काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनमा नै नेपाल कम्युनिस्ट पार्टी र सरकारमा केही विशेष निर्णयहरु गर्ने तयारी गरिरहेका छन् । उनीनिकट स्रोतले फरक धारलाई बताएअनुसार सरकार र पार्टी दुवैमा उनले गर्ने निर्णयले नेपाली राजनीतिमा नयाँ तरंग ल्याउने छ ।
‘उहाँले सिंगापुरमा यसबारेमा महासचिव विष्णु पौडेल र नेता वामदेव गौतमसँग पनि यस विषयमा छलफल गर्नु भएको हुनसक्ने बुझेको छु,’ प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले भने, ‘ढिलोमा संविधान दिवसको दिनभित्र उहाँले केही निर्णयहरु गर्ने बुझिएको छ ।’
१३ वर्षअघि फेरिएको मिर्गौलाले कम काम गर्न थालेपछि सिंगापुरमा प्लाज्मा फोरेसिसको उपचार गराएर फर्किएका ओलीले के निर्णय गर्दै छन् त ?
यसमा दुई अनुमान गर्न सकिन्छ । पहिलो, उनी सरकारमा मन्त्रीमन्डल फेर्न खोजिरहेका छन् । तर, उनले सबै मन्त्रीहरुसँग वार्षिक कार्य सम्झौता गरेकाले यसको सम्भावना कम हुनसक्ने अनुमान पनि हुनसक्छ ।
‘ठ्याक्कै यही निर्णय भन्ने त खुलेको छैन,’ ओलीनिकट ती व्यक्तिले भने, ‘तर, सरकारमा पनि केही फेरबदल अवश्य हुनसक्छ । कार्यसम्झौता फेरि नयाँ मन्त्रीसँग पनि गर्न सकिन्छ वा पुरानैलाई निरन्तरता दिन पनि सकिन्छ नि ।’
उनले मन्त्रीमन्डल परिवर्तन गर्ने विषयमा नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल भएको हुनसक्ने संकेत गरे । ‘दुवै अध्यक्षले चाहनु भयो भने मन्त्रीमन्डल फेरिने कुरा कुनै नौलो हुँदैन,’ उनले भने, ‘अहिले मन्त्रीहरुको कार्य विवरणमाथि समीक्षा भइरहेको छ ।’
अर्कोतिर, पार्टीमा अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिनसक्ने अनुमान गरिएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिनकै लागि झलनाथ खनालको वरियता बढाइएको, माधव नेपाललाई पछाडि पारिएको, ईश्वर पोखरेललाई स्कुल विभाग दिइएको, वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्तावित गरेको हुनसक्ने अनुमान नेकपा भित्रै नेताहरुले गर्न थालेका छन् ।
‘कार्यकारी अध्यक्षका लागि उहाँले एकपटक प्रचण्डलाई अफर नै पनि गर्नुभएको हो,’ प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार, ‘प्रधानमन्त्री केपी शर्मा ओली सरकारको काम आफूले लिड गर्ने र पार्टीको जिम्मेवारी प्रचण्डलाई दिने तयारीमा पुगिसकेका छन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।