सुदूरपश्चिमका चार जिल्लामा १२ डेंगु बिरामी, एककाे मृत्यु

काठमाडौँ — सुदूरपश्चिम प्रदेशका चार जिल्लामा १२ जनामा डेंगु रोगको संक्रमण देखिएको छ । सबैभन्दा बढी दार्चुलामा पाँच जना बिरामी भेटिएका छन् भने कैलालीमा चार, अछाममा एक, कञ्चनपुरमा एक र डोटीमा एक जनामा यो रोगको संक्रमण देखिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । 

डेंगु रोगबाट डोटीमा एकजनाको मृत्यु भइसकेको छ । जिल्लामै पहिलोपटक उक्त रोगबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’ कोे मृत्यु भएको थियो । लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि उनलाई कैलालीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा उनको भदौ ५ गते मृत्यु भएको थियो ।

डोटीमा डेंगु रोग देखापरेका बिरामीलाई उपचारका लागि काठमाडौँ लगिएको जिल्ला अस्पताल डोटीका डा. गिरिष अवस्थीले बताए। उनले भने 'हामीले जिल्लामा जाँच गर्दा रोग पत्ता लाग्न नसकेर कैलाली पठायौँ, त्यहाँ जाँच गर्दा डेंगु रोग भेटिएपछि थप उपचारका लागि काठमाडाैं लगिएको छ ।'

डोटीलगायत अन्य जिल्लामा डेंगु रोगका बिरामी फेला पर्न थालेपछि अहिले यहाँका स्थानीयवासीमा त्रास फैलिएको छ । डेंगु रोग नियन्त्रणका लागि जिल्लाको दिपायल सिलगढी नगरपालिकाले नगरस्तरीय अभियान नै सञ्चालन गरेको छ । बिहान र साँझको अस्ताउँदो घामको समयमा डेंगु रोग फैलाउने लामखुट्टेले टोक्ने भएकाले त्यतिबेला सावधानी अपनाउन स्वास्थ्यकर्मीले सल्लाह दिएका छन् । पहिलोपटक नेपालको चितवन जिल्लामा भेटिएको उक्त डेंगु रोग अहिले सुदूरपश्चिमका चार जिल्लामा देखापरेकाले सबैले सावधानी अपनाउनुपर्ने सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

डेंगु रोग फैलाउने लामखुट्टेले सफा पानी अर्थात् अक्सिजन भएको पानीमा फूल पार्ने र उक्त फूल करीब छ महिनासम्म जीवित रहने भएकाले घरमा राखिएका खानेपानीका भाँडाकुँडा सधैँ सफा गर्नुपर्ने जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेण्ड डा. भुषण मिश्रले बताए। उनले भने, 'डेंगु रोग फैलाउने लामखुट्टेले १०० एमएल पानीमा फूल पार्ने र फूल जीवित हुने भएकाले घरमा भएका बोतल, बिर्कोलगायतका सर–सामान सधैँ सफा गर्नु जरुरी छ ।'

डोटीको दिपायल सिलगढी नगरपालिका–६ थाप्लामा पहिलोपटक उक्त डेंगु रोगले एक जनाको मृत्यु भएको छ भने सोही ठाउँका अर्का एक बिरामी परेका थिए । उक्त डेंगु रोग नियनत्रणका लागि जिल्लामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत परिचालन गरिएको छ ।



रोग नियत्रणका लागि खटिएको टोलीले नगरपालिकाका विभिन्न वडामा गएर जनचेतनामूलक कार्यक्रम गर्ने तथा डेंगु रोग फैलाउने लामखुट्टे पारेका फूलको पहिचान गरी नष्ट गर्ने कार्य गरिरहेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने, 'जिल्लामा डेंगु रोगबाट एक जनाको मृत्यु भएपछि हामीले नियन्त्रणका लागि सरकारी टोली नै गठन गरेका छौँ, टोलीले रोगका बारेमा जनचेतना फैलाउनेदेखि लामखुट्टेले पारेका फूलको पहिचान गरी नष्ट गर्दै छ, आम नागरिकले पनि यो विषयमा जानकारी लिएर सचेत हुन जरुरी छ ।'



  • प्रकाशित मिति : भदौ २०, २०७६ शुक्रबार १२:५६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया