फुड पाेइजनिङबाट बच्न

एजेन्सी— काठमाडौंमा भदौरे झरी लागेको छ । देशका अन्य ठाउँहरुमा वर्षा भइरहेको छ । यस्तो समयमा अरु विभिन्न समस्याका साथसाथै फुड पोइजनिङ पनि हुनसक्छ । प्रदूषित खाना र पानीबाट ब्याक्टेरिया,परजीवी, भाइरस तथा विषादी शरीरमा प्रवेश गर्ने भएकाले यस्तो समस्या झन् बढी देखिन्छ । फुड पोइजनिङ कुन जीवाणुका कारणले हुन्छ भन्ने यकिन छैन । तर, अस्वस्थ खानपानका कारण नै यो समस्या देखिन्छ । 

तर, यसबाट बच्न नसकिने भन्ने होइन । यसका लागि केही सर्तहरु चाहिँ मान्नुपर्छ । फ्रिजमा राखिएको खानेकुरा पनि स्वस्थ नहुन सक्छ । लामो समयसम्म राख्दा बिग्रने भएकाले खानुभन्दा अगाडि गन्हाएरनगन्हाएको सुनिश्चित गरेर मात्र खानुपर्छ । पकाएको खानालाई दुई घन्टाभन्दा बढी समय राख्नुहुँदैन । यसलाई उचित समयमै खानुपर्छ र उपयुक्त तापक्रममा सुरक्षित राख्नुपर्छ । खानेकुरा राम्ररी पकाएर मात्र खानुपर्छ । काँचै सेवन गर्ने खाद्यान्न तथा फलफूल पनि राम्ररी पखालेर मात्र प्रयोगमा ल्याउनुपर्छ । 

पकाउने स्थान, भण्डारण गरिने स्थान र पकाउने व्यक्ति सफा हुन जरुरी छ । खाना खानुभन्दा र पकाउनुभन्दा अघि राम्रोसँग हात धुनुपर्छ । बाहिर खुला राखिएका खानेकुरा खाँदा ब्याक्टेरियल संक्रमण हुने सम्भावना उच्च रहन्छ । बाहिरबाट आएपछि, जनावरलाई छोएपछि, कुनै काम गरेपश्चात् राम्ररी हात धुनुपर्छ । भान्साकोठामा प्रयोग गरिने भाँडाकुँडा, तौलिया, भाँडा सफा गर्ने कपडा आदि राम्ररी सफा गरेर मात्र प्रयोगमा ल्याउनुपर्छ ।

राम्ररी नपाकेको अण्डा, सागपात, माछा र मासु खानुहुँदैन । बाटोमा बेच्न राखिएका खानेकुरा सकेसम्म खानुहुँदैन । बाहिरको खानेकुरा पनि सफा भए÷नभएको यकिन गरेर मात्र खानुपर्छ । गर्भवती महिला, बालबालिका र वृद्धवृद्धाले खानपानमा विशेष ध्यान दिनुपर्छ । पानीको शुद्धीकरण गरेर मात्रै पिउनुपर्छ । प्रशस्त मात्रामा झोलिलो तथा नुनिलो खानेकुरा, जस्तैः जीवनजल खानुपर्छ ।





  • प्रकाशित मिति : भदौ २६, २०७६ बिहीबार १६:४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया