कस्मिरका पहिलो मुस्लिम राजा, जो शरणार्थी बौद्ध राजकुमार थिए, जसकी रानी हिन्दु राजकुमारी थिइन्

७० वर्षअघि जम्मु–कस्मिर स्वतन्त्र राज्य थियो । सन् १९४७ को भारत–पाक विभाजनले भने जम्मु–कस्मिरको नक्सै बदलिदियो । विभाजनपछि सीमानामा पर्ने सुन्दर पहाडी राज्य जम्मु–कस्मिरमाथि दुवैले आँखा गाड्न थाले । 

बहुसंख्यक जनता मुस्लिम भएकाले जम्मु–कस्मिर आफूतिर आउनुपर्ने पाकिस्तानको दाबी थियो । राजा हिन्दु भएकाले जम्मु–कस्मिर आफूतिर आउनेमा भारत ढुक्क थियो । जम्मु–कस्मिर भने कतै पनि विलय नभई यथास्थितिमै रहन चाहन्थ्यो । तर, त्यस्तो हुन सकेन । 

भारत–पाक द्वन्द्वले कस्मिरको स्वतन्त्र अस्तित्व मात्रै सकेन । यो स्वर्गको टुक्रालाई सायद कहिल्यै अन्त्य नहुने विवादको भुमरीमा धकेलिदियो । अस्तित्व छोडेर विलय रोज्दा पनि सिंगो जम्मु–कस्मिर कुनै एकको हुन सकेन । 

आज जम्मु–कस्मिर तीन टुक्रामा विभाजित छ । तीन ठूला छिमेकी चीन, भारत र पाकिस्तानले यसको एक–एक टुक्रामा राज गरिरहेका छन् । तर, चीनलाई छोडेर बाँकी दुईले सिंगो जम्मु–कस्मिरमाथि दाबी छोडेका छैनन् । जसका कारण, सात दशकपछि पनि यो भूमि दुई छिमेकीबीचको स्थायी तनावको क्षेत्र बनिरहेकै छ । दुई साँढेको जुधाइबीच जम्मु–कस्मिरका जनता मिचिइरहेकै छन् । 

जम्मु–कस्मिरको यो हबिगत हुनुको मुख्य कारण थियो, यहाँको धार्मिक समीकरण । त्यतिखेर, अधिकतर जनता मुस्लिम, शासक भने हिन्दु भएकै कारण जम्मु–कस्मिरले आजको नियति भोगिरहेको इतिहासकारहरुको बुझाइ छ । 

१९४७ को अगस्टमा भएको भारत–पाक विभाजनपछि जम्मु–कस्मिरका राजा हरि सिंहले छुट्टै बस्न पाकिस्तानसँग सन्धि गरेका थिए । तर, हिन्दु राजा हरि सिंहमाथि पाकिस्तानलाई खासै विश्वास थिएन । उनी भारततिर ढल्किहाल्छन् कि भन्ने आशंकाले १९४७ कै अक्टोबरमा पाकिस्तानी फौजले जम्मु–कस्मिरमाथि धावा बोल्यो ।



हरि सिंहले सहयोगका लागि भारतलाई गुहारे । भारतले जम्मु–कस्मिरलाई आफूमा विलय हुने भए मात्र सहयोग गर्ने बतायो । हरि सिंह विलयका लागि राजी भए, तर उनले जम्मु–कस्मिरलाई विशेष राज्यको मान्यता दिनुपर्ने सर्त राखे । छुट्टै संविधान, आफ्नै राष्ट्रिय झन्डा र नागरिकता चलाउन पाउने अधिकारसहित विशेष राज्यको मान्यता दिन भारत तयार भयो ।

विलयको सन्धिपछि जम्मु–कस्मिरमा भारतीय सेना पस्यो । त्यसवेलासम्म पाकिस्तानले जम्मु–कस्मिरको एक–तिहाइजति हिस्सा कब्जा गरिसकेको थियो । बाँकी भाग भारतको नियन्त्रणमा गयो । 



जम्मु–कस्मिरमा मुस्लिम समुदायको उदयको कहानी भने बाँकी भारतवर्षमा भन्दा बेग्लै छ । 

१५०० वर्षअघिसम्म भारतीय उपमहाद्वीपमा मुस्लिम धर्मको खासै अस्तित्व थिएन । अहिलेका इस्लामिक मुलुक पकिस्तान, बंगलादेश, अफगानिस्तान त्यतिवेला हिन्दुभूमि थिए, र भारतकै हिस्सा थिए । इसाको सातौँ शताब्दीदेखि अरब र टर्कीका मुस्लिम शासकहरुले यहाँ आक्रमण गर्न थाले ।

अरबी खालिफा, टर्कीका महमुद गजनी, मुहम्मद गौरी, मुगल शासक बाबर, अकबर लगायत मुस्लिम शासकले अहिलेको पाकिस्तान, अफगानिस्तान, भारत, बंगलादेश, श्रीलंकाका विभिन्न भागमा कब्जा जमाए, र शासन गरे । उनीहरुले भारी मात्रामा धर्मान्तरण गराए । र, भारतवर्षमा ठूलो मात्रामा मुस्लिम समुदायको उदय भयो । 

तर, जम्मु–कस्मिरमा भने न खालिफाले अधिन जमाउन सकेका थिए, न त महमुद गजनी, मुहम्मद गौरी, या बाबरले नै । महमुद गजनी त दुईपटकसम्म जम्मु–कस्मिरबाट नमिठो हार चाखेर फर्किएका थिए । पछि, सम्राट अकबरको पालामा केही समय मात्र यो क्षेत्र मुगल साम्राज्यमा जोडिएको थियो । 

जम्मु कस्मिरमा मुस्लिम धर्मको प्रचार स्वयं यहाँका हिन्दु राजा हर्षदेवले गरेका थिए । ११औँ शताब्दीको अन्त्यतिर दुई दशकभन्दा बढी जम्मुकस्मिरको राजगद्दी सम्हालेका हर्षदेवमाथि इस्लाम धर्मको गहिरो प्रभाव परेको थियो । उनी इस्लामबाट यति प्रभावित भए कि उनले आफूले मूर्तिपूजा मात्र छोडेनन्, कस्मिरमा रहेका सारा मूर्ति, हिन्दु मन्दिर र बौद्ध स्तुपहरु ध्वस्त पार्नसमेत लागे । यसका लागि उनले ‘देवोत्पतन नायक’ नामक विशेष पद नै सिर्जना गरेका थिए । हर्षदेवले टर्किस सेनानायकहरुलाई आफ्नो सेनामा नियुक्तसमेत गरेका थिए ।

हर्षदेवको शासनकालमा सिन्धु नदी आसपासका दराद जनजातिका मानिसले भारी संख्यामा धर्मान्तरण गरेर इस्लाम स्वीकार गरेका थिए । अहिलेको कस्मिर घाटीका मुस्लिमहरु उनीहरुकै वंशज भएको बताइन्छ । बाँकी समुदायमा पनि मुस्लिम धर्मको प्रभाव बढ्दै गयो । राजा र सामन्तहरुबीचको आपसी लडाइँमा पिल्सिएका कस्मिरी जनतामाझ लामो समय इस्लामीकरणको लहर चल्यो । यसमा टर्कीबाट आएका सुफी धर्मप्रचारकको महत्वपूर्ण भूमिका रह्यो ।   

कस्मिरमा इस्लाम प्रचारको पूरै कालक्रममा सबैभन्दा रोचक मोड त त्यतिखेर आयो, जब कस्मिरले आफ्नो पहिलो मुस्लिम राजा पायो । यस्तो मुस्लिम राजा, जो एक तिब्बती बौद्ध राजकुमार थिए, जसकी रानी एक हिन्दु राजकुमारी थिइन् । 

१४औँ शताब्दीको सुरुका दुई दशक जम्मु–कस्मिरमा राजा सहदेवको शासन थियो । त्यतिवेलासम्म सुफी धर्मप्रचारकको प्रभावमा परी बहुसंख्यक कस्मिरी जनताले इस्लाम कबुल गरिसकेका थिए । कस्मिरी जनताले आफ्नो पहिलो मुस्लिम राजाको खोजी सुरु गरेका थिए ।

त्यसपछिका दुई दशक भने कस्मिरका लागि भारी उथल–पुथलको समय रह्यो । युद्ध, षड्यन्त्र, विद्रोह र काटमारका बीच यी दुई दशक बिते । 

सहदेव एक कमजोर शासक थिए । खासमा, सहदेवको नाममा उनका प्रधानमन्त्री तथा सेनापति रामचन्द्रले शासन चलाइरहेका थिए । रामचन्द्रकी सुन्दर, मेधावी पुत्री कोटा शासनमा बाबुलाई सहयोग गर्थिन् । 

यसैबीच, तिब्बतबाट भागेर आएका राजकुमार रिनचेन केही सय सैनिकका साथ कस्मिर पुगे । रिनचेनका पिता गृहयुद्धमा मारिएका थिए । उनी भने ज्यान बचाएर भागेका थिए । रामचन्द्रले रिनचेनलाई शरण दिए । 

लगत्तै, स्वात घाटीबाट साह मिर नामका एक मुस्लिम सेनानायक पनि आफ्नो परिवार र आफन्तका साथ कस्मिर पुगे । उनलाई कुनै संन्यासीले भनेका थिए कि उनी कुनै दिन कस्मिरको शासक बन्नेछन् । आफ्नो त्यही सपना साकार गर्न उनी त्यहाँ गएका थिए । रामचन्द्रले उनलाई पनि शरण दिए । अब रामचन्द्र, कोटा, रिनचेन र साह मिर मिलेर कस्मिरको शासन हेर्न थाले । 

यसैबीच, मध्य एसियाका एक क्रूर शासक दुलचुले झेलम घाटीतिरबाट कस्मिरमाथि आक्रमण गरे । लड्नुको साटो राजा सहदेव भागेर किस्तवाड गए । दुलचुले आठ महिनासम्म कस्मिरमा उत्पात मच्चाए । रासनपानीको अभाव हुन थालेपछि उनी दर्रोको बाटो भारतको मैदानी भूभागतर्फ बढे । तर, हिम–तुफानमा फसेर दुलचु र उनका हजारौँ सैनिकले ज्यान गुमाए । 

कस्मिरमा सत्ताको बागडोर रामचन्द्रले सम्हाले । दुलचुले कस्मिरलाई पूरै बर्बाद गरिदिएका थिए । रामचन्द्र राजा बनेको देखेर रिनचेनको मनमा पनि महत्वाकांक्षा पलायो । मौका हेरेर रिनचेनले विद्रोह गरे । उनले षड्यन्त्रपूर्वक रामचन्द्रको हत्या गरिदिए र कस्मिरको राजगद्दी हत्याए । राजकुमारी कोटासामु कुनै विकल्प रहेन, अनेक प्रयत्नपछि हार मानेर उनले रिनचेनसँग विवाह गरिन् । उनका भाइ (रामचन्द्रका छोरा) रावणचन्द्रलाई पनि शासनमा प्रमुख स्थान मिल्यो । सम्भवतः उनी रिनचेनका सेनापति बने । 

रिनचेन अझै पनि आफूलाई लामा नै मान्थे । रानी कोटा भने उनलाई हिन्दु बनाउन चाहन्थिन् । त्यसमाथि, रिनचेनसामु कस्मिरी जनताबाट वैधता हासिल गर्ने चुनौती थियो । सायद यसैकारण, उनी हिन्दु धर्म अपनाउन राजी पनि भए । 

तर, यो उनका लागि सहज भएन । भनिन्छ, त्यसवेलाका कस्मिरी शैव गुरु ब्राह्मण देवस्वामीले उनलाई हिन्दु धर्ममा सामेल गर्न अस्वीकार गरिदिए । यसका मूलतः तीन कारण थिए । पहिलो, रिनचेन तिब्बती बौद्ध थिए । दोस्रो, उनी आफ्ना ससुरा हिन्दु राजा रामचन्द्रका हत्यारा थिए । तेस्रो कारण, यदि उनी हिन्दु राजा स्विकारिन्थे त उनलाई उच्च जातिमा सामेल गर्नुपर्थ्यो । 

अन्त्यमा, हार मानेर रिनचेनले इस्लाम कबुल गरे । कतिपय विद्वान उनले मुस्लिम धर्म अपनाउनुको पछाडि मुस्लिम बहुल हुँदै गएको राज्यमा उनको राजनीतिक सुरक्षा र महत्वकांक्षा पनि जिम्मेवार देख्छन् । 

इस्लाममा दीक्षित भएपछि रिनचेनलाई सुफी प्रचारक बुलबुल साहले ‘सदर–उद–दीन’ नाम दिए । यसको अर्थ हो– धर्मको मुखिया । यसरी, उनी कस्मिरका पहिलो मुस्लिम शासक बने । रिनचेनपछि सेनापति रावणचन्द्रसमेत थुप्रै उच्च अधिकारी बुलबुल साहको प्रभावमा मुस्लिम बने ।

एजेन्सीको सहयोगमा

  • प्रकाशित मिति : भदौ १४, २०७६ शनिबार २३:५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया