Sat, 23 Nov, 2019


जोगी बन्न हिँडेका एक अर्बपतिको कथा
उज्जवल राज घिमिरे /एजेन्सीकाे सहयाेगमा
फरकधार / भदौ १९, २०७६

लन्डनका एन्डी पुदिकोम्बको जीवनमा जे सोचिएको थियो, त्यो भएन । जे सोचिएको थिएन, तिनै घटनाहरुले उनको जीवनलाई अगाडि बढाउँदै लगे । विभिन्न त्रासदीहरुले उनी हिँडिरहेको बाटो मोडिदिए, नयाँ ट्र्याकमा एन्डीलाई धकेलिदिए ।



यो एन्डी २२ वर्षको हुँदाको कुरा हो । एक रात उनी साथीहरुसँग लन्डन पव अगाडि बसिरहेका थिए । त्यही समयमा एउटा गाडी उनीहरु बसेकै ठाउँमा आयो । अनि त्यो गाडीले एन्डीका दुई साथीहरुलाई किचिदियो । 

एन्डीको आँखैअगाडि ती दुई साथीको मृत्यु भयो ।

पवमा रमाइलो मनाउन त्यहाँ पुगेका थिए, एन्डी । तर, दुई साथीको मृत्युले उनलाई जीवनभर नमेटिने चोट दियो । विस्तारै यो आलो घाउ ठिक हुँदै थियो, एन्डीको जीवनमा अर्को बज्रपात आइपर्यो– उनकी दिदीको मृत्यु भयो । 

अब जीवनबाट विरक्तिन थाले, एन्डी । तर, उनले होस गुमाइसकेका थिएनन् । 

मानिसहरु भन्छन्– दुःखपछि सुख आउँछ । एन्डीले पनि त्यही सोचे । दुःखका श्रृङ्खला सकिएको हुनसक्ने अनुमान उनले गरे । 

तर, उनले सोचेजस्तो भएन । दिदी गुमाएको केही समयमा उनले फेरि जीवनबाट एक प्रिय पात्र गुमाउनु पर्ने भयो । उनी थिइन्– एन्डीकी प्रेमिका । 

साथीहरु, दिदी र प्रेमिका गुमाइसकेपछि एन्डीले निचोड निकाले– जीवन निरस छ, जीवनमा एक्लोपनाबाहेक अरु केही छैन । अनि उनले यो सांसारिक जीवनको मोहलाई तिलान्जली दिने सोच बनाए । उनी सुरिए, बौद्ध भिक्षु हुन ।

केही दिनमा नै ब्याग प्याक गरेर एन्डी तिब्बततिर हानिए । उनले खेलकुद विज्ञानमा मास्टर्स गरिरहेका थिए त्यति बेला । त्यसलाई बीचैमा छाडिदिए । 

लन्डनबाट २३ वर्षमा भिक्षु बन्न हिँडेका एन्डीले त्यसपछि जीवनको खास अर्थ बुझ्न पाए । एशियाली देशहरुमा उनले निकै समय बिताए, कम्तिमा १० वर्ष । यी दश वर्षमा एन्डीको कुनै काम थियो भने एउटै थियो– ध्यान । 

उनले दैनिक १६ घन्टासम्म ध्यान गर्न थाले । 

‘ध्यानले नै मेरो जीवनमा परिवर्तन ल्यायो,’ एन्डीले बिबिसीसँग कुराकानी गर्दै भनेका छन्, ‘ध्यानकै कारण मैले आफूलाई बिर्सन पाएँ, बरु अरुलाई कसरी खुसी बनाउने भन्ने सिक्न पाएँ ।’

४६ वर्षका एन्डी जब २३ वर्षअगाडिको त्यो समयमा फर्किन्छन्, उनी सबैभन्दा पहिले आफ्नो परिवारलाई सम्झन्छन् । किनकि भिक्षु बन्ने प्रणका साथ घरबाट निस्किएका एन्डीलाई देखेर उनको परिवार अचम्ममा परेको थियो, साथीभाइलाई ठूलो आश्चर्यले घेरेको थियो । ‘तर, मेरो निर्णयमा उनीहरुको साथ थियो,’ एन्डीले भनेका छन्, ‘म किन जोगी हुन चाहन्छु भन्ने उनीहरुले सोधेनन्, अचम्ममा परे तर साथ दिइरहे ।’

ती १० वर्ष एन्डीले जोगी जीवन बिताए । उनलाई लोभ, लालसा, क्रोध, मोह केहीले पनि लोभ्याएन, ध्यानले नै उनको मन र मस्तिष्क कब्जा गरिरह्यो ।

सन् २००५ । फेरि एन्डीको जीवनमा परिवर्तन आयो । ध्यान गरिरहेका उनले व्यवसाय सुरु गर्ने योजना बनाए । अनि उनी बेलायत फर्किए । एशियाली मुलुकमा ध्यान गरेर फर्किएका एन्डीले थाहा पाइसकेका थिए– बेलायतमा ध्यान भन्ने कुरा त्यति रुचाइँदैनथ्यो, यसको प्रयोग व्यापक रुपमा हुन पनि सकेको थिएन ।

‘कतिले त ध्यानको भाषालाई हिप्पीको भाषा भनिदिन्थे,’ एन्डीले भनेका छन्, ‘फेरि मान्छेहरुसँग ध्यानका लागि समय थिएन, कसरी गर्ने भन्ने पनि जानकारी थिएन ।’ 

यही मानिसहरुलाई थाहा नभएको कुरामा उनले आफ्नो बिजनेसको स्कोप देखे । अनि आफ्नै घरमा ध्यान केन्द्र खोले । दिनभर अफिसबाट थाकेर आएका मानिसहरुलाई उनले ध्यान सिकाउन थाले । 

केही समयमा नै एन्डीलाई राम्रो हुन थाल्यो । दिनभर काममा व्यस्त भएका थकित व्यवसायीहरु पनि उनीसँग ध्यान सिक्न आउन थाले । उनीहरुले विस्तारै ध्यानले आफूलाई सहज हुन थालेको बताउन थाले । 

त्यसरी एन्डीसँग ध्यान सिक्न एकदिन आइपुगे, रिचर्ड पियर्सन । यी दुईको कुरा मिल्यो, उनीहरुले एन्डीले सुरु गरेको ध्यान व्यवसायलाई अझ वृहत बनाउने सोच बनाए । 

३८ वर्षका रिचर्ड र एन्डी मिलेर सँगै काम गर्ने भए । 

रिचर्ड लन्डनमा विज्ञापन एजेन्सीमा काम गर्थे । उनी महत्वाकांक्षी थिए, चुनौतिहरुको सामना सहजै गर्थे । मेहनेत र परिश्रम, लगाव र दृढताका कारण उनी छिट्टै ठूलो पदमा पुगेका थिए । तर, उपल्लो पदमा पुगेका उनको जिम्मेवारी पनि बढ्दै गएको थियो । ती जिम्मेवारीले उनलाई चिन्तित बनाउँदै लग्यो, उनी सधैं हतास मनस्थितिमा देखिन थाले । ‘म सोसल एन्जाइटीको समस्याले ग्रस्त भइसकेको थिएँ,’ उनले भनेका छन्, ‘यसबाट उम्किन खोज्दा मैले एन्डीसँग भेट्न पाएँ ।’

आफू असामाजिक भएको महसुस गरिरहेका थिए रिचर्ड । ‘मलाई सामाजिक हुनु पर्ने कुराले चिन्तित बनाइरहेको थियो,’ रिचर्डले भनेका छन्, ‘मैले एन्डीलाई भेटेर ध्यान गरेपछि मलाई थाहा भयो कि मेरो दिमागमा धेरै विचार छन्, मेरो जीवन बहुलठ्ठी पारामा अगाडि बढिरहेको छ । यो सब व्यवस्थापन हुने थाहा पाएपछि म उत्साहित भएँ ।’

रिचर्डले आफ्नो जीवनमा आएको परिवर्तनलाई बुझ्न थाले । अनि उनले एन्डीसँग मिलेर व्यवसाय गर्ने सोच बनाए । 

यी दुई मिलेर सुरु भएको एउटा एप जन्मियो– हेडस्पेस । विश्वमा नै अत्यन्त लोकप्रिय यो एप अहिले ५ करोडभन्दा धेरैले डाउनलोड गरिसकेका छन् । यसको वाषिर्क आम्दानी १० करोड अमेरिकी डलरभन्दा माथि छ ।

मासिक ९.९९ डलर तिरेर चालउन सकिने यो एपको विशेष काम भनेको प्रयोगकर्तालाई ध्यान गर्न सिकाउनू । 

हतार हतार समय अभावमा दौडिरहेको बेलायतमा यो एप त्यति बेला नै चचौमा आयो । द गार्जियनजस्ता ठूला पत्रिकाहरुले यसबारे लेख्न थाले । बेलायतमा चर्चामा पुगेको यो एपलाई एन्डी र रिचर्डले अमेरिकामा फैलाउने सोच बनाए, उनीहरु लस एन्जलस गए । सन् २०१३ देखि यो व्यवसायको मुख्यालय लस एन्जलसमा छ । 

सुरुमा सानो लगानीबाट सुरु भएको थियो, हेडस्पेस । तर, अहिले त यो व्यवसाय निकै ठूलो भइसकेको छ । सन् २०१४ देखि यो एन्डी र रिचर्डले आफ्नो व्यवसायमा बाहिरी लगानी पनि स्वीकार गरे । त्यसैले अहिले यसका लागि बाहिरबाट मात्र रिचर्ड र एन्डीले ७५० लाख अमेरिकी डलर भित्र्याइसकेका छन् । 

अनि यो कम्पनीले अहिले ३ सयभन्दा धेरैलाई रोजगारी दिइरहेको छ । 

यो एपमा आउने आवाज एन्डीको नै हो । उनी नयाँ नयाँ पोडकास्टहरुमा पनि आवाज दिइरहेका हुन्छन् । 

तर, एपबाहिर एन्डीलाई चिन्ने छन् कि छैनन् ? 

‘प्रायः विमानस्थल र रेष्टुरेन्टहरुमा मानिसहरुले मेरो आवाज चिन्छन्,’ एन्डीले एउटा रमाइलो घटना पनि सुनाएका छन्, ‘केही अगाडि मेरो डेन्टिस्टले काम गर्न सकिनन्, उनले हेडस्पेस प्रयोग गर्ने रहिछिन् । हामीले ध्यानको विषयमा कुरा गरेका थियौँ ।’

हेडस्पेसका प्रयोगकर्ता अझ बढ्दै छन्, गुगल, लिन्क्डइन, जनरल मोटर्स, युनिलिभरजस्ता ठूला कम्पनीका म्यानेजर तथा कर्मचारीहरुलाई एन्डीहरुले नै ध्यान गर्न सिकाउँछन्, तनावबाट मुक्त बनाउँछन् र व्यवसायमा सफल बनाउँछन् । 

जोगी बन्न हिँडेको लन्डनको एउटा केटो एन्डी अहिले लस एन्जलसमा अर्बपतिको जीवन बिताइरहेको छ । अब यो जीवनमा आइसकेपछि पनि के एन्डी आफैं ध्यान गरिरहन्छन् त ? 

‘हरेक दिन,’ एन्डीले भनेका छन् । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्