Thu, 21 Nov, 2019


सन्दर्भ: बाबुकाे मुख हेर्ने दिन
बुबाबारे अमर न्यौपानेको संस्मरणः जसले ममा साहित्यकाे भाेक जन्माइदिनुभयाे
अमर न्याैपाने
फरकधार / भदौ १३, २०७६
सेताे धरती उपन्यासका लागि मदन पुरस्कार लिएपछि बा र आमासँग अमर न्याैपाने ।

सानोमा मैले बालाई बुझ्न सकिनँ । उहाँ एकदम कठोर हुनुहुन्छ जस्तो लाग्थ्यो; मेरै बा भए पनि मलाई माया गर्नुहुन्न भन्ने लाग्थ्यो; उहाँले मलाई काखमा राखेर कहिल्यै खेलाउनु भएन; कतै घुमाउन लैजानु भएन; कतैबाट आउँदा चकलेट किनेर ल्याइदिनु भएन । १४ वर्षको हुँदासम्म म बासँगै दुई÷चार रातमात्र सुतेँ होला । नत्र आमासँग सुत्थेँ, त्यसैले मलाई लाग्थ्यो, आमाले मलाई धेरै माया गर्नुहुन्छ, बाले गर्नुहुँदैन ।



तर, पछि अलिक बुझ्ने भएपछि बल्ल मलाई बाले गर्ने मायाको बोध भयो । उहाँको मायाको अनुभूति हुन थाल्यो । पहिले नयाँ चाडवाड आउँदा पनि बाले मलाई लुगा किनिदिनुहुँदैनथ्यो । उल्टो भन्नुहुन्थ्यो, ‘चाडवाड आएर लुगा किन्ने होइन, पुरानो भएर फाटेपछि किन्ने हो ।’ त्यतिबेला अरु साथीहरु कुनै चाड आएपछि नयाँ लुगा लगाउँथे, मसँग चाहिँ स्कुलको ड्रेसवाहेक अरु कपडा हुँदैनथ्यो । त्योबेला बाका कुराले मेरो चित्त दुख्थे, अहिले मलाई बाका तिनै कुरा जीवनमन्त्र सरह भएका छन् ।

अमर न्याैपानेका बा र आमा ।

अनि अहिले बुझ्न थालेको छु– मलाई बाले कहिल्यै उत्पातै नजिक र कहिल्यै उत्पातै टाढा राख्नु भएको रहेनछ । म सानैदेखि लेख्न तम्सिन्थेँ । लेख्थेँ पनि । बाले मैले लेखेको पढ्नु त भयो तर कहिल्यै प्रतिक्रिया दिनु भएन । निकै पछिसम्म पनि उहाँले मेरो लेखनबारे प्रतिक्रिया दिनु भएन । त्यसो त म आफैंलाई पनि आफ्नो लेखन बालाई देखाउने हिम्मत जुर्दैनथ्यो । त्यसमाथि मेरा बा कुनै पनि कुरामा हत्तपत्त प्रशंसा गर्ने स्वभावको हुनुहुन्न । मेरो पहिलो पुस्तकका रुपमा ‘पानीको घाम’ छापियो । त्यतिबेलासम्म मेरो मनमा उहाँप्रतिको डर हटेको थिएन, उहाँलाई त्यो पुस्तकको पाण्डुलिपी कसरी देखाउने होला भन्ने कुराले लामो समय मलाई पिरलेको थियो ।

फेरि मैले पुस्तकमा माया, बिछोड, प्रेम, यौन र जीवन दर्शनका कुराहरु थिए । ती कुराहरु पढेर बाले किताब नछाप भनिदिनु भयो भने मेरो पहिलो पुस्तक नै छापिँदैन भन्ने भयो । त्यसले अन्योल झन् बढायो । फेरि बालाई नदेखाई म पुस्तक प्रकाशन गर्न पनि सक्दिनथेँ । त्यसैले डराएरै भए पनि एकदिन हिम्मत जुटाएँ र बालाई पाण्डुलिपी दिएँ । बाले त्यो पाण्डुलिपी पढिसकेपछि भन्नुभयो– राम्रो छ ।

मलाई आश्चर्य लाग्यो । बाले त्यसरी कुनै कुराको प्रशंसा गर्नुभएको त्यो पहिलो पटक थियो । मैले उहाँले यस्तो सकारात्मक प्रतिक्रिया दिनुहोला भन्ने कल्पना पनि गरेको थिइनँ । बरु, उहाँलाई पाण्डुलिपी दिएको रात र भोलिपल्ट सुत्न सकेको थिइनँ, मनमा सकस भएको थियो, डरले जरा गाडेको थियो । तेस्रो दिन बाले पाण्डुलिपी दिनुभयो र भन्नुभयो– राम्रो छ । मेरो मन खुसी भयो । यो खुसी किन पनि थियो भने मेरा बा साहित्य राम्रो पढ्नुहुन्थ्यो । उहाँ त डायमन्ड शमशेर राणाको ठूलो ‘फ्यान’ हुनुहुन्थ्यो ।

उहाँ घरनजिकैको एउटा स्कुलमा पढाउनुहुन्थ्यो । स्कुल बिदा भएर घर आइपुग्न उहाँलाई ठ्याक्कै १० मिनेट लाग्थ्यो । समयबारे निकै सचेत हुनुहुन्छ बा, हिजो पनि हुनुहुन्थ्यो । घरमा आएर खाजा खाइवरी उहाँ पुस्तक पढ्ने, रेडियो सुन्ने गर्नुहुन्थ्यो । खाजा खाँदा उहाँले पढ्ने गरेका पुस्तकबारे म पनि चासो दिन्थेँ, उहाँका सबै पुस्तकमा गाता लगाइएका हुन्थे । यसले गर्दा मलाई पुस्तकप्रति उत्सुकता झन् बढाउँदै लगेको थियो, उहाँले कुन पुस्तक पढ्दै हुनुहुन्छ भन्ने थाहा पाउन मन लाग्थ्यो । अनि उहाँ यताउता गएको मौका पारेर म पुस्तक हेरिहाल्थेँ । त्यसरी घरमा बाले पुस्तक पढ्दापढ्दै कहिलेकांही गोठमा गाइवस्तु कराउँथे ।

उहाँ गोठतिर जानुहुन्थ्यो । अनि म त्यही मौका छोपेर पुस्तक पढिहाल्थेँ । उहाँ आउनुभयो जस्तो लागेपछि फेरि पहिलेकै पोजिसनमा पुस्तक राखिदिन्थेँ । मेरो बा कुनै पुस्तक पढ्न थालेपछि नसकिएसम्म पुस्तकलाई सिरानीमा राख्नुहुन्थ्यो । अनि बा गाउँतिर वा छिमेकतिर कतै लागेको समयमा म उहाँको सिरानीमा राखेको पुस्तक निकाल्थेँ र पढ्न थाल्थेँ । त्यसरी मैले डायमण्ड शमशेर राणाको उपन्यास ‘वसन्ती’ पढेँ ।

त्यो उपन्यासको पहिलो पानामा नै वसन्तीको चित्रण अत्यन्त मनमोहक ढंगमा गरिएको थियो । मलाई त्यसले मधुर स्पर्श गर्यो साहित्यमा लोभ्यायो । म त्यही पुस्तकबाट प्रभावित भएर नौ कक्षा पढ्दा एउटा उपन्यास लेखेको थिएँ । स्कुल पढ्दासम्म बा मलाई यस्ता किताब नपढ् भन्नुहुन्थ्यो । जब म एसएलसी पास गरेर कलेज पढ्न थालेँ, बाले मलाई साहित्यका किताब पढ्दा केही भन्नुभएन । त्यसपछि उहाँले मेरो पढ्ने बानीबारे पनि केही भन्नुभएन ।

सायद, उहाँले बुझिसक्नु भएको थियो, मेरो साहित्यमा रुची बढिसकेको छ । नत्र त्यसअघि स्कुलमा कविता, कथा लेखेर पुरस्कृत हुँदा पनि उहाँले केही भन्नुहुन्थेन, मेरा कविताबारे, मेरा कथाबारे केही भन्नुहुन्थेन । कुनै दिन पुरस्कार जितेँ भने एक वाक्यमा कुरा गर्नुहुन्थ्यो– ठिकै छ, कुनै पनि कुरामा पुरस्कार जित्नु भनेको राम्रो हो । सानोमा निकै धेरै डर पाले पनि मैले बिस्तारै बुझ्न थालेँ– मेरो बा मेरालागि बामात्र नभएर साथी पनि हुनुहुन्छ, मार्गनिर्देशक पनि । पानीको घाम, सेतो धरती, करोडौं कस्तुरी तीनै पुस्तकका पाण्डुलिपी उहाँलाई मैले देखाएको थिएँ । उहाँले तिनै पुस्तकका पाण्डुलिपीबारे मलाई प्रतिक्रिया दिनुभयो । त्यसले गर्दा मलाई उहाँसँग अझ नजिक बनायो । सेतो धरती लेख्दा मलाई बाले निकै सहयोग गर्नु भएको थियो ।

त्यसको खाका कोर्न उहाँले नै सहयोग गर्नु भएको थियो । त्यति बेला नै मैले प्रढ गरेको थिएँ, अब म बालाई सधैं मेरा पुस्तक प्रकाशनअघि देखाउने छु । त्यही भएर पनि मेरो केही समयपछि प्रकाशन हुने पुस्तक ‘गुलाबी उमेर’को पाण्डुलिपी पनि बालाई देखाइसकेको छु, बाले त्यसबारे पनि प्रतिक्रिया दिइसक्नु भएको छ । मेरो बा मेरो प्रेरणाको स्रोत हुनुहुन्छ । हिजो उहाँले आफूले पढिरहेको पुस्तक नलुकाई पढेको भए आज म जे हुने थिएँ, त्यो हुने थिइनँ । उहाँले लुकाएर नपढिदिनु भएको भए ममा पुस्तकप्रतिको उत्सुकता सायदै जन्मिने थियो ।

(फरक धारका कमल विष्टसँग न्याैपानले गरेकेा कुराकानीमा आधारित)


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्