Sat, 23 Nov, 2019


[ब्लग] एकदिन व्रत बसेर श्रीमान्‌काे आयु लामाे हुन्छ भन्ने विश्वास लाग्दैन : ऋचा शर्मा
ऋचा शर्मा
फरकधार / भदौ १६, २०७६

मलाई तीज एकदमै मन पर्ने चाड हो । यो महिलाको मुख्य पर्व हो । म आफू शिवभक्त भएर पनि होला, मलाई तीज निकै रमाइलो लाग्छ । एक महिना अघिदेखि तास खेलेर दसैं मनाइछ भने तीज पनि एक महिना अघिदेखि दर खाएर, नाचगान गरेर मनाउँदा मलाई केही नराम्रो लाग्दैन ।



३ सय ६५ दिन नै घरपरिवारको सेवामा समर्पित हुने महिलाका लागि यो समय आफूलाई सबै कुराबाट टाढा राखेर रमाउने, नाचगान गर्ने, दिदीबहिनी भेटघाट गर्ने पर्व पनि हो यो । आफूसँग भएको भन्दा धेरै देखाउन चाहने, देखासिकी गर्नेे तीजमा मात्र नभई अन्य चाडपर्व, बिहे, तथा विभिन्न सभा समारोहहरूमा पनि हुन्छ । यसलाई तीजमा आएको विकृति भनेर भन्न मिल्दैन ।

हाम्रो समाज त्यसरी नै विकिसित हुँदै आएको हो । गहना र कपडा प्रदर्शन गर्ने त हाम्रो परम्परा नै हो । आफूसँग लाउन सक्ने क्षमता हुँदा त ठिकै हो, तर ऋण गरेर तामझाम, देखासिकी गर्नुचाहिँ गलत नै हो । अहिले त नयाँ लुगा, गहना जसरी पनि किन्नैपर्ने भएको छ । यो एउटा सामाजिक दबाबजस्तै भएको छ । म अहिलेसम्म तीजमा व्रत बसेकी छैन । तर व्रत बस्ने महिलालाई नराम्रा हुन्, व्रत बस्नु नराम्रो हो भनेर भन्न खोजेको पनि होइन । एक दिन व्रत बसेर श्रीमान् वा हुनेवाला श्रीमान्को आयु तथा स्वास्थ्य राम्रो हुन्छ भन्ने कुरामा विश्वास गर्दिनँ ।

त्यसमाथि मलाई यो पुरुषहरूको खुट्टाको पानी खानु त अत्ति नै लाग्छ । म यसको विरोध गर्छु । महिलावादीहरू तीजको विरोध गर्छन् होला । यसलाई नराम्रो किसिमले व्याख्या गर्छन् होला । तर मचाहिँ त्यस्तो केही भन्दिनँ । यदि कसैलाई श्रीमान् वा हुनेवाला श्रीमान्को आयु लामो हुन्छ, स्वास्थ्य राम्रो हुन्छ भनेर व्रत बस्छन् भने त्यो ठिकै हो । आआफ्नो आस्थाको कुरा हो ।

कसैलाई कुनै पनि कुरामा आस्था राखेर मन शान्ति हुन्छ, राम्रो अनुभव हुन्छ भने त्यो मान्नुपर्छ । तर, जबर्जस्ती आफ्नो आस्था अरूमा लाद्नु हुँदैन । यदि म कुनै काम गर्दा खुसी छैनँ, अरूले जबर्जस्ती गरेको भरमा मात्र का गर्दै छु भने मलाई लाग्दैन कि त्यो कर्म गरेर मैले धर्म कमाउँछु ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्