काठमाडाैं– मुलुकमा भित्रिने रेमिट्यान्स बर्सेनि बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएकाे छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्म अर्थात् ११ महिनामा ७ खर्ब ९९ अर्ब रेमिट्यान्स भित्रिएको छ ।
गत आर्थिक वर्ष १७ प्रतिशतले रेमिट्यान्स बढेको छ । यसअघि हुन्डीलगायत विभिन्न अवैध माध्यमबाट रेमिट्यान्स भित्रिने गरेकाे भए पनि पछिल्लो समय औपचारिक माध्यमबाट पठाउने क्रम बढेकाले पनि रेमिट्यान्सको वृद्धि उच्च देखिएको राष्ट्र बैंकले जनाएकाे छ ।
राष्ट्र बैंक प्रवक्ता लक्ष्मीप्रपन्न निरौला भन्छन्, ‘हुन्डी कारोबार निरुत्साहित हुँदै जाँदा रेमिट्यान्समा असर परेको हो’ उनले भने ‘अर्कोतर्फ विदेसिने कामदारमा दक्षता बढ्दा रेमिट्यान्समा प्रभाव परेको हो ।’
गत आर्थिक वर्षमा नेपालमा धेरै रेमिट्यान्स पठाउनेमा ‘टप टेन’को सूचीमा अमेरिका पहिलाे राष्ट्र बनेकाे छ भने भारत दोस्रो स्थानमा पर्न सफल भएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालमा अमेरिकाबाट आउने रेमिट्यान्स सबैभन्दा उच्च छ । गत आर्थिक वर्ष अमेरिकाबाट मात्रै १ अर्ब ६४ करोड डलर रेमिट्यान्सका रूपमा भित्रिएको छ ।
अन्य मुलुकबाट आउने रेमिट्यान्सभन्दा अमेरिकाबाट आउने रेमिट्यान्स झन्डै दोब्बर छ । गत वर्ष भारतबाट ८१ करोड डलर रेमिट्यान्स भित्रिएको छ । त्यस्तै साउदी अरेबियाबाट ७८ करोड, युएईबाट ७४ करोड, मलेसियाबाट ६५ करोड, जापानबाट ५८ करोड रोमानियाबाट ४९ करोड डलर रेमिट्यान्स भित्रिएको छ ।
धेरै रेमिट्यान्स पठाउने टप टेन मुलुककाे सूची
देश भित्रिएको रेमिट्यान्स डलरमा
अमेरिका १ अर्ब ६४ करोड
भारत ८१ करोड १९ लाख
साउदी अरब ७८ करोड ४२ लाख
यूएई ७४ करोड ४७ लाख
मलेसिया ६५ करोड ५१ लाख
जापान ५८ करोड ५२ लाख
रोमानिया ४९ करोड २० लाख
कोरिया २८ करोड ९६ लाख
बहराइन २० करोड ९४ लाख
कतार १६ करोड ६० लाख
स्रोतः नेपाल राष्ट्र बैंक
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।