चितवनमा डेंगुले महामारीकाे रुप लिन सक्ने, परीक्षण शुल्क अधिकतम १५ सय

भरतपुर— भाइरल ज्वरो र डेंगुको उच्च संक्रमणको समयमा चितवनका निजी अस्पतालहरुको डेंगु परीक्षण शुल्कमा एकरुपता ल्याएका छन् । निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारीका अनुसार जुनकुनै निजी अस्पतालले पनि अब डेगुं जाँच (एनएस, आइजीजी र आइजीएम) गर्दा एक हजार ५ सय रुपैयाँ भन्दा बढी नलिने सहमति भएको छ । 

डेंगु जाँचको २ हजार ६ सयसम्म लिएको पत्ता लागेपछि चितवन प्रशासनले लागतमा १० प्रतिशत मात्र बढाएर शुल्क लिनुपर्ने भन्दै गत बिहीबार निजी अस्पतालहरुलाई सचेत गराएको थियो ।

परीक्षण शुल्कमा विविधता देखिँदा स्वास्थ्य सेवाको क्षेत्रमा नकारात्मक सन्देश गएको अधिकारीले बताए । १५ सय भन्दा कम हुनेले पहिलेकै रेटमा लिने र बढी लिने गरेकाले घटाउने सहमति भएको सचिव अधिकारीले बताए ।

सबै भन्दा बढी परीक्षण शुल्क लिएको चितवन मोडल हस्पिटलले पनि १५ सयमा डेंगु परीक्षण थालेको छ । डेंगु किट सरकारले निःशुल्क उपलब्ध गराएमा बाँकी कुनै पनि सेवा शुल्क नलिइ निशुल्क विरामी जाँच गर्न आफूहरु तयार रहेको उनले बताए । 

बजारमा किटको माग अत्याधिक भएपछि सप्लायर्सहरुले मुल्य एकाएक बढाएका छन् । किट अभाव देखाएर एउटै किटमा २ सय ५० रुपैयाँसम्म मूल्य बढाएको भेटिएको छ । पाँच सय रुपैयाँ पर्ने किट अहिले सात सय ५० रुपैयाँभन्दा बढी पर्ने गरेको एक अस्पतालका सञ्चालकले बताए । किट सप्लायर्सहरुसँग वास्तविक मुल्य मागिने र अस्पतालले लिएको मुल्य दुवै जाँच गरी निर्णय अनुसार भए नभएको प्रशासनले दैनिक अनुगमन गर्ने प्रशासनको तयारी रहेको बेला सप्लायर्सले भने प्रशासनलाई चुनौती दिएर मुल्य वृद्धि गरेका छन् । 

ज्वरोका कारण निजी अस्पतालमा मात्रै दैनिक ६ सय विरामी पुग्ने गरेका छन् । जसमध्ये २० प्रतिशतमा डेंगु देखिने गरेको सचिव विक्रम अधिकारीले जानकारी दिए । अस्पतालहरुमा वेड सीमित हुने तर विरामी भने धेरै आउने हुँदा समस्या भएको उनको भनाइ छ । चितवनमा निजी अस्पतालहरुको वेड क्षमता १७ सयको हाराहारीमा छ । अहिले प्राय अस्पतालमा ज्वरो र डेंगु संक्रमित विरामीहरु रहेका छन् । चितवनमा हालसम्म ८ सय भन्दा बढीमा डेंगु भेटिएको छ । 





  • प्रकाशित मिति : भदौ २१, २०७६ शनिबार १८:१८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया