आज दर खाने दिन

काठमाडौं– हिन्दू नारीहरुको महान् पर्व हरितालिका तीजको पहिलो दिन आज दर खाएर मनाइँदै छ । माइतीले आफ्ना चेलीहरूलाई बोलाएर विभिन्न मीठामीठा परिकार खुवाएर यस दिनलाई रमाइलोसँग मनाउने गर्छन् । विशेष गरी विवाह गरेर गएका छोरीचेलीहरू माइतीघरमा आएर खिर, घिउ, दूध, दही, मिठाई, फलफूललगायतका परिकारलाई दरको रूपमा खाने गर्छन् ।

तीजको दिन निराहार व्रत बसेर पूजा गर्ने भएकाले अघिल्लो दिन राति दर खाने चलन छ । तीजको दिन महिलाहरू नाचगान गर्दै शिवको पूजा गरेर निराहार व्रत बस्छन् । तर पछिल्लो समयमा आएर महिनौं अगाडिदेखि दिदीबहिनीहरू जम्मा भएर दर खाने संस्कृति बढ्दै गएको छ ।

परापूर्वकालमा पार्वतीले शिवलाई स्वामी पाउँ भनी निराहार व्रत बसेको र उनको मनोकामना पूरा भएको धार्मिक किंवदन्तीका आधारमा अविवाहित महिलाहरू असल पति पाउन र विवाहित महिलाहरू श्रीमानको दीर्घायुको कामना गर्दै ब्रत बसेर महादेवको पूजाआजा गरेर तीज मनाउने गर्छन् । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म गरी तीज चार दिन मनाइन्छ ।

नेपाली हिन्दू महिलाहरुद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्य रूपमा नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइने गरेको पाइन्छ । तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमीलाई तीज पर्वकै रूपमा लिइन्छ ।

विवाहित महिलाहरू पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै भगवान् शिव तथा आद्य शक्ति पार्वतीसँग प्राथना गर्दछन् । यो दिन महिलाहरू बिहान चाँडै उठी नुहाइधुवाइ गरेर दिनभरि जल अन्न ग्रहण नगरी व्रत बस्ने र विभिन्न शिवपीठहरूमा जम्मा भई नाचगान गरी मनाउने गर्दछन् । तीजको दिन काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा महिला व्रतालुहरूको ठूलो भीड लाग्ने गर्दछ । हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीलाई साे कुरा मन परेन ।

पार्वतीले आफूले मन पराएको वर पाउन जंगलमा गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिंगको स्थापना गरी पानी पनि नपिईकन निर्जल व्रत बसिन् ।



पार्वतीको कठोर व्रतका कारण शिवजी प्रकट भएर चिताएको कुरा पुरा होस् भन्ने आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह भयो । त्यो दिन भाद्रशुक्ल तृतीयाको थियो । सोही तिथिदेखि हिन्दू नारीहरुले यस दिनलाई पर्वका रूपमा मनाउन थालेको विश्वास गरिन्छ ।



  • प्रकाशित मिति : भदौ १५, २०७६ आइतबार ९:२५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया