नेपालकी पहिलो महिला एस्काभेटर चालक जसले जीवनमा लाग्न दिनन् ब्याक गियर

नेपाली महिला शृङ्खला

मुना घिमिरे अरु कुनै ठाउँमा जन्मिन्थिन् त उनको सपना फरक हुने थियो । 

तर, उनी जन्मिइन् गोरखाको हर्नी गाविसमा । यो २०३६ सालको कुरा हो । त्यति बेला हर्नीमा मध्य मस्र्याङ्दी जलविद्युत् आयोजनाका लागि काम धमाधम हुँदै थियो । बाटोमा हेभी गाडीहरु गुडिरहेका हुन्थे, सानैदेखि ती गाडी हेरेर टोलाउँथिन् मुना ।

भर्खर स्कुल जान थालेकी थिइन्, मुना । त्यस्तै ६–७ वर्षकी हुँदी हुन् ।

‘त्यही बेला एस्काभेटरहरु देख्न थालेँ,’ उनी अहिले त्यो समय सम्झिन्छिन्, ‘अनि साथीहरुसँग खेल्दा पनि एस्काभेटरहरु चलाएको जस्तो नक्कल गर्न थालियो ।’

सानोमा एस्काभेटरजस्ता निर्माणका लागि प्रयोग हुने हेभी इक्विपमेन्ट गाडीको नक्कल गरे पनि मुनाको परिवार तनहुँ आँबुखैरनीमा बसाइँ सर्यो ।



अनि त्यही ठाउँमा स्कुल जान थालिन् मुना । 

‘तर, पढाइ लामो समयसम्म अगाडि बढ्न पाएन,’ केही अघि काठमाडौंको कलङ्कीस्थित उनकै निवासमा भेटिँदा मुनाले लामो सास फेरिन्, ‘परिवारको आर्थिक अवस्थालाई मलाई पढाउन पुग्ने थिएन ।’



९ कक्षा पढेपछि मुनाले एकदिन सोचिन्– अब के गर्ने ?

फ्याट्ट उनको दिमागमा आइन् उनकी साथी । उनीहरु दुई भेटे र योजना बनाए– अब काम गरौँ, परिवारलाई बोझ नबनौँ ।

त्यसपछि यी दुई हानिए, नेपालगन्ज । नेपालगन्जमा उनकी साथीको चिनजानका एक व्यक्ति रहेछन् । तिनै साथीले मुनालाई आशा देखाएकी थिइन्– ती मान्छेले हामीलाई काम पो लगाइदिन्छन् कि ?

त्यति बेला १५ वर्षकी थिइन् मुना ।

नेपालगन्ज गएपछि ती साथीकी आफन्तलाई भेटे उनीहरुले । ती थिए, लामा स्वदेश निर्माण कन्स्ट्रक्सनका निर्देशक मान बहादुर लामा ।

लामाले सोधे– अब कन्स्ट्रक्सनमा के काम गर्न सक्छौ तिमीहरु, एस्काभेटर चलाउँछौ त ?

लामाको यो प्रश्न खस्नेवित्तिकै मुना फेरि विगतमा फर्किइन् । र, पुगिन् हर्मी जहाँ उनले एस्काभेटरहरु चलेको देखेकी थिइन्, नजिकबाट ती गाडीहरु नियालेकी थिइन् ।

मनमा बाल्यकालका यी सम्झना आएपछि मुनाले लामालाई जवाफ दिइन्, ‘पाए त सिक्थेँ नि ।’

मुनाको यो आत्मविश्वासले लामालाई प्रभावमा पार्यो । उनले भने, ‘सिक्ने नै हो भने, काम नभएको बेला साँझ विहान सिक्दा हुन्छ, एकैपटक जानिँदैन, विस्तारै सिक्दा हुन्छ ।’

मुनाको आत्मविश्वास झन् बढ्यो । 

केही महिना उनले एस्काभेटरको स्टेयरिङ पनि छुन पाइनन् । स्टेयरिङ छुन नपाए पनि उनी प्रत्येक दिन एस्काभेटर र अन्य हेभी इक्विपमेन्टकै वरपर रहिन् ।

स्वदेश निर्माण कम्पनीले आफ्ना कर्मचारी राख्न निर्माणस्थल नजिकै एउटा क्याम्प बनाएको थियो । त्यही क्याम्पमा बस्थिन् मुना पनि । झन्डै ६ महिना भइसकेको थियो । यतिबेलासम्म मुनाले एस्काभेटरको लिफ्टरलाई कसरी चलाउने भन्ने थोरैतिनो सिकिसकेकी थिइन् ।

एकदिन लामाले सोधे– तिमी ट्रिपरमा सामान लोड गर्न सक्छौ त ?

त्यो दिन एस्काभेटरको अपरेटर बिदामा थिए । खोलामा बालुवा ट्रिपरमा लोड गर्नु पर्ने थियो । एस्काभेटरको लिफ्टरलाई चलाउन मात्र जाने पुग्थ्यो । मुनाले मौकाको फाइदा उठाइन्, लामालाई जवाफ दिइन्, ‘सक्छु सर ।’

‘पहिलो पटक मैले एस्काभेटरले गर्ने काम गरेँ,’ मुनाले भनिन्, ‘हिम्मत गरेर लोड गरेँ, राम्रो भयो ।’

काम गर्ने आँटले मुनालाई अझ आत्मविश्वासी बनाएको थियो । 

स्वदेश निर्माण कम्पनीमा काम गर्दा गर्दै एक दिन उनको विक्रम पाण्डेसँग भेट भयो । कालिका कन्स्ट्रक्सन चलाइरहेका विक्रम पाण्डेले मुनाको लगनशीलता देखेर प्रस्ताव गरे– हाम्रो कम्पनीमा आउनुहुन्छ त ? 

आँबु खैरेनीबाट नेपालगन्ज पुगेकी मुना अब चितवन फर्किइन्, कालिका कन्स्ट्रक्सनमा काम गर्न ।

कालिकाले नेपालभरका विभिन्न ठाउँमा काम गर्दै थियो, मुना त्यही सिलसिलामा इलाम, पाँचथर, ताप्लेजुङलगायतका जिल्लामा पुगिन् । 

‘काम राम्रो गरिरहेकी थिएँ,’ मुनाले भनिन्, ‘तर, मलाई काठमाडौं आउन मन थियो । २०५७ सालमा काठमाडौं आएँ ।’

अनि कामको खोजीमा भौतारिँन थालिन् मुना । जुन अपेक्षा र चाहना लिएर उनी काठमाडौं आएकी थिइन्, त्यो पूरा हुन पाएन ।

‘मलाई कसैले पत्याएनन्, काम पाइनँ,’ मुनले दुःखका ती दिन सम्झिइन् । तर, दुःखकै दिन सम्झिँदा पनि उनको अनुहारमा चमक गुमेको थिएन । ‘मैले त अब संघर्षका दिन सुरु भए भन्ने सोचेँ, महिला भएकैले ती काममा मलाई पत्याएका थिएनन्,’ मुनाले लामो सास फेरिन् ।

तर, काम गर्न सकिन्छ भन्ने भावनाबाट पछाडि हटिनन् मुना । उनले आफ्नो आत्मविश्वासमा ब्याग गियर लगाउने सोचिनन् । अनि पुगिन्, थानकोटमा तेज कन्स्ट्रक्सनको ग्यारेज रहेको ठाउँमा । थानकोटबाट उनलाई कन्स्ट्रक्सनको अफिस जावालाखेल पठाइयो । त्यहाँ पनि उनले काम पाउने छाँटकाँट देखिएन ।

अर्को एक पटक ट्राइ गर्छु भन्ने सोचका साथ मुना फेरि पुगिन्, थानकोट । संयोग, त्यो दिन कम्पनीका निर्देशक बद्रीकुमार श्रेष्ठ थानकोटमै थिए ।

उनले अनुनय गरिन्, गुनासो पोखिन् । 

बद्रीले उनको ट्रायल लिने भए । ट्रायलमा पास भइन् मुना । अनि तेज कन्स्ट्रक्सनमा जागिर पाइन् मुनाले । काठमाडौंमा एस्काभेटर चलाउने पहिलो महिला बनिन् उनी । तेजले रसुवामा चिलिमे हाइड्रोपावर, सिन्धुली बर्दिबास सडकखण्डलगायतको ठेक्का पाएको थियो । त्यहाँ काम गर्न थालिन् उनले । 

तेजकै काम गर्न स्याङ्जा पुगिन् मुना । 

अनि जीवनको स्टेयरिङ ३६० डिग्रीमा घुम्यो मुनाको ।

त्यहाँ उनको भेट भयो, शर्मा एन्ड कम्पनीमा म्यानेजरका रुपमा काम गरिरहेका गोरखाका सुरेश श्रेष्ठसँग । उनीहरुको यो चिनाजानी प्रेममा परिणत भयो । भेट भएको एक वर्षपछि विवाह गरे यी दुईले । अनि मुनाले आफ्नो थरमा थपिन्, श्रेष्ठ । 

सुरेशलाई पनि आफ्नै काममा पारङ्गत बनाउने योजना बनाइन् मुनाले । केही समयमा नै यो जोडीले एउटै काम गर्यो– हेभी इक्विपमेन्टको सन्चालन । 

एस्काभेटर चलाए पनि अहिलेसम्म मुनाले लाइसेन्स लिएकी थिइनन् । 

‘लाइसेन्स त लिनुपर्छ भन्ने भयो,’ उनले भनिन्, ‘अनि काठमाडौंमा प्रक्रिया सुरु गरेँ ।’

लाइसेन्स लिन जाँदा एक प्रहरी जवानले मुनालाई जिस्काए– मोटरसाइकलमा ब्याक गियरमा चलाउन आउँछ ?

मुर्छा परेर हाँस्दै मुनाले भनिन्– भोलि मोटसाइकलमा ब्याक गियर आयो भने चलाऔँला ।

त्यति बेला उनले श्रीमानसँग सल्लाह गरिन्– सानो गाडीको लाइसेन्स निकाल्न केही प्राक्टिस गरौँ । सानो गाडीको लाइसेन्स लिएको दुई वर्षपछि मात्र ठूला सवारीको लाइसेन्स दिने प्रावधान थियो । 

उनीहरुले २०६२ सालमा साना गाडीको लाइसेन्स निकाले, त्यसको दुई वर्षपछि हेभी इक्विपमेन्टको लाइसेन्स पनि निकाले ।

लाइसेन्स भएपछि मुनालाई काम गर्ने जोश अझ बढ्यो । 

संयोग, तेज कन्स्ट्रक्सनका बद्री उनलाई खोज्दै आए । अनि उनी र श्रीमान सुरेश भारतको गुजरातमा काम गर्न गए ।

त्यहाँ काम सकेपछि उनीहरु फर्किए नेपाल ।

अब मुनालाई प्राइभेट होइन, सरकारी जागिर गर्न मन भयो । तर, सरकारी काम गर्न उनले एसएलसीसम्म अध्ययन गर्न पर्ने बाध्यता आइलाग्यो । 

तर, हारिनन् मुना । उनले कलंकीमा रहेको जनसेवा वैकल्पिक उच्च माविमा पढ्न थालिन् । बिहान पाँच बजे स्कुल, साँझ ट्युसन पढेर २०६९ सालमा उनले एसएलसी पास गरिन् झन्डै ५७ प्रतिशत अंक ल्याएर ।

अनि २०७२ सालमा उनले लोकसेवाका लागि आवेदन दिइन् । पोखराबाट परीक्षा दिएकी थिइन् उनले । यता करारमा काम पनि गरिरहेकी थिइन् । आठ महिनापछि रिजल्ट आउँदा उनको नाम निस्कियो । त्यही वर्ष ४ फागुनबाट उनी सरकारी कर्मचारी भइन्, लोकसेवाबाट पास ।

अर्को वर्ष उनले फेरि पद बढोस् भन्ने हेतुले अर्को परीक्षा दिइन् । त्यसमा पनि उनी पास भइन् । 

त्यसयता उनी सडक विभागअन्र्तगत हेभी इक्विपमेन्ट डिभिजन कार्यालयमा काम गरिरहेकी छिन् । यो फरक कुरा हो, उनी कामका लागि कहिले रसुवा त कहिले काभ्रे, कहिले सिन्धुपाल्चोक त कहिले नुवाकोट पुग्छिन् । 

पहिलो नेपाली महिला हेभी इक्विपमेन्ट चालक मुनालाई आफ्नो काम गाह्रो छ भन्ने त लाग्छ । तर, ख्याल गर्यो र लगनशील भएर काम गर्ने हो भने जस्तै काम पनि गर्न सकिन्छ भन्ने आत्मविश्वास उनीमा छ ।

मुनाले संघर्ष गरेर आज जुन सफलता पाएकी छिन्, त्यसले सबैलाई आकर्षित नगर्न सक्छ । तर, मुना खुसी छिन्, उनको जीवनले उनकी छोरीलाई आफ्नो सपनामा दृढ बन्न सिकाएको छ ।

‘छोरीले बुझेकी छे, आँट्यो भने सबै क्षेत्रमा सफलता पाउन सकिन्छ,’ मुनाले भनिन् ।

  • प्रकाशित मिति : भदौ २१, २०७६ शनिबार २३:४९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया