाल आउनुको कारण थियो, गाइजात्रामा ब्लू डायमन्ड सोसाइटीले आयोजना गरेको एलजिबिटिआई परेडमा भाग लिन । 

यो वर्ष उनका लागि अन्य वर्षहरुभन्दा यो एलजिबिटिआई परेड फरक रह्यो । 

किनकि उनले गत वर्षमात्र सार्वजनिक रुपमा घोषणा गरेका थिए– म गे हुँ । अर्थात्, लेक्स आफूलाई समयौनिक पुरुष भन्न रुचाउँछन् ।

‘सन् २०११ मा त्यो परेड हेर्न आएको थिएँ,’ लेक्सले भने, ‘यसपटक म आफैं परेडमा सहभागी भएँ ।’

खासमा लेक्सलाई सन् २०११ मा नै महसुस भइसकेको थियो, उनी गे हुन् । तर, उनले यसलाई मनमा गुम्स्याएर राखेका थिए । ‘समय आएपछि भन्छु भन्ने थियो,’ केही दिनअघि हरिहरभवनस्थित एक रेष्टुरेन्टमा लेक्स खुले, ‘जब मैले यो कुरा भनेँ, शुभेच्छुकहरु आश्चर्यचति भए, कतिले शुभकामना दिए, केहीले मन पराएनन् ।’

तर, अब खुला रुपमा आफूलाई प्रस्तुत गर्न सक्ने भएका छन्, लेक्स । 

यसको थालनी उनले आफ्नै बाबुआमाबाट गरेका थिए । 

‘अब उमेर भयो, सम्झाउन सक्छु भन्ने भयो,’ लेक्स हाँसे, ‘अनि बाबुआमालाई भनेँ । सुरुमा त उहाँहरु सक्ड हुनुभयो, तर मैले सम्झाएँ ।’ बाबुआमालाई केही समय लाग्यो, लेक्सलाई समयौनिक पुरुषका रुपमा स्वीकार गर्न । त्यसपछि उनले भ्लग बनाए, अनि सबैलाई जानकारी दिए, आफू गे भएको कुरा । 

‘धेरैले मेरा भ्लगहरु हेर्दा शंका पनि गर्नुहुन्थ्यो होला,’ उनले भने, ‘मैले अब चाहिँ भन्नैपर्छ भन्ने किन सोचेँ भने मानिसहरुले आफ्नो भित्री चाहना लुकाएर वा दबाएर बसिरहनु हुँदैन भन्ने लाग्यो ।’

लेक्सले कार्तिकसँग गरेकाे फाेटाेसुटकाे एक तस्वीर ।

लेक्स चाहन्छन्, अरुले पनि उनीजस्तै खुलेर आफ्ना कुरा राखुन् । 

बाबुुआमा सुरुमा आश्चर्यमा परे पनि लेक्सले जब आफू गे भएको कुरा खुलाए, नेपालमा एलजिबिटिआई समूहले पनि उनीबाट धेरै अपेक्षा गर्यो । त्यो अपेक्षालाई अब पूरा गर्ने मुडमा छन्, लेक्स । 

‘त्यसको सुरुवात मैले २०१८ को सेप्टेम्बरमा एउटा फोटोसुटबाट गरेँ,’ कार्तिक क्षेत्रीसँग गरेको फोटोसुटलाई सम्झिँदै लेक्सले भने, ‘हिम एन्ड आइ भनेर गरिएको त्यो फोटोसुटले यो कम्युनिटीलाई सकारात्मक प्रभाव पारोस् भन्ने चाहना थियो ।’ 

लेक्स यसबाट के परिचय दिन चाहन्थे भने हामीले देखिरहेको ‘ट्रेडिसिनल लभ’ को अवधारणामा वा बुझाईमा परिवर्तन आओस् । ‘हाम्रोतिर अहिले पनि मायाप्रेम भनेको केटा र केटीबीच मात्र हुन्छ भन्ने सोचिन्छ,’ लेक्सले भने, ‘मैले त्यो फोटोसुटबाट गर्न खोजेको एउटै काम हो– समाजलाई थाहा होस्, प्रेम त केटा र केटाबीच पनि हुन्छ ।’

त्यसपछि पनि लेक्सले यो अभियानलाई निरन्तरता दिएका छन् । उनले यस्तै विषयसँग सम्बन्धित केही टिसर्ट बनाएका छन्, ती टिसर्ट नेपालमा पनि वितरण गरेका छन् । यसपटक त लेक्सले नेपालका केही विद्यालयमा पुगेर एलजिबिटिआईबारे जानकारी पनि दिए । 

‘१० कक्षासम्मका विद्यार्थीलाई माया भनेको के हो, भेदभाव भनेको के हो, एलजिबिटिआईलाई कस्तो रुपमा हेर्ने, किन भेदभाव नगर्ने,’ लेक्सले भने, ‘जस्ता विषयमा जानकारी दिनु आवश्यक छ । त्यही भएर यो वर्ष हामीले केही विद्यार्थीहरुलाई यसबारे बुझाउने प्रयास गर्यौँ ।’

तर, यस्तो प्रशिक्षणमा लेक्स एलजिबिटिआईमा मात्र एकोहोरो लागिरहेनन् । उनले त समानताको विषयमा पनि वकालत गरे । ‘हामीकहाँ अझै पनि छालाको रंग र लगाइखुवाइकै कारण विभेद गरिन्छ,’ उनले भने, ‘माया त जोबीच पनि हुनसक्छ, सबैलाई माया गरे हामीले सोचेको जस्तो समाज बन्न सक्छ ।’

लेक्स त नेपालमा पनि एलजिबिटिआई समुदायको विवाहका लागि सरकारले अझ प्रष्ट कानुन बनाउनु पर्नेमा जोड दिन्छन् । ‘नयाँ नेपाल बनिरहेको छ,’ उनले भने, ‘यो नयाँ नेपालमा हामीलाई पनि स्पेस दिनुपर्छ ।’

तर, कानुनी मान्यता मात्र होइन, लेक्स त नेपाली समाजले पनि गे म्यारिज वा यो समुदायको भावनालाई बुझ्नु पर्ने माग राख्छन् । 

 

लेक्सको ब्लग यात्रा र अहिले 

नेपाली भूमि छोडेर विदेश गए पनि लेक्सले सानोमा हुँदा नेपालमा रहेको माटोको सुगन्ध बिर्सिएका थिएनन् । झन्, उनलाई सानैदेखि वर्षेनीजसो आमाबाबुले नेपाल ल्याउँथे । पछि अलिक ठूलो भएपछि उनी वर्षेनी नेपाल आउन थाले ।

लन्डनमा पुगे पनि आठ कक्षा र नौ कक्षा पढ्न लेक्स नेपालमा नै आए । त्यसले उनको मनमा नेपालका फिल्म तथा अन्य विषयमा उठेका भावना लेखूँलेखूँ भयो । 

‘त्यति बेला म १५ वर्षको मात्र थिएँ,’ लेक्सले भने, ‘सन् २००७ को नोभेम्बरमा मैले पहिलो पटक ब्लग लेखेको थिएँ ।’ तर, ठूलो योजना बनाएर वा केही गर्छु भनेर नै लेक्सले ब्लगिङ सुरु गरेका थिएनन् । 

‘८ र ९ कक्षा नेपालमा पढेर बेलायत फर्किएपछि मेरो मनमा नेपालका सम्झना आइरहे, नेपालको झन् धेरै माया लाग्न थाल्यो,’ लेक्सले सम्झिए, ‘मिस गरिरहेको नेपाल सम्झिएर टाइम पास गर्न सुरुमा ब्लग लेखेँ । नेपालबारे चासो दिने तर नेपाली नबुझ्ने वा पढ्न नसक्ने पाठकलाई ध्यानमा राखेर मैले अंग्रेजीमा ब्लग लेख्न सुरु गरेको हुँ ।’

‘मेरा धेरै ब्लग सेलेब्रिटी, सिनेमा, मनोरन्जन तथा गीतहरुमा केन्द्रित भयो,’ लेक्सले भने, ‘म ब्लगमार्फत् आफ्ना अनुभूति सबैसामु राख्थेँ, नेपाली कला क्षेत्रको रुचि बढ्दै गएकाले त्यही विषयमा मैले बढी लेख्न थालेँ ।’

लेक्सले ब्लग लेख्न अहिले पनि छोडेका छैनन् । तर, उनलाई नेपाली समाजको आलोचनात्मक दृष्टि कमजोर हुँदै गएको आभाष हुन्छ । 

‘मैले मेरा ब्लगमार्फत् आलोचनात्मक सोच दिन चाहेँ,’ उनले भने, ‘तर, अब समय फेरिएको छ ।’

लेक्सका लागि यो फेरिएको समय भनेको के हो भने अहिले मानिसहरु ब्लग पढेर बस्ने फुर्सदमा हुँदैनन् । ‘अहिले त मानिसहरुसँग फुर्सद नै छैन,’ लेक्सले भने, ‘अहिले न मानिसहरु युट्युबमा लामा भिडियो हेरेर बस्छन्, न लामा ब्लग नै पढ्छन् । त्यसैले मैले त आफ्नै युट्युबका लागि पनि भिडियोहरु बनाउन छोडिसकेको छु ।’

लेक्स अब विस्तारै आफ्नो कामको शैली फेर्ने मुडमा पुगेका छन् ।

उनी त नेपालबाट बाहिर गएर बसेका नेपालीहरुको कथा आफू प्रस्तुत गर्न चाहन्छन् । ‘सबै मानिसहरुको आआफ्नै जीवन छ, आआफ्नै कथा छ,’ लेक्सले भने, ‘उनीहरुको जीवनबाट हामीले धेरै कुरा सिक्न सक्छौँ, त्यो हाम्रालागि ठूलो प्रेरणा हो नि ।’

तर, लेक्सले कहिलेदेखि बाहिर बस्ने सफल नेपालीहरुको अन्तर्वार्ता लिन थाल्छन् र प्रस्तुत गर्छन् भन्ने ठोस योजना बनाएका छैनन् । 

 

लेक्सको प्रोग्रामः ट्रेसिङ नेपाल– नेपाल घुम्न र घुमाउन

केहीअघि एउटा समूह लिएर लेक्स सिन्धुपाल्चाेककाे माझी गाउँ पुगेका थिए ।

लन्डनको किङ्स कलेजबाट लेक्सले टुरिज्म इन्भाइरनमेन्ट एन्ड डेभलेपमेन्टमा मास्टर्स गरे । 

अब उनी आफूले पढेको कोर्षले नेपाललाई पनि फाइदा पुगोस् भन्नेमा छन् । त्यसैले उनले सन् २०१४ बाट ट्रेसिङ नेपाल सुरु गरेका छन् । 

‘आफ्नो देशप्रति भावना जगाउन प्रत्येक नेपाली एकपटक नेपाल आउनै पर्छ, घुम्नुपर्छ,’ लेक्सले भने, ‘त्यसैलाई प्रतिनिधित्व गर्दै मैले ट्रेसिङ नेपाल चण्डिका गुरुङसँग मिलेर खोलेको हुँ । 

ट्रेसिङ नेपालले विदेशमा रहेका नेपाली युवाहरुलाई नेपाल घुमाउन ल्याउँछ । अधिकांश समयमा यो कार्यक्रम १५ दिने लामो हुन्छ । 

‘घुम्नेमात्र होइन,’ लेक्सले भने, ‘हामी विकट गाउँहरुमा पुगेर आफूले जानेका कुराहरु पनि सिकाउँछौँ,’ लेक्सले भने, ‘विदेशमा हुर्किइरहेका नेपाली मुलका युवाहरुलाई विकट गाउँ पुराएर आफ्ना अनुभव सेयर गर्न लगाउँदा नेपाललाई फाइदा पुग्छ भन्नेमा विश्वास लिएको छु ।’

लेक्सको कार्यक्रममा अहिलेसम्म जर्मनी, बेल्जियम, हङकङ, अमेरिकालगायत देशमा बसोबास गर्ने नेपालीहरु सहभागी भएका छन् । 

यता, नेपाल सरकार सन् २०२० लाई पर्यटन वर्ष मनाउने भन्दै धमाधम काम गरिरहेको छ । उता, लेक्सले पनि बेलायतमा पर्यटन वर्षका लागि योजना बनाइसकेका छन् । 

‘२०२० मा म दुई टोली लिएर नेपाल आउने योजना बनाइसकेको छु,’ लेक्सले भने, ‘यता, नेपालमा यसको तयारी निकै ढिला भइसक्यो, अहिले पनि सुस्त नै छ जस्तो मलाई लाग्छ । मानिसहरु भनेको समयमा नै नेपाल आउनका लागि अलिक पहिले देखि नै त्यसको तयारी गर्नुपर्छ ।’

लेक्सले २०२० मा ल्याउने दुई समूहमध्ये एक चाहिँ हङकङको समूह हो । अर्को रग्बी खेलाडीहरुको समूह हो ।

तर, लेक्सलाई अरुलाई जस्तै चिन्ता छ, नेपालमा आएका पर्यटक यहाँका पूर्वाधारका कारण अर्को पटक नफर्किने हुन् कि भन्ने । ‘यसले गलत सन्देश पनि जान सक्छ नि,’ लेक्सले भने, ‘यहाँ राम्रा होटलहरु बनिसकेका छैनन्, बाटोहरु राम्रा छैनन् । हामीले यस्ता कुरामा पनि ध्यान दिनु पर्ने हो ।’

उनीसँग प्रश्न छ, ‘के हाम्रा चिया पसल देखाएर हामीले सोचेजस्तै पर्यटक ल्याउन सक्छौँ त ?’

अनि जवाफ पनि उनीसँगै छ, ‘आउन त सक्छन्, तर उनीहरुले खास धेरै खर्च नगर्न पनि सक्छन् । त्यसैले हामीले देशमा आउने पर्यटकलाई चाहिँ राम्रो सुविधा दिन सक्नुपर्छ ।’

वर्षेनी नेपाल आउने लेक्स चाहिँ नेपाल आउँदा चितवन, पोखरा र काठमाडौं घुम्न छुटाउँदैनन् । ‘यी तीन ठाउँले हिमाल, पहाड र तराईको सौन्दर्य पस्किन्छन्,’ लेक्सले भने, ‘म त्यसमा आनन्दित हुन्छु, यसले छुट्टै आनन्द दिन्छ ।’


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्