अध्यक्ष तिमिल्सिना र आयरल्याणका सभामुख सेनबीच भेटवार्ता

काठमाडौं– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका सभामुख सेन ओ फेरगेलबीच शिष्टचार भेटवार्ता भएको छ।

नेपाल भ्रमणमा रहेको सभामुख सेन नेतृत्वको प्रतिनिधमण्डले बुधबार अध्यक्ष तिमिल्सिनासँग सिंहदरबारस्थित कार्यकक्षमा भेटवार्ता गरेको हो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र आयरल्याण्डको द्वीपक्षीय सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको बताए । दुई देशको सम्बन्ध, सहकार्य र अनुभव आदान-प्रदानका लागि दुई देशबीच उच्चस्तरीय भ्रमण जरुरी रहेको धारणा राखे ।

अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संरचनाबारे जानकारी गराउँदै संघीय संसदको गठन तथा कानून निर्माणबारे जानकारी गराए । 'संघीय संसदअन्तर्गत ५९ सदस्य रहेको राष्ट्रियसभामा सात प्रदेशबाट समान प्रतिनिधित्व रहेको छ,' उनले भने, 'राष्ट्रियसभामा ४० प्रतिशत महिला, प्रत्येक प्रदेशबाट एकजना दलित, एकजना अपाङ्ग वा अल्पसंख्यक रहने व्यवस्था छ र राष्ट्रियसभा अत्यन्त समावेशी छ।'

सो अवसरमा तिमिल्सिनाले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले उल्लेख्य संख्यामा आयरल्याण्डका पर्यटकलाई नेपाल भ्रमण गर्न सभामुखमार्फत आग्रह पनि गरे । 'तथ्यांकअनुसार आयरल्याण्डबाट वार्षिक करिब तीनहजार पर्यटक नेपाल आउने गरेका छन्,' उनले भने,  'अब त्यो संख्या तीसहजार पुग्ने विश्वास लिएको छु ।'

त्यसैगरी आयरल्याण्डका सभामुख सेन ओ फेरगेलले नेपालको संसदको निमन्त्रणामा न्यानो आतिथ्यताका साथ भ्रमण गर्न पाउँदा खुसी व्यक्त गरे ।



उनले आयरल्याण्ड सानो मुलुक भएपनि युरोपियन युनियनमा सक्रिय रहेकाले नेपाली जहाजलाई लागेको प्रतिबन्ध हटाउन पहल गर्ने आश्वासन पनि दिए ।

सभामुख सेन नेतृत्वको टोलीमा सांसदहरु मौरिन सुल्लिभान,  क्याथरिन नूनलगायतको सहभागिता रहेको थियो ।



  • प्रकाशित मिति : भदौ २६, २०७६ बिहीबार १०:४३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया