अलिबाबा अध्यक्ष ज्याक माले ५५ वर्षमै अवकाश लिए, अबको समय अध्यापन र परोपकारमा खर्चने

बेइजिङ– चीनका नम्बर एक धनाढ्य, अलिबाबा ग्रुपका अध्यक्ष ज्याक माले ५५ वर्षको उमेरमै अवकाश लिएका छन् । आज कम्पनीका ४७ वर्षे सिइओ डेनियल झाङलाई नेतृत्व सुम्पिँदै ज्याक माले अध्यक्षबाट अवकाश लिएका हुन् । अबको एक वर्ष उनी सल्लाहकारका रुपमा कम्पनीको बोर्डमा रहनेछन् । 

ज्याक माले आफ्नो अवकाशको घोषणा एक वर्षअघि नै गरेका थिए । पछिल्लो एक वर्ष उनले डेनियललाई कामकाज सिकाएर नेतृत्वका लागि तयार पार्नमा खर्चिए । 

झन्डै ४५ खर्ब रुपैयाँका मालिक ज्याक मा अध्यापनमा विशेष रुचि राख्छन् । त्यसैले पनि उनले अवकाशका लागि ‘टिचर्स डे’लाई रोजे । चीनमा १० सेप्टेम्बरका दिन टिचर्स डे मनाइन्छ । उसो त, उनको जन्मदिन पनि यसै दिन (आजै) हो । 

छोटो समयमा उद्यमबाट अपार सफलता हासिल गर्दै विश्वभरका उद्यमीका प्रेरणा–स्रोत बनेका ज्याक मा अलिबाबा ग्रुप सुरु गर्नुअघि अंग्रेजी शिक्षक थिए । अवकाशपछि अब उनी अध्यापनमै फर्कनेछन् । अबको समय अध्यापन र परोपकारमा खर्चने उनको योजना छ । 

ज्याक मा चीनको मौजुदा शिक्षा प्रणालीमा सुधार ल्याउन चाहन्छन् । शिक्षालाई अझ वैज्ञानिक, व्यावसायिक र जीवनोपयोगी बनाउनुपर्नेमा उनको जोड छ । शिक्षाक्षेत्रका लागि उनले झन्डै पाँच अर्ब रुपैयाँ दान गर्ने घोषणा पनि गरेका छन् । 

बिल गेट्सलाई आफ्नो प्रेरणा–स्रोत मान्ने ज्याक मा विश्वका २०औँ धनी व्यक्ति हुन् । ‘म कहिल्यै उनीजति धनी त बन्न सक्दिनँ, तर उनीभन्दा पहिले रिटायर त हुन सक्छु,’ गत वर्ष एक कार्यक्रममा ज्याक माले भनेका थिए । बिल गेट्सले सन् २०१४ मा ५८ वर्षको उमेरमा माइक्रोसफ्टको अध्यक्षबाट अवकाश लिएका थिए । 



अलिबाबा चीनको सर्वाधिक मुनाफा गर्ने कम्पनीमा पर्छ । गएको अप्रिल–जुन त्रिमाषमा मात्र अलिबाबाको मुनामा १४५ प्रतिशतले बढेर ३.१ अर्ब डलर पुगेको छ । 




  • प्रकाशित मिति : भदौ २४, २०७६ मंगलबार १४:५१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया