संसदले खरिद गरेका सबै गाडीमा प्रविधिक कमजोरी रहेको छानबिन समितिको ठहर

काठमाडौं– संसदीय समितिका सभापतिहरुले चढ्ने प्रयोजनका लागि संघीय संसदले खरिद गरेका सबै गाडीमा प्रविधिक कमजोरी भएको प्रमाणित भएको छ । गाडीमा देखिएको कमजोरीबारे अध्ययन गर्न गठित छानविन समितिले सबै गाडीमा प्राविधिक कमजोरी भेटिएको जनाएको छ।

ती गाडीमा समस्या आएपछि सोबारे छानबिनका लागि राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा सांसदहरु तारादेवी भट्ट, कृष्णभक्त पोखरेल, भरतकुमार शाह र कृष्णप्रसाद दाहाल सदस्य थिए । 

सो छानबिन समितिले मंगलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा संघीय संसदले खरिद गरेका ११ वटा गाडीमा प्राविधिक कमजोरी पाइएको उल्लेख गरिएको छ भने तीनवटा गाडी कामै नलाग्ने अवस्थामा रहेको उल्लेख गरिएको छ । 

संयोजक बिडारीका अनुसार प्राविधिक त्रुटि भेटिएका गाडी एक हप्ता भित्र मर्मत गरी संसद सचिवालयमा बुझाउन र कामै नलाग्ने अवस्थामा रहेका गाडी आपूर्तिकर्तालाई नै फिर्ता गराउन पनि संसद सचिवालयलाई निर्देशन दिइएको छ । कामै नलाग्ने गाडी फिर्ता लिन इन्कार गरे सम्बन्धित आपूर्तिकर्तालाई कानुनबमोजिम कारबाही गर्न पनि सिफारिस गरेको छ ।

छानबिन समितिले प्राविधिक, सार्वजनिक खरिद ऐन र गाडी कम्पनीसँग सोधपुछ सो प्रतिवेदन तयार गरेको जनाएको छ । छानबिनका क्रममा सबै गाडीको पार्ट्स नमिलाई राखिएको पाइएको जनाइएको छ । सो गाडी खरिद प्रक्रिया भने कानुनसम्मत रहेको छानबिन समितिको ठहर छ ।

सो प्रतिवेदन ग्रहण गर्दै सभामुख महराले त्यसको अध्ययन गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । 





  • प्रकाशित मिति : भदौ १७, २०७६ मंगलबार १६:५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया