बुस सिनियरका तीन काम, जसलाई विश्वले कहिल्यै भुल्नेछैन

अमेरिकाका ४१औँ राष्ट्रपति जर्ज एच डब्लु बुसको पार्किन्सनका कारण केही समयअघि निधन भयाे । 

४३औँ राष्ट्रपति जर्ज डब्लु बुसका पिता जर्ज एच डब्लु बुस ‘बुस सिनियर’का नामले विश्व राजनीतिमा चर्चित छन् । उनले आफ्नो कार्यकालमा केही यस्ता निर्णय लिए, जसले विश्वलाई नै बदलिदियो । उनको कार्यकालमा (१९८९ देखि १९९३ सम्म) यस्ता कैयौँ घटना भए, जसलाई विश्वले कहिल्यै बिर्सन सक्दैन ।

१९९० को दशकमा भएको खाडी युद्ध, सोभियत संघको विघटनजस्ता घटना विश्वमाझ आजसम्म पनि ताजै छन् । खाडी युद्ध बुसको सबभन्दा ठूलो परीक्षा थियो, जसमा उनले आफ्नो तेज दिमागको परिचय दिए ।

सोभियत संघको विघटन

१९९१ को डिसेम्बरमा सोभियत संघको विघटन भयो । जनवरी १९८९ मा जब बुस अमेरिकाका राष्ट्रपति भए, सोभियत संघसँग अमेरिकाको सम्बन्ध खराब हुन थाल्यो । उपराष्ट्रपछि छँदै उनले सन् १९८८ मा राष्ट्रपति रोनाल्ड रेगन र सोभियत संघका प्रधानमन्त्री मिखाइल गोर्बाचोभबीच भएको सम्मेलनमा भाग लिएका थिए ।

बुसले सधैँ दुई देशबीच सम्बन्ध नरम रहेको बताउँदै आएका थिए । साथसाथै, उनले भनेका थिए कि सम्बन्धमा नयाँ हावा महसुस हुन सक्छ । दुनियाँका दुई महान देश स्वतन्त्रताको ढोकाबाट लोकतन्त्रतर्फ बढिरहेको उनी बताउँथे ।



डिसेम्बर १९८९ मा बुस र गोर्बाचोभबीच माल्टा सम्मेलन भयो । यहाँ दुवै नेताले सम्बन्ध मजबुद बनाउने कुरामा जोड दिए । दुवैले एक सम्झैतामा हस्ताक्षर गरे, जसमार्फत परमाणु हतियार कम गर्नेजस्ता थुप्रै विन्दुमा सहमति बन्यो । गोर्बाचोभका विरोधीहरु उनको सत्ता पल्टाउने तयारी गरिरहेका थिए, तर यो सफल भएन ।

यहीँबाट सोभियत संघको पतनको बाटो खुल्यो । २५ डिसेम्बर १९९१ मा युक्रेन, रुस र बेलारुसले अलग–अलग देशका रुपमा रहने घोषणा गरे ।



विश्वराजनीतिका विश्लेषकहरुका अनुसार यसमा नेटो संगठनको नेतृत्व गरिरहेको अमेरिका र विशेष गरी राष्ट्रपति बुसको मुख्य भूमिका रह्यो । सतहमा बुसले जे देखाए, भित्र उनको दिमागले बेग्लै चाल चल्यो । 

कुवेतबाट इराक बाहिरिनु

१९९० मा इराकी शासक सद्दाम हुसेनका १० लाख सैनिक कुवेत पसे र साउदी अरबतर्फ बढ्न थाले । यदि इराक साउदी अरबसम्म पुग्थ्यो त विश्वको ४० प्रतिशत तेल आफ्नो नियन्त्रणमा लिन्थ्यो ।

त्यतिखेर जर्ज बुसले इराकलाई कुवेतबाट धपाउने वचन दिए । यो अतिक्रमण ज्यादा दिन टिक्दैन भन्दै कुवेत र साउदीलाई ढाडस दिए । त्यसपछि उनले ३२ देशको गठबन्धन सेना तयार गरे, ता कि इराकी सेनालाई कुवेतबाट खेद्न सकियोस् ।

४ लाख २५ हजार अमेरिकी सैनिक कुवेत पसे, जसलाई १ लाख १८ हजार गठबन्धन सैनिकले साथ दिए ।

बुसले यसलाई ‘अपरेसन डेजर्ट स्टर्म’ नाम दिएका थिए । यस अपरेसनले सद्दामको सेनालाई धुलो चटायो, तर उनलाई इराकको सत्ताबाट हटाउन भने सकेन ।

जमिन र आकाशमा इराकी सैनिकमाथि दिनरात हमला भयो । तथापि, सद्दामको पतन भने १२ वर्षपछि बुस सिनियरका छोरा जर्ज डब्लु बुसले गराए । 

म्याड्रिड कन्फरेन्स, इजरायल र प्यालेस्टाइन

खाडी युद्धमा मिलेको सफलतापछि बुसले १९९१ मा म्याड्रिड कन्फरेन्सको आयोजना गरे । यसको उद्देश्य अरब देश र इजरायलबीच शान्तिप्रक्रिया सुरु गर्नु थियो । यो कन्फरेन्स सफल हुन सकेन, तर यसको दुई वर्षपछि ओस्लो एकर्डको बाटो खुलेको थियो ।

ओस्लो एकर्ड १३ सेप्टेम्बर १९९२ मा ह्वाइट हाउसमा इजरायलका तत्कालीन प्रधानमन्त्री इथजाहक रबिन र प्यालेस्टाइनका नेगोसिएटर मोहम्मद अब्बासबीच भएको सम्झौता हो । यसले स्वशासनका केही सिद्धान्त तय गर्यो, जसलाई दुवै देशले पालना गर्नुपर्ने थियो । 

सन् १९८९ को अन्त्यमा बुसले म्यानुअल नोरिएगालाई सत्ताच्युत गर्न अमेरिकी सेना पनामा पठाए ।

नोरिएगा पनामाका तानासाह थिए । अमेरिकाले उनीमाथि ड्रग स्मगलिङको आरोप लगाएको थियो । साथै, अमेरिकी इन्टेलिजेन्स एजेन्सीहरुले नोरिएगाले लोकतन्त्रलाई दबाएको र पनामामा रहेका ३५ हजार अमेरिकीका लागि खतरा पैदा गरेको आरोप लगाएका थिए । 
 

  • प्रकाशित मिति : भदौ २२, २०७६ आइतबार १९:२७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया